अत्तरिया – फागुन १३ गते चौलानी नदी किनारमा मृत फेला परेका जिवन सिह बुडालको शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ । आफन्त र साथिहरु संग पिकनिक मनाउन गएका जिवनको मृत्य भएको ७ दिन वितिसक्दा पनि आफन्तले शव बुझ्न मानेका छैनन् ।
राष्ट्रिय अनुसन्धान विभागका कार्यरत बैतडीको दशरथचन्द नगरपालिका – १० का जिवनका आफन्तले हत्या गरिएको भन्दै शव बुझ्न नमानेका हुन् ।

राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत जिवन विदामा घर आएका बेला पिकनिक मनाउन गएका थिए । उनी दशरथ चन्द नगरपालिका – ६ मा बस्ने भिनाजु नारायण सिह ऐडीको आग्रहमा पिकनिक मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदी किनारामा गएका थिए ।
उनीसंगै अन्य १२ जना पनि पिकनिकमा सहभागि थिए । फागुन १३ गते बिहान पिकनिक जाने भन्दै बिहान ५ बजे नै घरबाट निष्किएका जिवनका आफन्तले भने साँझ ७ बजे मृत्यु भएको खबर पाएका थिए ।
पिकनिकमा सहभागिका अनुसार भने बुडाल दिउँसो २ बजे देखि नै सम्पर्कमा थिएनन् । पिकनिकमा संगै रहेका मृतकका भिनाजु ऐडीका अनुसार बुडाल दिउँसो खानपिन गरिरहेको बेला पाँच मिनेटमा आउन्छु भनेर हिडेका थिए ।
‘संगै हामी पिकनिक मनाउन गएका थियौ । सबै नदी किनारामा बसेका थियौ । केहीले खानपीन पनि गर्यौै । जिवन एक छिनमा आउन्छु भनेर माथि तिर गयो ।

२ बजेको समयमा ५ मिनेटमा आउन्छु भनेर गएको थियो । कपडा खोलेको थियो । करिब १५ मिनेट सम्म पनि फर्केर नआएपछि हामीले खोजी गर्न थाल्यौ’ ऐडीले भने ‘कता गयो भनेर चारैतिर हेरेका थियौ । त्यसपछि खाना खाने ठाउँमा पनि आयौ । त्यहा पनि नभेटिएपछि हामीले सेरामा रहेको प्रहरी चौकीमा साँझ ४ बजे तिर निवेदन दिएका थियौ ।’ उनले प्रहरी सहित खोजि गर्दा पिकनिक गरेको ठाउँभन्दा तल नदी किनारामा शव फेला परेको बताए ।
मृतक जिवनको परिवारमा ८ बर्षकी छोरी, ६ बर्षको छोरा, श्रीमती र आमा रहेका छन् । जिवन बुवाको उनी डेढ बर्षको हुँदा नै हत्या गरिएको थियो । जिवन परिवारका एक्ला छोरा हुन । जिवनको मृत्युपछि परिवार अहिले शोकमा डुबेको छ ।
मृतककी आमा जानकी बुडालले छोराको हत्या भएको भन्दै दोषिलाई कारवाही नहुँदा सम्म शव नबुझ्ने बताएकी छिन् । उनले छोरालाई हत्या गर्ने उद्देश्यले नै फकाएर पिकनिकमा लगेको बताएकी छिन् ।
मृतककी श्रीमती अनिशा कुलुमले फागुन १५ गते उनीसंगै पिकनिकमा गएका १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा अन्तर्गत किटानी जाहेरी दिएकी छिन् ।
किटानी जाहेरी पछि अनुसन्धानका लागि जिवन संगै पिकनिक मनाउन गएका १२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले अदालतबाट ७ दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
जिवनका आफन्त प्रकाश वोहराले घटना भएको दिनका गतिबिधिले पनि हत्या भएको आशंका गर्ने ठाउँ रहेको बताएका छन् । उनले दिउँसो घटना हुँदा पनि जिवनको फोन अरुको नियन्त्रणमा हुनु र फोन गर्दा जिवन हराएको बारेमा जानकारी नदिइनुले शंका बढेको बताए ।
मृतकका भिनाजु नाता पर्ने बोहराले राष्ट्रिय अनुसन्धान विभाग अन्तरगत बैतडीमा रहेर काम गर्ने क्रममा जिवन संगै विवाद भएका व्यक्तिहरु पनि पिकनिकमा भएको बताए । उनले दोषिलाई कडा कारवाही नगर्दा सम्म आफूहरुले शव नउठाउने बताए ।


















