अत्तरिया – कैलालीको गोदावरी धामलाई समेटेर बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति बनाइने भएको छ । गोदावरी नगरपालिकाले शुक्रबार सम्पन्न नवौं नगरसभाबाट ऐन पारित गरेर बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति बनाउन लागेको हो । जसका लागि नगरपालिकाले ‘बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति स्थापना र व्यवस्था गर्न बनेको ऐन २०७९’ नगरसभाबाट पारित गरको छ । नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले ऐन पारित भएसंगै अब समग्र गोदावरी धामलाई समेटेर समिति बनाइने बताए । समितिको मुल संरक्षकमा गोदावरी नगरपालिकाका नगरप्रमुख रहने प्रावधान ऐनमा राखिएको छ ।
‘गोदावरीलाई सुदूरपश्चिमकै धार्मीक पर्यटकीय क्षेत्रका रुपमा चिनाउने उद्देश्यका साथ हामीले यसलाई व्यवस्थित बनाउन लागेका छौ । यस धाम अन्तरगत भएका वनदेवी मन्दिर, हनुमान मन्दिर, गोदावरी वारी पारी धाम, तिर्थस्थल, आर्यघाट, सबैलाई समेटेर बृहत गोदावरी विकास धामका रुपमा यसलाइ अगाडी बढाउँदै छौ’ नगरप्रमुख बिरेन्द्र भट्टले भने ‘यसका लागि हामीले ऐन नै बनाएर गोदावरी नगरपालिकाको नगरप्रमुख मुल संरक्षक रहने गरी समिति बनाउने तयारी गरेका छौ ।’

समग्र गोदावरी धाम समेटेर समित बनाइएपछि हाल गोदावरीमा मन्दिरपिच्छे बनेका समितिलाई मुल समितिको उपसमितिका रुपमा राखिने छ । नगरप्रमुख भट्टले समग्र गोदावरी धामको विकासका लागि गोदावरी धाम समेटेर समिति आवश्यक रहेको बताए । उनले नगरको बजेटले मात्रै गोदावरी धामको विकास संम्भव नभएपनि यसको डिपिआर बनाएर बिभिन्न निकायमा बजेट माग गर्नका लागि समिति आवश्यक रहेको बताए ।

‘ऐन नगरसभाबाट पारीत भइसकेकाले अब हामीले लगतै डिपिआर बनाउने तयारी गरेका छौ’ उनले भने ‘जुन डिपिआरको सहयोगमा हामीले संघ, प्रदेशमा बजेट माग्न सजिलो हुन्छ । बिना डिपिआर बजेट माग गर्न पनि सकिदैन ।’ उनले डिपिआरका लागि बजेटको जोहो गरिसकिएको बताए । उनले देशभरीका गोदावरी धाम जस्तै अन्य क्षेत्रको अध्ययन गरेर ऐन निर्र्माण गरिएको बताए । ‘हामीले पशुपति धाम, जनकपुर धाम लगायतका क्षेत्रलाई कसरी संचालन गरिएको छ भनेर अध्ययन गरेका थियौ । सोही अनुसार अहिले ऐन बनाउन सफल भएका छौ’ उनले भने ‘ऐन अनुसार नगरप्रमुखले तोकेको सामाजिक व्यक्तित्वलाई गोदावरी धाम विकास समितिको अध्यक्ष बनाइने छ ।’
उनले समितिमा यस क्षेत्रबाट निर्वाचित प्रदेश र प्रतिनिधि सभा सदस्य पदेन सदस्य रहने बताए । उक्त समितिमा उद्योग बाणिज्य संघको प्रतिनिधि, गोदावरी धाममा रहेका बाबाहरुलाई पनि समेटिने ऐनमा उल्लेख छ । हाल गोदावरीमा मन्दिर पिच्छे समिति हुँदा आफूखुसि काम गरिर्दै आएको छ । उक्त समितिहरुले आफूखुसी बिभिन्न संरचना बनाउने गरेका कारण गोदावरी धाम अव्यवस्थित बन्दै गएको छ । नगरप्रमुख भट्टले हाललाई अनुमति बिना संरचना बनाउन रोक लगाइएको बताए ।
शुक्रबार सम्पन्न नगरसभाले बृहत्तर गोदावरीधाम क्षेत्र विकास समिति स्थापना र व्यवस्था गर्न बनेको ऐन संगै अन्य ३ वटा ऐन पनि पारित गरेको छ । नगरसभाले तीन पाङ्ग्रे सवारी साधन व्यवस्थापन ऐन २०७९, फोहरमैला व्यवस्थापन ऐन २०७९ र गोदावरी नगरपालिकाको औद्योगिक व्यवसाय ऐन २०७९ पनि पारीत गरेको नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताए ।
माघ १८ गते सुरु भएको नगरसभामा पेश गरिएका ऐन अध्ययनको लागि नगरसभा पार्षदहरुलाई २ दिनको समय दिइएको थियो । प्रवक्ता भट्टले नगरसभाबाट नगर शिक्षक ऐन र आर्थिक ऐनमा पनि संसोधन गरिएको बताए ।


















