अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा जग्गा नापीको काम जारी रहेको छ । राष्ट्रिय भूमि आयोगले स्थानीय तह संग समन्वय गरेर हाल नगरपालिकाका ५ वडाहरुका नापीको काम गरिरहेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने गरी स्थानीय तह मार्फत जग्गा नापीको काम जारी रहेको बेला गोदावरी नगरपालिका – ४ गोदावरीमा भने वन अतिक्रमण बढेको छ । भोकचलनमा रहेको जग्गाको क्षेत्रफल बढी देखाउन सो क्षेत्रमा वन अतिक्रमण बढेको हो ।
यसअघि नगरपालिकाको टोलीबाटै अव्यवस्थित बसोबासीको नाममा लगत संकलन फारम भरेकाहरुनै हाल यस्तो काममा लागेका छन । वन किनारमा वसोबास गरिरहेकाहरुले वन क्षेत्र भित्र फडानी गरेर भोकचलन बढाएर बढी जग्गा पाउने दाउँमा लागेका छन ।

‘गत बर्ष फारम भरेको थिए । अब जग्गा नापीको टोली आउने भन्ने सुनेको छु’ एक स्थानीयले भने ‘वन क्षेत्रमा केही जग्गा बढाएको छु । नापी गरिदियो भने राम्रै भैहाल्छ ।’ उनी नापी टोली आउनु भन्दा अगाडी नै पुरानो भोकचलन गरेको क्षेत्रलाई बढाउने प्रयासमा लागेका छन् ।

राष्ट्रिय भूमि आयोगको मापदण्डमा १० बर्ष देखि भोकचलन (आबाद कमोत) गररे अव्यवस्थित रुपमा बसेको हुनुपर्ने उल्लेख छ । तर, अहिले गोदावरी वन किनारामा बसेका धेरैजसोले धमाधम वन फडानी गरीर आफ्नो क्षेत्र विस्तार गरिरहेका छन । अव्यवस्थित बसोबासिको फारम भराएकाहरुले आफ्नो भोकचलनमा बढी भन्दा बढी जग्गा देखाउन थालेका हुन् ।
अव्यवस्थित बसोबासीको जग्गा नापीका लागि १० बर्ष अघिबाट निज वा निजको परिवारले आवाद कमोत गरी आएको हो भनी स्थानीय कार्यपालिकाले गरेको निर्णय र सिफारिस आवश्यक पर्ने भएपनि पुरानो भोकचलन देखाउन भू–माफिया सक्रिय भएका छन् ।
नापी सर्वेक्षक विरेन्द्र बहादुर सिहले जग्गा नाप्ने क्रममा स्थानीय सरकारले १० बर्ष देखि भोकचलन गरेको भनेर सिफारिस दिएको आधारमा गरिने बताए । उनले पुरानो नक्सामा बाटो, सडक, खोला क्षेत्र देखिएमा भने नापी नगरिने बताए । ‘मुख्य जिम्मेवारी स्थानीय जनप्रतिनिधिको हुन्छ’ उनले भने ‘स्थानीय जनप्रतिनिधिले १० बर्षदेखि भोकचलन गरेको भन्ने सिफारिस गरिदिएमा हामीले नाप्नुपर्ने नै हुन्छ । यो अधिकार जनप्रतिनिधिलाई नै छ ।’
श्रोतका अनुसार गोदावरी नगरपालिका – ४ मा नापीको काम सुरु भएदेखि सो क्षेत्रमा आफ्नो क्षेत्र विस्तार गर्न भू– माफिया सक्रिय भएका छन । गोदावरीमा हाल धमाधम नापीको काम भइरहेको छ । नगरका वडा नम्बर ३, ४ र ६ मा यसैमहिना देखि नापीको काम सूरु भएको छ भने वडा नम्बर १ र २ मा यसअघि नै नापीको काम सुरु भएको थियो ।
अव्यवस्थित बसोबासिको हकमा नापी सकिएपनि राश्वस्व निर्धारण गरेर लालपुर्जा वितरण गर्ने नगरपालिकाको तयारी छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई भने मापदण्ड भित्र रहेर निःशुक्ल रुपमा जग्गा उपलब्ध गराइने जनाइएको छ ।

















