अत्तरिया – घटना भएको ५ दिन बितिसक्दा पनि बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारका हत्यारा पक्राउ नपर्दा पीडित परिवार सशंकित बनेको छ । मंसिर १३ गते मायाको हत्या र नेहाको घाटी रेट्ने व्यक्ति सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोली भएको किटानी जाहेरी दिदाँ पनि उनलाई प्रहरीले प्रक्राउ नगरेको भन्दै पीडित परिवार सशंकित बनेको हो ।
मृतकका दाई टिंकु लुहारले अपराधिको बारेमा पर्दाफास भइसक्दा पनि प्रहरीले पक्राउ गर्न नसक्दा बिभिन्न आशंका उब्जिएको बताए । उनले प्रहरी संग बुझ्न खोज्दा नआत्तिनुस प्रक्राउ गर्छै भन्ने जवाफ दिने गरेको बताए ।

‘१ महिना अगाडी दिदीले ज्यान गुमाएकी थिइन् । त्यस्कै पीडाले पिरोलिएको बेला अहिले सहनै नसक्ने घटना झेल्नु परेको छ । त्यसैमा आमा पनि अचेत अवस्थामा हुनुहुन्छ । कुन बेला के हुने हो भन्ने अर्को चिन्ता छ’ उनले भने ‘अपराधी अब फेला पर्छ भन्ने आशाले यतिका दिन बितिसक्दा पनि फेला नपर्दा झन चिन्ता थपिएको छ । अपराधी पक्राउ परेर फाँसीको सजाय दिदा पनि सन्तुष्ट नहुने अवस्थामा पक्राउ सम्म परेका छैनन् ।’
रुवाबासी चलको मृतक मायाको परिवारमा उनकी आमा रमा लुहार भक्कानिदै न्यायको भिक मागिरहेकी छिन् । रमाले १ महिना अगाडी मात्रै जेठी छोरी गुमाएकी थिइन् ।
‘अचेत आमालाई समाल्ने की अस्पतालको बेडमा छटपटाइरहेकी भतिजिलाई हेर्ने । परिवारमा निकै ठूलो बज्रपात परेको छ’ मृतकका दाई टिंकुले भने ‘भतिजिको घाटीको घाउँ निको भइरहेको भएपनि डाक्टरले पछि जिब्रोमा समस्या आउन सक्ने भएकाले काठमाण्डौं लग्ने भनेका छन । कसरी के गर्ने निकै समस्यामा छौ ।’

उनले समस्या माथि समस्या आइलाग्दा पनि हत्यारा पक्राउ नपरिहेकाले झन–झन पीडा थपिएको बताए । ‘यस्तो अवस्थामा अपराधीलाई खोज्न सकेन र कडा सजाय दिन सकेन भने भोलि कयौ छोरी बहिनीहरु अशुरक्षित हुनु सक्छ्न’ उनले आफ्नो सामाजिक संजाल मार्फत प्रहरी प्रशासन माथि आक्रोस पोख्दै लेखेका छन ‘अब ३/४ दिन भित्रमा अपराधी खोज्न सक्नु भएन भने हामीले रोड्मा जुलुसका साथ जनताहरुले नै प्रक्रिया अगाडि बढाइ अपराधी खोज्ने छौ । खोज्न सफल भएन भने उस्को घर जलाइने छ बदला लिइनेछ ।’
उता बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रेमबहादुर शाहीले भने अपराधिको खोजि कार्य जारी रहेको बताएका छन । उनले किटानी जाहेरीको आधारमा शिवनाथका भरत कोलीको खोजी गरिरहेको बताएका छन ।
घटना भएको भोलिपल्ट डिएसपी शाही आफै घटना स्थलमा पुगेका भएपनि उनी २ दिन त्यहाँ बसेर जिल्ला फर्किसकेका छन ।
उता आरोपित सशस्त्र प्रहरीका जवान कोली भने सामाजिक संजालमा मार्फत आफूले मायाको हत्या नगरेको दाबी गरेका छन । उनले टिकटकमा पोष्ट गर्दै आफू कतै नभागेको पनि दाबी गरेका छन । सम्पर्कमा नरहेका कोली सामाजिक संजालमा संक्रिय देखिएपछि डिएसपी शाहीले आरोपितले कुन ठाउँबाट टिकटक चलाएको भन्नेर खोजी गर्न माथिल्लो निकायमा खबर गरेको बताएका छन ।
पछिल्लो समय बिभिन्न संघसस्था, राजनीतिक दलले पनि मायाका हत्यारा पक्राउ गर्न ढिलासुस्ती भएको भन्दै चाडो पक्राउ गर्न दवाव दिन थालेका छन ।
घटना मंसिर १३ गते घटेको भएपनि त्यसको दोस्रो दिन मायाको शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो भने १५ वर्षीया नेहा घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् ।
हाल उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । घाइते नेहाले दिएको वयानका आधारमा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको थियो । मायाको परिवारका आफन्तले पोष्टमार्ट पछि दाहसंस्कार गरिसकेका छन ।
















