अत्तरिया – कुकुर भुकेर निद्रा खुलेपछि देवकी चौधरी खेतमा छाडा चौपाया आए की भनेर हेर्न बारिमा गईन् । बिहिबार राती भने उनको बारीमा छाडा चौपाया नभएर हात्तीको बथान भरिएको थियो । उनी झस्किइन् र, चुपचाप घरभित्र पसिन् । ‘कुकुर पालेका थियौ । कुकुर भुकेपछि छाडा गोरु हो कि भनेर खेतमा हेर्न गए’ कैलालीको गोदावरी नगरपालिका – ९ बल्मी, गोलादेउकी देवकीले भनीन् ‘टर्च लगाएर खेतमा जाँदा नजिकै हात्ती देखे । म चिच्याएको भए सायद मलाई आक्रमण गर्थे होला । म चुपचाप भागेर घरभित्र आए ।’
५४ बर्षिय देवकीले जीवनमा पहिलो पटक गाउँमा हात्ती देखेको बताईन् । ‘२७ बर्ष भयो यो बस्तीमा बसेको तर, पहिलो पटक गाउँमा हात्ती देखे’ उनले भनीन् ‘धन्नले ज्यान जोगियो । बारी भने सखाप भयो ।’ उनले आफूले ढाई कठ्ठामा लगाएको केरा बारी हात्तीले सखाप पारेको बताईन् । उनले अनपेक्षित रुपमा गाउँमा हात्तीको बथान पसेपछि आफू अचम्ममा परेको बताईन् ।

देवकीको जस्तै सो क्षेत्रमा पहिलो पटक हात्ती देखेका सबै अचम्ममा परेका छन । स्थानीय दुर्गा देवी कोलीले करिब २०/२५ को संख्यामा रहेको हात्तीको बथान आगनमै आएको बताईन् । ‘गाउँमा सबैले भाडा बजाएर लखेटेका हौ’ उनले भनीन् ‘प्रहरी आए पनि केही क्षती भएको छैन भनेर हेरेर गए । वडा अध्यक्षले पनि वडा कार्यालय खुलेपछि सिफारिस लग्नु भने ।’
उनले राती ११ बजे हात्तीको बथान बाह्रबन हुँदै बस्तीमा पुगेको बताईन् । उनले पुर्वबाट आएको हात्तीको बथान १० बजे राती गौरीगंगामा पुगेको आफूले पहिल्यै आफन्तबाट खबर पाएको बताईन् ।

सो क्षेत्रमा हात्तीले स्थानीय भीम राउतको १० कठ्ठाको कुन्यो बनाएर राखेको धान बालि नष्ट गर्नुका साथै लाली कामीको ५ कठ्ठा काटेर फिजेको धान बालीमा क्षती गरेको वडा अध्यक्ष रामलाल रानाले बताए । उनले क्षती भएको क्षेत्रमा शनिबार प्रहरीले मुचुल्का उठाउने बताए । उनले पहिलो पटक वडामा हात्ती आएको सुनेर आफू पनि अचम्ममा परेको बताए ।
‘हात्ती आयो भनेर मलाई फोन आयो । सुरुमा मलाई पनि विश्वास नै लागेन’ उनले भने ‘अहिले सम्म मैले कहिल्यै हात्ती आएको सुनेको थिएन ।’
सोही हात्तीको बथानले गोदावरी नगरपालिकाको वडा नम्बर ८ मा पनि क्षती पुगाएको छ । राती ११ बजे गोलादेउमा देखिएको हात्ती राती करिब डेढ बजे वडा नम्बर ८ को हरिनगरमा पुगेको वडा नम्बर ८ का वडा सदस्य चन्द बहादुर विसीले बताए ।
उनले हात्तीले स्थानीय रामकृष्ण रानाले लगाएको ८ कठ्ठा धानबालीमा क्षती पु-याएको बताए । उनले पुर्वबाट सुर्योदय सामुदायिक वन हुँदै हात्ती बस्तीमा पसेको बताए । हात्तीले हरीनगरमा रहेको फुटबल मैदानको गोलपोष्ट पनि भाचेको छ ।
वडा सदस्य विसीले शुक्रबार बिहान प्रहरीलाई लगेर मुचुल्का उठाएको बताए । उनले पनि आफूले गाउँमा पहिलो पटक हात्ती पसेको देखेको बताए । ‘ ३०/४० बर्ष पहिले हात्ती आएको थियो भनेर गाउँमा बुढापाका मान्छेले भनिरहेका छन’ उनले भने ‘त्यो भन्दा यता पहिलो चोटी देखेका हौ ।’
सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडालले हात्ती भारतको दुधुवा नेसनल पार्क हुँदै लालझाडी संरक्षित वन हुँदै मालुबेला सम्म आउने–जाने गरेको बताए । उनले हात्ती हरेक बर्ष एउटै रुट भएर आउने भएपनि कुनै कारणबस बाटो बिराएर नयाँ ठाउँमा आउन सक्ने बताए ।
‘यसको मुख्य आवास क्षेत्र दुधुवा नेसनल पार्क हो । यो क्षेत्रमा पहिला बासको कल्ला भेटिने भएकाले यो रुटमा हात्ती आउने गर्थे’ उनले भने ‘उनीहरुले बुढो हात्तीले देखाएको रुटमा नै अन्य हात्ती हिड्ने गरेका हुन्छन । हत्तपत्त उनीहरु रुट परिवर्तन गदैनन् ।’ जानकारहरुका अनुसार वनमा चरन अभाव हुँदा पछिल्लो समय हात्ती बस्तीमा पस्न थालेका हुन ।
















