अत्तरिया – ‘हुने विरुवाको चिल्लो पात’ भनेजस्तै आनन्द कामी सानै देखि करातेमा निकै प्रतिभावान थिए । उनको यो क्षमतालाई उनका प्रशिक्षक सन्तोष विकले चिनिसकेका थिए । त्यसैले आनन्दको प्रतिभालाई निखार दिन सन्तोषले १० बर्ष अगाडी देखि ओलानी डोजोमा प्रशिक्षण दिन थाले ।
‘आनन्द सामान्य परिवारमा हुर्किएको मान्छे हो । उसको बुवा पनि छैनन् । घरको आर्थिक अवस्था निकै दयनिय छ । उसको आमा भारतमा काम गर्न जानुहुन्छ’ प्रशिक्षक सन्तोषले भने ‘आनन्द पनि काम गर्न भारतमा गएको थियो । मैले नै उसलाई बोलाएर ल्याएको हु । उसले रिजल्ट देखाईदियो ।’ उनले क्षमता भएको खेलाडी आर्थिक समस्याका कारण भारतमा मजदुरी गर्न गएकोले आफूले नेपाल बोलाएको बताए । उनले आफूले आनन्द प्रति देखाएको विश्वास मर्न नदिएको बताए ।

कैलालीको गोदावरी नगरपालिका – १२ ओलानीका २१ बर्षिय आनन्द प्रशिक्षक सन्तोषको आग्रहमा करिब १ बर्ष अगाडी भारतबाट नेपाल फर्किएका थिए । आर्थिक अवस्था कमजोर भएका कारण प्रमाणपत्र तह भन्दा अगाडीको शिक्षालाई निरन्तरता दिन नसकेका आनन्दलाई यहाँ करातेको प्रशिक्षण लिएर मात्रै जिवन चलाउन ‘फलामको चिउरा चपाए’ सरह थियो । त्यसपछि उनी गाउँमै कपाल काट्न थाले ।
ठूलो व्यवसाय गर्ने लगानी नहुँदा आनन्दले गाउँमै कपाल काट्ने सानो पसल राखेका थिए । सानो बजारमा सानै व्यापार हुन्थ्यो । जसोतसो उनले आफ्नो व्यवसाय संगै करातेको प्रशिक्षण पनि अगाडी बढाए ।
दिनभरी कपाल काटेर करातेको प्रशिक्षण लिने उनको दैनिकी देखेर धेरैले कुरा पनि काट्थे । उनको क्षमतालाई नचिन्नेले नाईको काम गर्नेले कराते खेलेर के– के नै गर्ला र भनेर अटकल लगाउन्थे ।

कराते मार्सलआर्ट विधामा पर्ने खेल हो । कराते प्रशिक्षण गर्नेले पोषणयुक्त आहार खानुपर्ने हुन्छ । तर, आनन्दका लागि यी सबै मापदण्ड दुर्लभ थिए । उनी सामान्य खाना खाएर करातेको प्रशिक्षण गरे । आनन्दले चुनौतीका पहाड चिर्दै आफ्नो लक्ष्यमा टसमस भएनन् । र, अन्तरमा लक्ष्य पुरा गरे ।
‘अहिले एकदमै सुखि लागेको छ’ आनन्दले भने ‘मैले अपेक्षा गरे भन्दा धेरै पाए ।’ उनले खेललाई आफ्नो आर्थिक अवस्थाले चुनौति दिएको भएपनि अहिले गुरुको सहयोगमा सबै चुनौती चिर्दै उपाधी चुम्न सफल भएको बताए । उनले अब करातेमा अन्तराष्ट्रिय स्तरको उपाधि जित्ने आफ्नो लक्ष्य हुने बताए । ‘अब खेललाई अगाडी बढाउन आवश्यक इक्युवमेन्ट जुटाउन सरकारले सहयोग गरिदिएको भए सजिलो हुन्थो’ उनले भने ।

पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा करातेमा स्वर्ण पदक जित्ने आनन्द कैलालीका पहिलो खेलाडी हुने । उनी सुदूरपश्चिम प्रदेशको टिमबाट करातेमा सहभागि भएका थिए । पुरुषतर्फको ५० केजीको फाइनलमा बागमती प्रदेशका अनिल उपरकोटीलाई पराजित गर्दै उनले प्रदेशलाई स्वर्ण पदक दिलाएका हुन् ।

सहयोगको आश्वासन
नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकताबद्ध देश खेलकुदको सन्देश’ राखिएको थियो । प्रशिक्षकको सहयोगमा स्वर्णको स्वाद लिने महत्वाकाक्षी यात्रामा अगाडी बढेका आनन्दका लागि अहिले भने केहि हद सम्म यो नारा सार्थक बनेको छ ।
स्वर्ण पदक जितेर एकाएक चर्चामा आएका आनन्दले अहिले भने धेरै ठाउँबाट सहयोगको आश्वासन पाउन थालेका छन । गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले प्रदेशकै नाम उचो हुने गरी आफ्नो नगरको खेलाडीले उपाधी जितेकोमा आफुले गौरवको महशुस गरेको बताए । उनले आनन्द राष्ट्रको सम्पति भएकाले गोदावरी नगरपालिकाले उनको आगामी यात्राका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कैलाली जिल्ला खेलकुद विकास समितिका कराते प्रशिक्षक प्रकाश चन्दले सेती अञ्चबाट आनन्दले पहिलो पदक जितेको बताए । ‘यो पदक जित्न त्यती सहज थिएन उनी अहिले इतिहास रच्न सफल भएका छन’ उनले भने ‘यो पदक जित्न त्यती सहज थिएन । नेपाल आर्मी नेपाल पुलिसबाट सार्कमा पदक जितेका खेलाडी संग प्रतिस्पर्धा गर्नुपर्ने थियो । अब आनन्दले आगामी ९÷१० बर्ष सम्म नेपालको कराते महासंघमा दवदवा कायम गर्नेमा हामी ढुक्क छौ ।’
उनले अब आनन्दलाई एसियन प्रतियोगितामा छनोटका लागि छिटै बोलाइने बताए । उनले आनन्दलाई अहिलेको उपाधि जितेपछि बढी भन्दा बढी पुरस्कृत गर्ने योजना बनाएको बताए ।
‘अहिले देश, विदेशबाट खेलाडीलाई पुरस्कार दिने लहर चलेको छ । धेरैले भाइलाई सहयोग पनि गरेका छन’ उनले भने ‘एउटा गाउँबाट त्यो लेवल सम्म पुग्न धेरै कठिन काम हो । २०/२१ जनासंग लडेर यो उपाधि जित्नु चानचुने कुरा होइन ।’ उनले राष्ट्रिय कराते महासंघबाट पनि आनन्दलाई सम्मान र पुरस्कार दिइने बताए ।
आनन्दको वडाका वडाअध्यक्ष भीम खड्काले आगामी दिनमा आफूले वडाबाट पनि सक्दो सहयोग गर्ने बताए । उनले आनन्दलाई हौसला दिन उनको स्वागत तथा सम्मान कार्यक्रम राखेको बताए । उनले भने ‘मैले अहिले वडाबाट सक्ने जति आनन्दलाई हौसला दिन पुरस्किृत गर्छु ।’

















