धनगढी – कैलालीकाे धनगढी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगलागी न्यूनीकरणका लागि १४ वटा स्थानमा फायर हाइड्रेन्ट जडान गरेको छ । आगलागीबाट हुने क्षति न्यूनीकरणको लागि गत वर्ष आठ र यस वर्ष छ स्थानमा फायर हाइड्रेन्ट जडान गरिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

गत वर्ष धनगढीको मुख्य बजार खण्ड चौराहादेखि क्याप्पसरोड सडक खण्डमा पाँच, सहिद गेटदेखि शिवनगर सडक खण्डमा तीन वटा गरी आठ स्थानमा फायर हाइड्रेन्ट जडान गरिएको थियो । यसैगरी चालु आर्थिक वर्षमा वडा नं १ महोत्सव लाग्ने स्थान, वडा नं ३ को पक्की कुवा, वडा नं ४ भाटभटेनी चोक, कैलालीगाउँ जाने बाटो, वडा नं ५ यातायात कार्यालय, वडा नं ६ मटियारी र वडा नं १२ को सहरी स्वास्थ्य केन्द्र आसपासका क्षेत्रमा गरी छ स्थानमा फायर हाइड्रेन्ट जडान गरिएको छ ।

धनगढीका कुनै पनि स्थानमा कहिकतै आगलागी भइहाल्यो भने दमकललाई आगो निभाउन जान र दमकलमा पुनः पानी भर्न नगरपालिकाको कार्यालयमै आउनुपर्ने बाध्यता अन्त्य गर्नका लागि फायर हाइड्रेन्ट जडान गरिएको नगर प्रमुख गोपाल हमालले जानकारी दिए ।
फायर हाइड्रेन्ट नजिक आगलागी भइहाल्यो भने पनि त्यसमा जेटपम्प लगाएर आगो निभाउन पनि सकिने छ । जसबाट पानीको पनि समस्या हुँदैन लगातार पानी उपलब्ध हुन्छ । आगलागी हुँदाखेरी बढीभन्दा बढी क्षति न्यूनीकरण होस् भन्ने उद्देश्यले धनगढीका विभिन्न स्थानमा फायर हाइड्रेन्ट जडान गरिएको हो । क्रमिक रूपमा धनगढीका १९ वटै वडामा थप फायर हाइड्रेन्ट जडान गर्ने उपमहानगरपालिकाको योजना रहेको बताइएको छ ।


















