अत्तरिया – माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि सुरु हुँदैछ । विहान ८ बजेदेखि देशभरी परीक्षा सुरु हुँदै छ । चैत्र २९ गते सम्म सञ्चालन हुने परीक्षामा यस वर्ष देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थि सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमध्य टेक्नीकलबाट १६ हजार ३१२ जनाले परिक्षा दिन लागेका छन् भने पार्सियलमा २६४ जनाले परिक्षा दिन लागेका छन् । ७७ वटै जिल्ला हुने परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र तोकिएको छ ।
एसइईमा सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७३ परीक्षार्थीसहभागी हुने भएका छन । जसमा नियमिततर्फका ४० हजार ९७३, प्राविधिक धारका एक हजार ७७८ र ग्रेड वृद्धितर्फका ११ हजार ४८५ परीक्षार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

एसइईमा सबैभन्दा बढी कैलालीबाट १८ हजार २७८ परीक्षार्थी परीक्षामा सहभागी हुँदै छन । यसैगरी, कञ्चनपुरका १० हजार ८९७, बैतडीका ४ हजार ५२९, अछामका चार हजार ४५१ विद्यार्थी एसईई परीक्षामा सहभागी हुने जनाइएको छ । त्यस्तै, डोटीका तीन हजार ३१४, दार्चुलाका तीन हजार ५६८, बझाङका तीन हजार ४२१ परीक्षार्थीले एसईई दिने निर्देशनालयले जानकारी दिएको छ । सबैभन्दा कम बाजुराबाट दुई हजार ४२६ जना परीक्षार्थी एसईईमा सहभागी भइरहेका जनाइएको छ ।

प्रदेशभर २२१ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन २२१ केन्द्राध्यक्ष, ३७३ सहायक केन्द्राध्यक्ष तथा २ हजार ७२८ जना निरीक्षक परिचालन गरिनेछ । साथै, प्रत्येक परीक्षा केन्द्रमा १५ जनाका दरले ३ हजार ३१५ जना प्रहरी खटाइने तयारी गरिएको छ । यसबाहेक ४६९ जना परीक्षा सहायक र १ हजार १०३ जना सहयोगी कर्मचारी पनि परिचालन गरिने निर्देशनालयले जनाएको छ ।
१८ हजारभन्दा बढी विद्यार्थी एसईई सहभागी भइरहेको कैलालीमा ५५ वटा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई कैलालीका प्रमुख ईश्वरी प्रसाद ज्ञावालीले बताए । जिल्लामा आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको उनले जानकारी दिए । परीक्षा केन्द्रहरूमा सिट प्लान व्यवस्थापनदेखि सुरक्षा प्रबन्धसम्मका सबै तयारी सम्पन्न भइसकेका छन् । परीक्षालाई अनुशासित र मर्यादित बनाउन केन्द्राध्यक्ष तथा सम्बन्धित जनशक्तिलाई प्रशिक्षण दिइसकिएको छ ।
यता कैलालीको गोदावरी नगरपालिकाबाट यस वर्षको एसइईमा २१ सय बढी विद्यार्थी सहभागी हुँदै छ । गोदावरी नगरपालिको शिक्षा शाखाका अनुसार यस वर्ष २ हजार १६७ विद्यार्थी नियमित तर्फ एसइई परीक्षामा सहभागि हुन लागेका हुन । जसमा छात्रा १ हजार २४ र १ हजार १८३ छात्र रहेको शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले बताए । गोदावरीमा एसइई परीक्षाका लागि ७ वटा केन्द्र तोकिएको छ ।
एक महिनाभित्रै परीक्षाफल
यसपटकको एसइई परीक्षाको उत्तरपुस्तिका परीक्षा सकिएको ३ दिनभित्रै परीक्षण गर्ने तयारी गरिएको छ भने एक महिनाभित्रै परीक्षाफल प्रकाशित गर्ने तयारी गरिएको छ । जसका लागि परीक्षा केन्द्रहरूमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाउन लागिएको जनाइएको छ । विगतका वर्षहरूमा उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमार्फत संकलन गरी जिल्ला तथा प्रदेशमा परीक्षण गर्दा परीक्षाफल प्रकाशनमा ढिलाइ हुने गरेको थियो ।


















