बेलौरी -कञ्चनपुरको बेलौरीबाट प्रहरीले एकै दिन लागू औषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरेको छ । बिहीबार इलाका प्रहरी कार्यालय बेलडाँडीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका १० को २ ठाउँबाट लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका – १० दर्शीखल्लाबाट १ ग्राम ८६० मिली ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लालझाडी गाउँपालिका २ कन्ज बस्ने २४ वर्षीय बलराम राना र सोही ठाउँ बस्ने २४ वर्षीय नक बलराम राना रहेका छन् ।

त्यस्तै बेलौरी नगरपालिका – १० सडकघाटको पिपल चौताराबाट प्रहरी ३ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक किशोर, शुक्लाफाँटा नगरपालिका – २ कालागौडी बस्ने २२ वर्षीय अर्जुन राना र सोही ठाउँ बस्ने २४ वर्षीय गणेश बहादुर साहु रहेका छन ।
उनीहरूको साथबाट २ ग्राम १३० मिलिग्राम ब्राउन सुगर बरामद भएको इलाका प्रहरी कार्यालय बेलडाँडीले जनाएको छ । पक्राउ परेका ५ जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखी थप अनुसन्धान भइरहेको छ ।
















