धनगढी – फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार तथा नेपाली काँग्रेसका नेता नरनारायण शाह (मनु) ले वडा तहमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । निर्वाचन प्रचार–प्रसारलाई प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यका साथ उनले धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् ।

आइतबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ मा एकै चरणमा सम्पर्क कार्यालय स्थापना गरिएको हो । स्थानीय कार्यकर्ता, शुभेच्छुक तथा नागरिकको उपस्थितिमा रिवन काटेर कार्यालय उद्घाटन गरिएको जनाइएको छ ।

स्थापना गरिएका सम्पर्क कार्यालयलाई निर्वाचन अवधिभर जनताको गुनासो, सुझाव र अपेक्षा संकलन गर्ने केन्द्रका रूपमा प्रयोग गरिने जनाइएको छ । सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार शाहले निर्वाचनलाई सभ्य, मर्यादित र अनुशासित बनाउनु सबै राजनीतिक दल र उम्मेदवारको साझा दायित्व भएको बताए ।
उनले चुनावी प्रतिस्पर्धाका नाममा आरोप–प्रत्यारोप, व्यक्तिगत आक्षेप र नकारात्मक प्रचारमा नलाग्न आग्रह गरे । ‘निर्वाचनमा सबैले आचारसंहिता पालना गर्नुपर्छ । सभ्य तरिकाले प्रतिस्पर्धा गरौँ, समाजलाई विभाजन गर्ने खालका गतिविधि नगरी सकारात्मक एजेन्डाका साथ जनतामाझ जाऔँ,’ उनले भने । स्थानीय काँग्रेस कार्यकर्ताले पनि सम्पर्क कार्यालय स्थापना भएपछि प्रचार–प्रसारमा थप ऊर्जा मिलेको बताएका छन् ।

















