डडेल्धुरा – नेपाल सरकारले २०७८ सालमा डडेल्धुरा अस्पताललाई मेडिकल कलेजका रूपमा विस्तार गर्ने निर्णय गरेर एमबिबिएस सम्म पढाई गर्ने गरी योजना अघि सारिएको भएपनि नर्सिङ, ल्याब र पब्लिक हेल्थका कक्षा सञ्चालन हुँदै आएका छन ।
डडेल्धुरा मेडिकल कलेजलाई पूर्ण रूपमा स्तरोन्नति गर्न र एमबीबीएसको पढाइ थाल्न डडेल्धुरा अस्पतालको क्षमता कम्तीमा तीन सय शय्यामा पुगाउने पर्ने भएपनि हाल अस्पताल एक सय शय्याको स्वीकृतिमा सञ्चालनमा छ । संरचनागत सीमाका कारण कलेजले अहिले स्वास्थ्य विज्ञान संकायमा स्नातक तह अध्ययनमा मात्रै केन्द्रित रहनु परेको हो ।

सुदूरपश्चिम विश्वविद्यालय मातहतको प्रस्तावित डडेल्धुरा मेडिकल कलेज (स्वास्थ्य विज्ञान संकाय) मा पछिल्ला वर्षमा बीएस्सी नर्सिङ, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) र ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) कार्यक्रम सञ्चालन हुँदै आएका छन् । २०८० सालमा पहिलोपटक भर्ना सुरु गरेको कलेजले अहिले दोस्रो ब्याचसम्म कक्षा सञ्चालन गरिरहेको छ ।

पहिलो ब्याचमा एमएलटी कार्यक्रमका लागि १० सिटमध्ये ८ जना विद्यार्थी भर्ना भएका थिए भने हाल नर्सिङमा २० सिटमध्ये सबै भर्ना भएका छन् । ल्याबमा १० सिटमध्ये ६ जना र पब्लिक हेल्थमा १० सिटमध्ये ५ जना विद्यार्थी अध्ययनरत छन् ।
चिकित्सा शिक्षा आयोगले कलेजको भौतिक अवस्था, जनशक्ति र शैक्षिक पूर्वाधारको अनुगमनपछि प्रत्येक सत्रका लागि सिट संख्या निर्धारण गर्ने गरेको कलेजका सह–प्राध्यापक तथा स्वास्थ्य विज्ञान संकायका कार्यक्रम संयोजक धर्मराज भट्टले बताए । उनका अनुसार हाल तेस्रो ब्याचका लागि पनि यी तीनै संकायमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया तयारीको चरणमा छ ।
विद्यार्थी संख्या बढ्दा सरकारको आर्थिक भार पनि बढ्ने भएकाले अहिले तत्काल सिट संख्या बढाउन नसकिएको मन्त्रालयले जानकारी गराएको भट्टले सुनाए । उनका अनुसार आगामी सत्रका लागि कलेजले बीएस्सी नर्सिङमा ३० सिटको प्रस्ताव गरेको थियो ।
स्वास्थ्य विज्ञान संकायले सञ्चालन गरिरहेका कार्यक्रमहरूमा ७५ प्रतिशत सिट छात्रवृत्तिअन्तर्गत (निःशुल्क) र बाँकी २५ प्रतिशत सिट शुल्क तिरेर अध्ययन गर्न पाउने व्यवस्था गरेको छ । छात्रवृत्तिका लागि विद्यार्थीलाई प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत प्रवेश दिइन्छ । भट्टका अनुसार प्राथमिकताका आधारमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई उच्च शिक्षामा सहज पहुँच बनाउने लक्ष्यका साथ यो व्यवस्था ल्याइएको हो ।
अहिले कलेजको आफ्नै जग्गा भए पनि आवश्यक भौतिक पूर्वाधार निर्माण भइसकेको छैन । हाल अध्ययन अध्यापनको कार्य पुराना भवनहरूमा सञ्चालन भइरहेको छ । विद्यार्थी संख्या कम भएकाले तत्काल पढाइमा समस्या भने नभएको कलेज प्रशासनले जनाएको छ ।



















