खाेज्नुहाेस

कृष्णपुरमा प्राविधिक शिक्षालय निर्माण गरिने

Image

अत्तरिया– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्राविधिक शिक्षालय निर्माण गरिने भएको छ । कोरियन सरकारको सहयोगमा नगरपालिकाको वडा नम्बर. ७ मा शिक्षालय निर्माण गरिने भएको हो । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा शिक्षालय निर्माण गर्ने प्रकृया अघि बढेको नगरपालिकाले जनाएको छ । सोमबार प्राविधिक शिक्षालय निर्माण गर्ने भनिएको स्थानमा कोइकाको टोलीले अवलोकन गरेको छ । नेपालस्थित कोइकाका देशीय निर्देशक मुहेओन कङ, डेपुटी देशिय निर्देशक चोङ हि चोइ, सिटीइभिटिका एक्सक्युटिभ डाईरेक्टर महेश भट्टराई लगायतको टोलीले सो क्षेत्रको अवलोकन गरेको हो ।

नगरप्रमुख हेमराज ओझाले कोइका को टोली प्राविधिक शिक्षालय निर्माण गर्ने भनिएको स्थानको अन्तिम अवलोकन गर्नका लागि आएको बताए । उनले यसअघि पनि अवलोकन गरिएकोमा सोमबार अन्तिम पटक अवलोकन गरिएको बताए । उनले कोरियन सरकारको सहयोगमा करिब १ अर्ब ४० करोड नेपाली रुपैया बराबरको लगानीमा कृष्णपुरमा प्राविधिक शिक्षालय निर्माण गरी प्रकृया अघि बढाईरहेको बताए ।

attariya hospital

उनले कोरियन सरकारको संसदबाट समेत सो रकम स्विकृत भैसकेको बताए । उनले अवलोकनका क्रममा कोइकाको टोली सकारात्मक तरिकाले प्रभावित भएको समेत बताए । ‘उहाँहरुले आज (सोमबार) अन्तिम भिजिट गर्नुभयो, हामीसँग सकारात्मक हिसाबले प्रभावित हुनुभएको छ’ नगरप्रमुख ओझाले भने ‘यसअघि पनि स्थानियस्तरमा चाहिने बत्ति, पानी, बाटोघाटो र निर्माण कार्यमा कुनै पनि अवरोध नहुने प्रतिबद्धता सहितको एमओयु (समझदारी पत्र) मा हस्ताक्षर भैसकेको छ ।’

navjiwan hospital

उनले सो क्षेत्रमा शिक्षक र विद्यार्थीहरुको आवास सहित हुने गरी शिक्षालय चलाउने योजना रहेको बताए । ‘उहाँहरु सबैकुरामा आश्वस्त भएर जानुभएको छ । यो बन्यो भने कृष्णपुर मात्रै नभई समग्र सुदूरपश्चिमका लागि एकदमै सकारात्मक कुरा हुनेछ’ नगरप्रमुख ओझाले भने । उनले अहिले सो शिक्षालयमा कुन कुन विषय पढाई हुने भन्ने एकिन नभएपनि इलेक्ट्रो मेकानिकल, इलेक्ट्रिकल लगायतका विषयहरु अध्यापन हुने बताए । त्यसमा लामो र छोटो समयावधीका अरु कोर्षहरु पनि थपिदै जाने उनको भनाई छ ।

शिक्षालय निर्माण गर्नका लागि करिब ३० हजार वर्गमिटर जग्गा आवश्यक पर्ने माग आएबमोजिम आफूहरुले सो क्षेत्रमा जमिन उपलब्ध गराएको उनले बताए । उनले शिक्षालयका लागि अझै आवश्यक परे जग्गा उपलब्ध गराउन सकिने समेत बताए । उनले यहाँको जनशक्तिलाई व्यवस्थापन गर्नका लागि र रोजगारमुलक शिक्षा दिनका लागि शिक्षालयले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने ‘विगतमा यहाँको जनशक्तिलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर बलियो तरिकाले उहाँहरु (कोइका) ले सर्भे गर्नुभएको छ । यो भयो भने समग्रमा यहाँको जनशक्ति सिपमुलक हुनेछ, व्यवसायीक र रोजगार बन्न सहयोग पुग्नेछ ।’

अवलोकन पश्चात बोल्दै कोइकाका देशीय निर्देशक मुहेओन कङ कोईकाले धेरै प्रोजेक्टहरु नेपालमा सञ्चालन गरिरहेको बताए । उनले ति प्रोजेक्टहरु काठमाण्डौ आसपासका क्षेत्रमा मात्रै सञ्चालन भैरहेको अवस्थामा पहिलो पटक सुदूरपश्चिमतिर कोइकाले प्रोजेक्ट सञ्चालन गर्ने तयारी गरिरहेको बताए । ‘कोइकाले नेपालमा धेरै प्रोजेक्टहरु सञ्चालन गरिरहेको छ, जुन काठमाण्डौ आसपासका क्षेत्रमा मात्रै हुने गरेका छन्’ उनले भने ‘अहिले अब नयाँ प्रोजेक्टका रुपमा हामीले यहाँ पहिलो पटक काम गर्न खोजिरहेका छौ । हामीले अहिले अवलोकन गरेको क्षेत्र एकदमै राम्रो छ । यहाँ प्रोजेक्ट सञ्चालन गर्नका लागि हामी हाम्रो सम्पुर्ण मेहनत लगाउने छौ ।’ उनले नेपाल सरकारसँग कामका लागि सहकार्य गर्न पाउँदा आफूहरु निकै खुसी भएको समेत बताए । उनले सो कार्यले युवा तथा विपन्न वर्गमा गुणस्तरीय प्राविधिक शिक्षामा पहुँच पुग्ने विश्वास व्यक्त गरे ।

कृष्णपुर नगरपालिका वडा नं. ७ को कार्यालयसँगै जोडिएको जमिनमा शिक्षालय निर्माण गर्ने तयारी नगरपालिकाले गरेको छ । सो शिक्षालय निर्माण भए इलेक्ट्रिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ र टुरिजम एण्ड एस्पिटाली लगातका प्राविधिक विषयहरुको अध्यापनका लागि एकदमै सहज हुने विश्वास गरिएको छ । शिक्षालयमा ६ महिनादेखि ३ वर्षसम्मका तालिम तथा पढाइ हुने र ती पढाइका निम्ति आवश्यक गर्ने प्रयोगात्मक शिक्षाका लागि प्रयोगशाला, विभिन्न उपकरणमा कोइकाको सहयोगबाट खर्च हुने बताईएको छ ।