अछाम – बूढीगंगा जलविद्युत् आयोजना ईपीसी मोडेलमा निर्माण गरिने भएको छ । तीन दशकदेखि चर्चामा रहेको २० मेगावाट क्षमताको आयोजना सरकारको २०, साउदी फन्ड फर अरब डेभलपमेन्ट र कुवेत फन्ड फर अरब इकोनमिक डेभलपमेन्टको ८० प्रतिशत ऋण लगानीमा निर्माण गरिने भएको हो ।

जसका लागि भदौ २९ गते इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडेलमा आयोजनाको ठेक्का सम्झौता भएको छ । यसअघि विभिन्न कारणले तीन पटकसम्म ठेक्का रद्द भएको थियो । अहिले चौथो पटकको ठेक्का चिनियाँ कम्पनी सुपर पावर इन्जिनियरिङ कन्स्ट्रक्सन र नेपाली कम्पनी बानियाँ निर्माण सेवा प्रालि (मकवानपुर) बीच सम्झौता भएको हो । विभागले निर्माण गर्न थालेको यो शतप्रतिशत सरकारी जलविद्युत् आयोजना हो ।

ठेकेदारले आयोजना डिजाइनदेखि निर्माणसम्मका सम्पूर्ण जिम्मेवारी लिएको बूढीगंगा जलविद्युत् आयोजना प्रमुख सुरेन्द्र घिमिरेले बताए । दुवै कम्पनीले ४२ महिनाभित्र आयोजना पूरा गर्ने लक्ष्य राखेको उनको भनाइ छ । ‘ईपीसी मोडेलमा सम्झौता भएको हुँदा अब समयावधि विस्तारको बहाना देखाउन पाइन्न,’ उनले भने, ‘यो मोडेलमा काम छिटो हुनेछ ।’
ईपीसी सम्झौता अनुसार ठेकेदारले डिजाइन (इन्जिनियरिङ), सामग्री खरिद (प्रोक्योरमेन्ट) र निर्माण (कन्स्ट्रक्सन) गरी आयोजनाको पूर्ण जिम्मेवारी बहन गर्नेछ । ठेकेदारले ४२ महिनाभित्र आयोजना पूरा गर्ने, गुणस्तर कायम राख्ने र लागत नियन्त्रित राख्ने सुनिश्चितता दिनेछ । ‘ईपीसी मोडेलले समानान्तर रूपमा काम अगाडि बढाउने सुविधा दिन्छ । ड्याम र पावरहाउस निर्माण हुँदै गर्दा उपकरण खरिद, जडान र परीक्षण पनि सञ्चालन हुनेछन्,’ आयोजना प्रमुख घिमिरेले भने, ‘यसले परियोजनाको समय बचत गर्छ । जोखिम घटाउँछ र ठेकेदारले ढिला गर्ने वा लागत वृद्धि गर्ने बहाना कम हुन्छ ।’
















