दार्चुला – सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकेसँगै सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पनि निर्वाचनको तयारी तीव्रताका साथ अघि बढेको छ। निर्वाचनको तयारी स्वरूप मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य र नामावली अद्यावधिक गर्ने कार्यसँगै सुरक्षाको समेत तयारी भइरहेको हो। निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मतदान केन्द्रलाई तीन भागमा वर्गीकरण गरेर सुरक्षा गस्ती गराउने र सुरक्षा पट्रोल गर्ने कार्य भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

कात्तिक १२ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले मतदान केन्द्रको वर्गीकरण गरी गृह मन्त्रालयमा पठाइएको उनले बताए । सुरक्षा समितिको बैठकले जिल्लाभरिका मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा वर्गीकरण गरेको प्रजिअ पौडेलले बताए। दार्चुलाका १४१ मतदान केन्द्रमध्ये सुरक्षाको दृष्टिकोणले २२ वटा मतदान केन्द्रलाई अतिसंवेदनशील, ४१ मतदान केन्द्रलाई संवेदनशील र ७८ मतदान केन्द्रलाई सामान्यको सूचीमा राखिएको उनले बताए। २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा यहाँका १४ वटा मतदान केन्द्रलाई अतिसंवेदनशील केन्द्रका रूपमा राखिएको थियो।

मतदान केन्द्रको वर्गीकरण गर्दै सोही अनुसारको सुरक्षा योजना बनाइने जिल्ला सुरक्षा समिति संयोजक एवं प्रजिअ पौडेलले जानकारी दिए। भौगोलिक विकटता मतदाता र मतदान केन्द्रको दुरी र सुरक्षा पोस्टको पहुँच र गत विगतमा सम्पन्न भएका चुनावको समीक्षासहितका सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको उनले बताए। दार्चुलामा १४१ मतदान केन्द्र तथा ११२ मतदान स्थल रहेको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रदीपसिंह धामीले जानकारी दिए ।
यसैबिच दार्चुलामा पनि मतदाता नामावलीमा नाम दर्ता गराउनेमा उत्साह देखिएको छ। जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीका अनुसार मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य सुरु भएदेखि हालसम्म ९४३ जनाले मतदाता नामावलीमा नाम लेखाएका छन्। यसअघि ९० हजार ७८२ जना मतदाता थिए।















