काठमाडौंं – पहिलो संस्करणको अपार सफलतापछि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजबाट सुरु हुँदैछ । मंसिर १ गतेदेखि मंसिर २७ गतेसम्म आयोजना हुने एनपीएल–२ यसपटक फ्लडलाइटमा हुनेछ । गत संस्करणमा झैं ८ फ्रेन्चाइजी टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा गत संस्करणमै खेलेका आठै टोलीहरूले खेल्ने भएका छन् । जसमा, विजेता जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्ससँगै कर्णाली याक्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स, लुम्बिनी लायन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्ने भएका छन् ।

स्वदेश र विदेशका चर्चित अनुहारहरूले पनि खेल्ने भएको हुँदा एनपीएल–२ मा थप उत्साह थपिने देखिएको छ । तर, सबैभन्दा उत्साहित विषयचाहिँ यसपटक फ्लडलाइटमा खेलहरू सञ्चालन हुने हो । त्यसमाथि नयाँ निर्माण भएको प्यारापिटमा बसेर दर्शकले खेलको मजा लिने हुँदा यस पटकको एनपीएल २ निकै रोमाञ्चक र ऐतिहासिक बन्ने विश्वास लिन सकिन्छ ।
















