अत्तरिया– कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको गोदावरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार एक औपचारिक कार्यक्रमका बिच संस्थाको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष कृष्ण विकको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका उपप्रमुख शारदा देवी रोकाया रहेकी थिइन भने वशिष्ठ अतिथिमा गोदावरी नगरपालिका–११ का वडाध्यक्ष प्रेम सिंह बडैला र खानेपानी डिभिजन कार्यालय धनगढीका इन्जिनियर गणेश राज भट्ट रहेका थिए ।
२०७२ सालबाट सञ्चालनमा आएको सो संस्थामा हाल १ हजार २२० जना सदस्य रहेका छन् । नगरपालिका कार्यालय, वडा कार्यालय लगायतका संस्थाहरूको सहयोगले संस्थामा जेनरेटरको प्लेट फार्म र छाना निर्माण, सिसिटिभी जडान, मेन गेटमा कलर तथा लोगो स्थापना, ४ वटा गेट भल्भ मर्मत तथा जडान लगायतका कार्य भएको संस्थाका अध्यक्ष कृष्ण बि।क ले बताए ।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका उनले सो खानेपानीका कारण वडा नं। ११ र १२ का १०५३ भन्दा बढी घरधुरीले शुद्ध र सुरक्षित पानीको नियमित आपूर्ति पाएको समेत बताए । उनले आगामी दिनमा संस्थाको सुदृढीकरण गर्ने, मूल सडक नजिकका पाईपलाइनहरु व्यवस्थापन गर्ने तथा अटो पम्प–अटोमेशन प्रणाली जडान गर्ने योजना रहेको समेत बताए ।
साधारण सभामा संस्थाको आर्थिक तथा लेखापरिक्षण प्रतिवेदन संस्थाका प्रबन्धक रमेश कुमार बि।क। ले प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त सम्म ४६ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ । जसबाट संस्था थोरै भए पनि नाफा आर्जन गर्न सफल भएको प्रतिवेदनले देखाएको छ ।
संस्थाका उपाध्यक्ष कर्ण बहादुर बि।कले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव कुमार सिंह बडैलाले गरेका थिए ।


















