धनगढी – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले एमाले छाडेर मातृ भूमी अभियान चलाइरहेका नेता भीम रावल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेपछि एमालले कुनै क्षति व्यहोर्नु नपर्ने बताएका छन ।
प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले व्यर्होनुुपर्ने नोक्सानी व्यहोरिसकेकाले थप नोक्सान नहुने बताए । उनले रावलले पार्टी छाडेपछि तत्कालीन निर्वाचनमै एमालले व्यर्होनुुपर्ने नोक्सानी व्यहोरिसकेकाले थप नोक्सान नहुने जिकिर गरे ।

उनले जेनजी पुस्ताले २३ भदौमा गरेको शान्तिपूर्ण आन्दोलन हाइज्याक गरिएको बताए । उनले असंवैधानिक बाटोबाट संविधानले कल्पना नै नगरेको सर्वोच्च अदालतको पूर्व प्रधानन्यायाधिश प्रधानमन्त्री बनेर युवाका माग हाईज्याक र मुलुकलाई कमजोर बनाउने खेल भएको बताए ।

‘संविधानले सर्वोच्चका न्यायाधिश मानव अधिकार बाहेक कतै पनि नियुक्त हुन नमिल्ने व्यवस्था गरेको छ । तर अहिले प्रश्न गर्ने व्यक्ति सञ्चार मन्त्री, व्याख्याको पर्नःपुष्टि गर्ने व्यक्ति प्रधानमन्त्री भएर संविधानको खिल्ली उडाइएको छ,’ अधिकारीले भने, ‘यो सरकारले चुनाव पनि गराउदैन । गराउन आएको पनि होइन । नवयुवाको मागलाई हाइज्याक गर्ने, नेपाललाई कमजोर बनाएर भुटानीकरण, सिक्किमीकरण जस्तो गर्ने मनसायका साथ यी गतिविधि भएका हुन् ।’
सोही कारण संसद पुनःस्थापना गरेर भएपनि एकपटक प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्ने संवैधानिक व्यवस्था गरेर अघि बढ्नुपर्ने र देशलाई निकास दिने पक्षमा एमाले रहेको उनको भनाइ रहेको थियो ।
उनले अगामी महाधिवेशनले केपी शर्मा ओलीलाई नै पार्टी अध्यक्ष बनाउने बताए । ओली नै सर्वसम्मत अध्यक्ष बन्ने कुरामा शंका नभएको उनले बताए ।
उनले सर्वसम्मत अध्यक्ष नहुने अवस्थामा समेत स्वस्थ प्रतिस्पर्धा हुने बताउदै त्यसले पार्टीलाई कुनै नोक्सानी नहुने बताए ।
असंवैधानिक बाटोबाट बनेको अहिलेको सरकारले जनादेश लिन नचाहेको दाबी गर्दै अधिकारीले नेकपा एमाले चुनावसँग नडराएको दाबी समेत गरे । ठूलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोशाक पनि लुटिएको अवस्थामा भयरहित वातावरण बनाउने प्रमुख दायित्व सरकारको भएपनि त्यसतर्फ ध्यान नदिइएको बताए ।

















