डडेल्धुरा – डडेल्धुराको भागेश्वर गाउँपालिका–४ बगरकोटमा सात करोड रुपैयाँ लागतमा अत्याधुनिक सुविधासहितको स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । नयाँ भवन सञ्चालनमा आएपछि गाउँलेले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरेका छन् ।
बगरकोटस्थित पुरानो स्वास्थ्य चौकी भवन जीर्ण भई चुहिने अवस्थामा पुगेकाले सेवा सञ्चालनमा समस्या बढ्दै गएको थियो । यही कारणले गाउँपालिकाले जर्मन विकास बैंकको वैदेशिक ऋण अनुदानमा नयाँ भवन निर्माणको पहल गरेको हो ।

धनगढीस्थित उच्चाकोटी निर्माण सेवा प्रालिले उक्त भवन निर्माणको जिम्मा पाएको थियो । भ्याटसहित कुल लागत ७ करोड १७ लाख रुपैयाँ रहेको यस योजनाको सम्झौता २०८० फागुन ७ गते गरिएको थियो । २०८२ साउन ४ गतेभित्र निर्माण सक्ने म्याद तोकिएको भए पनि केही प्राविधिक कठिनाइका कारण काम केही पछाडि परेको ठेकेदार कम्पनीले जनाएको छ । कम्पनीले अबको दुई साताभित्र आयोजनालाई भवन हस्तान्तरण गर्ने तयारी गरेको छ । त्यसपश्चात् आयोजनाले पालिकालाई भवन हस्तान्तरण गर्ने छ ।

भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि बगरकोट र आसपासका बासिन्दाले स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने अवस्था अन्त्य हुनेछ । ‘यहाँ सम्भव भएसम्म एमबीबीएस चिकित्सकसहितको दक्ष जनशक्ति परिचालन गरी सेवा विस्तार गर्ने योजना बनाइरहेका छौं,’ उनले भने, ‘यसले भागेश्वर मात्र नभई छिमेकी पालिकाका जनतालाई समेत सेवा पुर्याउने अपेक्षा छ ।



















