काठमाडौँ – भारतको राजधानी नयाँदिल्लीको व्यस्त क्षेत्र लालकिल्लास्थित मेट्रो स्टेसननजिकै सोमबार साँझ भएको कार विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । हुन्डाईको आई २० कार विस्फोट घटनाबारे भारतीय सुरक्षा निकायले अनुसन्धान गरिरहेका छन् । मृतक केहीको सनाखत भएको छ ।
घटनाबारे दिल्ली क्राइम ब्रान्च, स्पेसल ब्रान्च, फोेरेन्सिक साइन्स ल्याब (एफएसएल), नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए)लगायत एजेन्सीहरूले अनुसन्धान थालेका छन् । दिल्ली पुलिसका आयुक्त सतिश गोल्छाले घटनाबारे भारतीय गृहमन्त्री अमित शाहलाई ब्रिफिङ गरेका छन् । तर, विस्फोट आंतकवादी हमला भए–नभएको भारतीय सरकारले घोषणा गरेको छैन ।


लालकिल्ला चोकको ट्राफिक बत्तीमा रोक्न धिमा गतिमा रहेको हरियाणा राज्यको नम्बरप्लेट रहेको कारमा विस्फोट भएको थियो । गोल्छाका अनुसार कारमा अन्य यात्रु पनि सवार थिए । विस्फोटमा आसपासका अन्य गाडी पनि क्षतिग्रस्त भएका छन् ।
दिल्ली प्रहरी र गुरुग्राम प्रहरीले कारधनी भनिएका मोहम्मद सलमानलाई नियन्त्रणमा लिएर कारसम्बन्धी सोधपुछ गरेका छन् । सलमानले उक्त कार ओखलामा बस्ने देवेन्द्र नामका व्यक्तिलाई बेचेकोे र उनले पनि अम्बालामा कुनै अन्य व्यक्तिलाई बिक्री गरेको खुल्न आएको छ । प्रहरीले ती सबैको खोजी गरिरहेको जनाएको छ ।
प्रहरीका अनुसार २४ जना घाइतेको लोकनायक अस्पतालमा उपचार भइरहेको छ । गृहमन्त्री शाह र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । मेट्रो स्टेसनको गेट नम्बर १ छेउमा पार्क गरिएको गाडीमा विस्फोट भएको टाइम्स अफ इन्डियाले जनाएको छ । घटना भएलगत्तै बारुण यन्त्रले आगो निभाएका थिए ।


















