अत्तरिया – कैलालीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागू औषध सहित ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिवार धनगढी, लम्की चुहा र भजनीबाट ८ जनालाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका – १३ झलारीबाट २३ वर्षीय प्रविन्द राना, २४ वर्षीय घुम्मन राना र १८ वर्षीय किशोर पक्राउ परेका छन् ।
शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ८० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।



यस्तै लम्की चुहा नगरपालिका – १ थपालिपुरबाट २४ वर्षीय दिनेश बुढा र ललित राना क्षेत्री पक्राउ परेका छन् । उनीहरूको साथबाट ४२० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
लम्की चुहा नगरपालिका – १ पायनियर्स बोर्डिङ स्कुल नजिकबाटै जानकी गाउँपालिका – ३ लायकपुरका २४ वर्षीय जगदीश साउद पनि पक्राउ परेका छन् । शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट १३० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
यसैबिच भजनी नगरपालिका – ९ पचमोडीयाबाट घोडाघोडी नगरपालिका – २ बनबासाका २५ वर्षीय डेबिड कठरीया र ३१ वर्षीय नरेन्द्र चौधरी पक्राउ परेका छन् । शङ्का लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ५४० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
















