धनगढी – विद्यार्थीहरूमा खेल भावना र प्रतिभा विकास गर्ने उद्देश्यले कैलालीमा ‘राइजिङ स्टार प्रिमियर लिग’ अन्तर विद्यालय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी मंसिर १८ गतेदेखि धनगढीस्थित कैलाली क्रिकेट मैदानमा सुरु हुने आयोजक राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कूलका प्रबन्धक निर्देशक कलेन्द्र शाहीले जानकारी दिए ।

पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको औपचारिक घोषणा गर्दै आयोजक संस्थाले कैलाली जिल्लाभरका कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरू सहभागी हुने बताए । प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका छात्रको टोलीले प्रतिस्पर्धा गर्नेछन् ।


विद्यालयस्तरमा विद्यार्थीहरूको प्रतिभा पहिचान र खेलप्रति रुचि अभिवृद्धि गर्नका लागि प्रतियोगिता आयोजना गरिएको शाहीले बताए । उनका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व र समूहगत सहकार्य गर्ने क्षमताको विकास गर्न सहयोग गर्नेछ ।
प्रतियोगितामा विजेता टोलीलाई आकर्षक ट्रफीका साथ नगद पुरस्कार पनि प्रदान गरिनेछ । पहिलो हुने टोलीले नगद २०,००० रुपैयाँ, दोस्रो हुनेले १०,००० रुपैयाँ, तेस्रोले ५,००० रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज), उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई पनि प्रमाणपत्र, ट्रफी र नगदसहित सम्मान गरिनेछ ।

















