बैतडी– बैतडीको मेलौली भगवतीमा लागेको जात्राबाट मेलौली धार्मिक सेवा समितिले २ लाख ८० हजार ५ सय २ रुपैयाँ आम्दानी गरेको छ । बिहिबार समितिले जात्रामा उक्त आम्दानी भएको विवरण सार्वजनिक गरेको हो ।
समितिका अध्यक्ष जगदीशसिंह नायकले जात्रामा सेवा समितिले व्यवसायिक स्टलबाट २ लाख ४ हजार ४ सय १५ रुपैयाँ आम्दानी गरेको बताए । यस्तै सेवा दर्ताबाट २९ हजार ७६५ रुपैयाँ, दानपेटीबाट १ हजार ३ सय ३० रुपैयाँ, सेवाभेटीबाट ४ हजार ७९२ रुपैयाँ आम्दानी भएको जनाइएको छ । यस्तै समितिको खातामा १३ हजार २ सय आम्दानी भएको अध्यक्ष नायकले बताए ।



जात्रामा भएको खर्चको विवरण भने केही दिनभित्रै सार्वजनिक गरिने समितिले जनाएको छ । जात्राको समयमा समितिले विभिन्न शीर्षकमा खर्च गरेको केही दिनभित्रै खर्च विवरण सार्वजनिक गरिने बताइएको छ ।
प्रसिद्ध मेलौली भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गर्दछ । बुधबार सम्पन्न भएको जात्रामा हजारौं भक्तजनहरुको सहभागिता रहेको थियो ।
यसैबीच मेलौली मन्दिर परिसरमा बिहिबार सरसफाइ गरिएको छ । जात्राको समयमा भएको फोहर व्यवस्थापनका लागि सरसफाइ गरिएको हो । इलाका प्रहरी कार्यालय तस्वदेहीको अगुवाइमा धार्मिक सेवा समिति, मणिलेक माविको राष्ट्रिय सेवा दलमा आवद्ध विद्यार्थी लगायतको सहभागितामा मन्दिर परिरसरमा सरसफाइ गरिएको मेलौली धार्मिक सेवा समितिका अध्यक्ष नायकले बताए ।



















