खाेज्नुहाेस

घरबाटै लखेटिएपछि मृत भेटिएका शेरबहादुरका आफन्तद्वारा न्याय नपाएको गुनासो

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० खमैरामा मध्यरातमा घरमै आएर मार्ने भन्दै ढोका तोड्न थालेपछि पछाडिको ढोकाबाट भागेपछि मृत फेला परेका शेर बहादुर चौधरीका आफन्तले न्याय नपाएको गुनासो गरेका छन् । असोज २३ गते राती २ बजे ढोकामा हान्दै मार्ने धम्की दिएकाहरूलाई कारबाही नगरी छोडिएको भन्दै आफन्तले सङ्घर्षका कार्यक्रम समेत घोषणा गरेका छन् ।

मृतककी भाइ बुहारी सलिना चौधरीले घटनामा प्रत्यक्ष संलग्न स्थानीय लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्ललाई कारबाही गर्नुको साटो छोड्ने काम गरिएको बताइन् । ‘२ जना घटनामा संलग्न थिए । अहिले एक जना (विकास मल्ल) लाई छोडिएको छ’ उनले भनिन् ‘किन एक जनालाई छोडियो । किन छोडियो भनेर पनि जानकारी दिइएन ।’ उनले एक जनालाई छुटाएको भन्दै अर्कोलाई पनि छुटाउन लागिपरेको बताइन् ।

add everest academy
attariya hospital

‘किन छोडियो भनेर सोध्दा पनि जवाफ पाइरहेका छैनौ’ उनले भनिन् ‘पुलिस पनि घटना भएको दिन पछि दोस्रो पटक घटनास्थलमा पुगेको छैन । घटनाको अनुसन्धान नै भएको छैन । उल्टै अपराधीलाई छोडिरहेका छन् । हामी अन्यायमा परेका छौ ।’ उनले सबै कुटपिट गरेर हत्या गरिएको शवको फोटोहरू हुँदा पनि पोस्टमार्टममा पनि सामान्य मृत्यु भनेर उन्मुक्ति दिने काम गरिएको बताइन् । ‘टाउकोमा चोट छ । खुट्टा भाँचिएको छ । ढुङ्गा लागेको डाम छ । चिरपल्टले हानेको डाम छ’ उनले भनिन् ‘यी सबै हुँदा पनि कसरी नर्मल रिपोर्ट निकालियो ?’ उनले पोस्टमार्टममा पनि मिलेमतो भएको आरोप लगाइन् । उनले गरिब भएका कारण आफूहरूले न्याय नपाएको बताइन् ।

मृतकका काका लाल बहादुर चौधरीले सुरु देखि नै प्रहरीको भूमिका शङ्कास्पद रहेको बताए । उनले खोलाबाट शव उठाउँदा आफन्तलाई जानकारी नदिई चार किल्ला समेत प्रमाणीकरण नगरी शव उठाइएको बताए । ‘शव उठाउँदा फोटो पनि खिच्न दिइएन, प्रहरी आफैले लुगा च्यातेर सामान्य हो भनेर शव उठाएर ट्याक्टरमा हालेर ल्याए’ उनले भने ‘भोलिपल्ट मुद्दा दर्ता गर्दा पनि अत्तरियाबाट धनगढी, धनगढीबाट अत्तरिया पठाउने काम भयो । हामी शव छोडेर आउन थालेपछि बल्लतल्ल किटानी जाहेरी लिइएको थियो ।’ उनले घटनामा प्रहरी प्रशासन र अदालतको मिलेमतो भएको बताए । उनले मंगलबार अदालतमा जाँदा मात्रै दोषीलाई छोडेको थाहा पाएको बताए । उनले पीडितले जसरी पनि न्याय पाउनु पर्ने बताए ।

navjiwan hospital

बुधवार न्यायको लागि माग गर्दै गोदावरी नगरपालिका स्तरीय भलमन्साहरुको बैठक बसेर सङ्घर्ष समिति निर्माण गरिएको छ । सङ्घर्ष समितिले बिहीबार इलाका प्रहरी कार्यालय मालाखेती घेराउ गर्ने, शुक्रवार जिल्ला अदालत कैलाली घेराउ गर्ने र धर्ना दिने कार्यक्रम राखेकोे सङ्घर्ष समितिका बाबुराम चौधरीले बताए । उनले यी कार्यक्रम गर्दा पनि न्याय नपाए अत्तरियामा अनिश्चित चक्काजाम गर्ने निर्णय गरिएको बताए ।

attariya technical collage

वडा नम्बर १० का वडाध्यक्ष रवीन्द्र शाही (गुड्डु) ले पीडितलाई न्याय दिलाउनका लागि आफूले नियमित पहल गरे पनि सुनुवाइ नभएको बताए । ‘न्यायका लागि छानबिन कहाँ पुग्यो । के के भइरहेको छ भनेर हामी २÷२ दिनको फरकमा चौकीमा आइरहेका छौ’ उनले भने ‘मृतकको शव भेटिएको ठाउँमा किटानी दिएकाहरूको मोबाइल नेटवर्क भेटिएको छ । मृतकको शरीरमा चोटपटक भेटिएको छ । खुट्टाको बोन नै टुटेको छ । तर, पोस्टमार्टम रिपोर्टमा भने केही देखाइएको छैन ।’ उनले न्याय दिने आश्वासन दिएर अन्तिममा आरोपित छोडिएको बताए । उनले जीवन भर दमनमा परेको चौधरी जातीलाई झन् पीडा दिने काम भइरहेको बताए ।

प्रहरीले असोज २३ गते राती २ बजे ढोकामा हान्दै मार्ने धम्की दिएका लोकेन्द्र र विकासलाई पक्राउ गरेको थियो । असोज २३ गते राती २ बजे ढोकामा हान्दै मार्ने धम्की दिएपछि पछाडिको ढोकाबाट भागका शेर बहादुरको भने असोज २४ गते घर नजिककै खोलामा शव फेला परेको थियो । उनको शव घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको थियो । त्यसपछि मृतकका आफन्तले घरको ढोकामा हान्दै मार्ने धम्की दिएका लक्की र विकासले नै शेरबहादुरलाई लखेटी लखेटी मारेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका छन् ।

सम्बन्धित समाचार : गोदावरीमा मध्यरातमा घरमै आएर मार्ने धम्की दिएपछि भागेका शेर बहादुरको मृत्यु, २ जना पक्राउ 

: शेरबहादुर मृत्यु प्रकरण, के के भएको थियो घटनाको दिन ?