बाजुरा – बाजुराको हिमाली गाउँपालिकाको पाँडीका किसानलाई सिमी भित्र्याउने चटारो परेको छ । वैशाख, जेठमा पाखो जमिनमा लगाएको सिमी पाकेपछि पानीले भिजाउँछ कि भन्ने डरले उनीहरूलाई भित्र्याउने चटारो परेको हो ।

पछिल्लो समय पाँडीका किसान प्रायः सिमी नै लगाउँछन् । यसलाई दालका रूपमा प्रयोग गरिन्छ । स्वास्थ्यका लागि निकै उपयोगी यो सिमीको माग धेरै बढेकाले किसानले पनि धेरै लगाउन थालेको पाँडीका स्थानीय जुना रोकायाले बताए ।
उनले भने “कोदोसँगै सिमी पनि पाकेको छ । कात्तिकमा धेरै पानी पर्दा त्यसले भिजाउँछ कि भन्ने डरले अहिले स्थानीयलाई सिमी भित्र्याउन भ्याइनभ्याइ छ ।”


यो अर्गानिक हुन्छ । उनका अनुसार भेडाबाख्राको पिसाब र जुतोमा सिमी उत्पादन हुन्छ । त्यसैले यसको माग धेरै बढेको छ । किन्नका लागि पनि अहिले गाउँमै व्यापारी आउने गरेको जुना रोकायाले बताए। पाखो जमिनमा धेरै राम्रो फल्ने भएकाले किसानले कोदोसँगै सिमी लगाउने गरेका छन् ।
यहाँको सिमी पहिला फाट्टफुट्ट जिल्लाको मार्तडी बजारसम्म पुग्ने गथ्र्यो । यसलाई कर्मचारी तथा अन्यले किन्थे । अहिले गाउँमा गाडी पुगेपछि जिल्लाबाहिर समेत बिक्री हुने गरेको छ ।
















