धनगढी – यस वर्ष कैलालीमा धानको उत्पादन घटेको छ । गत वर्ष जिल्लामा २ लाख ४६ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष घटेर २ लाख २९ हजार २सय ४५ मेट्रिक टन मात्रै उत्पादन भएको हो ।

यस बर्ष ५ देखि ७ प्रतिशतले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेकबहादुर बिष्टले बताए । उनले भने ‘पर्याप्त वर्षा नहुँदा समयमै रोपाई हुन सकेन, त्यसका कारण उत्पादनमा असर पुगेको छ । विद्युतको पावर अभावका कारण पम्पबाट पानी तानेर रोपाई गर्न सकिने अवस्था थिएन ।’ धान रोपिसकेपछि किसानहरूले पर्याप्त मल नपाएका कारण पनि उत्पादन घटेको उनले बताए ।


उनले भने, ‘लामो समय खडेरी र दोस्रोपटक पनि मलको अभावले उत्पादनमा गिरावट आएको हो ।’ कैलालीमा ९३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ७२ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले कैलालीमा एक हजार चार सय नौ क्विन्टल धान खरिद गरेको छ । गत बुधबारबाट धान खरिद सुरु गरेकोे खाद्य कम्पनीले जिल्लाका विभिन्न धान खरिद केन्द्रबाट आइतबारसम्म उक्त धान खरिद गरेको हो । कार्यालय प्रमुख दीपक थापाका अनुसार खाद्य कम्पनीले जिल्लाको मोहनपुर, गौरीगंगा, टीकापुर, सत्ती, भजनी र जोशीपुरमा खरिद केन्द्रबाट धान खरिद गरिरहेको छ ।
मोहनपुरबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले आइतबारबाट सबै खरिद केन्द्रबाट धान खरिद गरिरहेको उनले जानकारी दिए । जिल्लामा मोटा धान खरिद गरिहेको खाद्यले सरकारले निर्धारण गरेको न्युनतम समर्थन मूल्यमा किसानबाट धान खरिद भइरहेको उनले बताए । नेपाल सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु ३ हजार ४६३.८१ निर्धारण गरेको छ ।
खाद्यले जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरेको छ । खाद्य कम्पनीले धान खरिद सुरु गरेसँगै किसानलाई ठूलो राहत भएको छ । यसअघि किसान सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य बाध्य भएका थिए ।
















