खाेज्नुहाेस

अफगानिस्तानमा भूकम्पमा परि मृत्यु हुनेको संख्या २४ पुग्यो

Image

काठमाडौँ । सोमबार बिहान उत्तरी अफगानिस्तानमा गएको ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । भूकम्पका कारण मान्छेहरू घाइते हुनुका साथै कतिपय स्थानमा पहिरो खसेको र घरहरू ध्वस्त भएका छन र प्रमुख यातायात मार्ग अवरुद्ध भएका छन् । समानगन प्रान्तको खुल्म क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्प २८ किलोलमिटरको गहिराइमा गएको थियो । कम्पनका कारण बाल्ख, समानगन, सार–ए–पोल, बागलान र कुन्दुजसहित पाँच प्रान्तमा ठूलो क्षति पुगेको अधिकारीहरूले जनाएका छन् ।

navjiwan hospital

काबुल र उत्तरको प्रमुख शहर मजार–ए–शरीफको बीचमा पर्ने समानगनका पहाडी क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएको बताइएको छ । त्यहाँका अधिकांश घर माटो–इँटाले बनेका कम तल्लाका संरचना भएकाले धेरै घर भत्किएका छन् भने धेरै नागरिक भग्नावशेषमा पुरिएका छन् । भूकम्पमा आफ्नो घरसँगै बुहारी गुमाएका स्थानीय गुलाबुद्दिनले आफूहरूको अवस्था एकदम नाजुक रहेको बताए । ‘राति करिब १ बजेतिर भूकम्प गएपछि म बाहिर निस्किन भ्याएँ तर मेरी बुहारी ज्यान जोगाउन सकिनन् । उनी गर्भवती थिइन, बिहे भएको १० महिना मात्र भएको थियो । सबै नष्ट भयो, अब जान पनि कहीँ छैन, घर बनाउन पनि केही छैन’ उनले भावुक हुँदै भने ।

add everest academy
attariya hospital

चाइना मिडिया ग्रुपका पत्रकारले खिचेका दृश्यमा काबुल–मजार राजमार्गमा ठूलाठूला चट्टान र भग्नावशेषले सडक अवरुद्ध भएको देखिन्छ । कतिपय सवारी साधन पुरिएका छन् र धेरै यात्रुहरू बीचमै अलपत्र परेका छन् । अफगान स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार आकस्मिक उद्धार टोली प्रभावित क्षेत्रहरूमा पुगिसकेका छन् । क्षेत्रभरका अस्पताललाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ ।

अफगानिस्तान युरेसियन र भारतीय प्लेटको ठोक्किने क्षेत्र नजिक रहेको हुँदा विश्वकै उच्च भूकम्पीय जोखिमयुक्त क्षेत्रमध्ये एक हो । यसअघि पनि यस वर्ष, अगस्ट ३१ मा अफगानिस्तानको पूर्वी भागमा ६ रेक्टर स्केलको भूकम्प जाँदा २,२०० भन्दा बढीको मृत्यु भएको थियो । उथलो केन्द्र र पहाडी भू–भागका कारण ठूलो धनजन क्षति भएको थियो । सन् २०२३ को अक्टोबरमा उत्तरपश्चिम क्षेत्रमा गएको शक्तिशाली भूकम्पहरूले समेत हजारौँको ज्यान लिएको इतिहास छ ।