अत्तरिया – कैलालीको धनगढीमा रहेको जखौर ताल लथालिङ्ग बनेको छ । तालको वरपर हिँड्न बनाइएको फुटपाथ झाडीले ढाकिएको छ भने तालमा घाँस र जलकुम्भीले उम्रिएको छ । ताल क्षेत्रमा घुम्न दैनिक जसो मानिसहरू आउने गरेका भए पनि तालमा पानी पनि नदेखिने अवस्था हुँदा हेर्न आएका पर्यटक पनि अचम्मित हुने गरेका छन् । तालमा घुम्न पुगेकी चौमालाकी श्रेया भट्टले ताल देखेर अचम्म लागेको बताइन् । पहिलो पटक ताल हेर्न पुगेको बताउने उनले तालमा पानी नै नदेखेपछि अचम्म लागेको बताइन् ।
‘ताल पुरै घाँसले भरिएको रहेछ । तालमा पानी नै छैन । यो कस्तो ताल हो’ उनले भनिन् ‘धनगढीमा भएको ताल यस्तो अवस्थामा नहुनुपर्ने हो ।’ धनगढी उपमहानगरपालिका – ७ देवरीयामा रहेको वनस्पति अनुसन्धान केन्द्रको वनस्पति उद्यान सँगै रहेको तालमा लामो समय देखि सरसफाइमा ध्यान नदिँदा कुरुप बनेको स्थानीय बताउँछन् । १२ दशमलव ५५ हेक्टरमा फैलिएको जखौर तालमा अहिले पुरै जलकुम्भी र घाँसले भरिएको छ । तालको वरपर घुम्नको लागि बनाइएको फुटपाथ सँगै बस्नका लागि राखिएका स्टुल पनि झाडीले ढाकिएका छन् ।



वनस्पति कार्यालय धनगढीका प्रमुख गङ्गादत्त भट्टले बजेट अभावका कारण तालको सरसफाइ गर्न नसकिएको बताए । तालमा उम्रिएको कमल हटाउने वा नहटाउनेमा फरक फरक मत भए पनि तालमा उम्रिएको जलकुम्भी र फुटपाथको झाडी भने बजेट अभावका कारण हटाउन नसकिएको उनले बताए । उनले २/३ दिन देखि फुटपाथ भने सफा गर्न सुरु गरिएको बताए ।

‘फुटपाथ सफा गर्न मान्छे लगाएका छौ । यो वर्ष संघीय सरकारबाट बजेट काटिएर आएको हुनाले वर्षमा २ पटक मात्रै सफा गर्ने भनेर ३ दिन देखि मान्छे लगाएका छौ’ उनले भने ‘यसअघि वर्षमा ४ पटक सम्म ताल वरिपरि सरसफाइ गर्ने गरेका थियौ । यो वर्ष कम बजेट भएकाले अहिले र चैत्रमा मात्रै सफा गर्न योजना बनाएका छौ ।’ उनले अघिल्लो वर्षहरूमा बर्सात पछि साउन–भदौ तिर पनि सफा गर्ने गरिएकोमा यस वर्ष बजेट अभाव भएका कारण सफाइ गर्न नसकिएको बताए । उनले उद्यानमा भएका जनशक्तिले ताल सफा गर्न सक्ने अवस्था नभएको बताए ।


उनले तालमा जलकुम्भी हटाएर कमल मात्रै रहेको भए पनि बर्सातको समयमा पुनः जलकुम्भी उम्रिन थालेको बताए । उनले तालमा कमल पनि धेरै उम्रिएकाले पानी नदेखिएको बताए । ‘तालमा कमल हटाउने या नहटाउने भन्नेमा दुई मत रहेको छ । जैविक विविधता बचाउनु पर्छ भन्ने मान्छेले कमल रैथाने हो । यो मिच्नु हुँदैन । रहन दिनु पर्छ भन्ने गरेका छन् । कमल सँगै जलीय पंक्षी पनि हुने भएकाले यसलाई जोगाउनु पर्छ भन्ने हाम्रो उद्देश्य भित्र पर्छ’ उनले भने ‘ताल हेर्न आउने कतिपयले भने तालमा पानी मात्रै देखियोस् भन्ने हुन्छ ।’
उनले अहिले तालमा ५० भन्दा बढी प्रजातिको चराहरूको वासस्थान रहेको बताउँदै कमल नहुँदा ती चरा प्रभावित हुने बताए । उनले चराहरू कमलको पातमा बस्ने र त्यही प्रजनन गर्ने गरेको बताए । उनले कमल ठिक्कको भए राम्रो हुने भए पनि अहिले धेरै हुँदा के गर्ने भन्ने टुङ्गोमा नपुगेको बताए । उनले तालमा जलकुम्भी या झाडी हुँदा पानी हराएर नोक्सान पुग्ने भए पनि कमल हुँदा भने त्यस्तो क्षति नपुग्ने बताए । ताल लथालिङ्ग बने पनि वनस्पति अनुसन्धान केन्द्र मातहतमा रहेको यो ताल प्रवेश गर्न भने सर्वसाधारणले २० रुपैयाँ शुल्क तिर्नु पर्छ ।
















