अत्तरिया – सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले पुस्तकालय समृद्ध भए मात्र समाज सुदृढ बन्ने बताएका छन् । शनिवार अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको १६ साधारण सभा तथा चुनावी अधिवेशनको उद्घाटन गर्दै उनले समुन्नत समाजका लागि सार्वजनिक पुस्तकालय अपरिहार्य रहेको बताए ।
उनले पुस्तकालय ज्ञानको भण्डार भएको बताउँदै प्रतिभा सामुदायिक पुस्तकालयले अत्तरियामा रहेर ज्ञान र चेतनाको क्षेत्रमा महत्त्वपूर्ण कार्य गरिरहेको बताए । उनले सरकारले प्रत्येक वडामा सार्वजनिक पुस्तकालय स्थापना गर्ने नीति लिनु आवश्यक रहेको बताए । उपकुलपति जोशीले पुस्तकालयलाई राजनीतिक क्रीडा स्थल बनाउनबाट मुक्त राख्नु जरुरी भएको बताउँदै शिक्षा प्रेमी, संस्कृति प्रेमी र सकारात्मक सोच भएका व्यक्तिले यसको नेतृत्व लिनु पर्ने बताए । पुस्तकालय समृद्ध भए मात्र समाज सुदृढ हुने उनको भनाइ थियो ।



प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पूर्व मेयर हरिसिंह साउँद, पूर्व उपमेयर रत्ना कडायत, गेटा मेडिकल विश्वविद्यालयका सभा सदस्य डा. डम्मर पाल, दुर्गालक्ष्मी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गिरीराज कडायत, पुस्तकालयका उपाध्यक्ष योगेन्द्र हमाललगायतले शुभकामना राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष पुष्पराज जोशीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष धर्म कुँवरले लेखा प्रतिवेदन पेस गरेका थिए ।
सम्बन्धीत समाचार : प्रतिभा पुस्तकालयको अध्यक्षका लागि ३ जनाको उम्मेदवारी


















