डडेल्धुरा– सुदूरपश्चिमको बहुचर्चित र सबैभन्दा ठूलो जलविद्युत् आयोजनाका रूपमा रहेको पश्चिम सेती जलविद्युत् आयोजना सञ्चालनका लागि प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । ८०० मेगावाट क्षमताको सो आयोजना सञ्चालनका लागि भारतीय कम्पनी नेशनल हाइड्रोपावर कर्पोरेशन (एनएचपीसी) ले प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु गर्ने भएको हो ।
कम्पनीले एक सूचना प्रकाशन गर्दै पश्चिम सेती परियोजनाको प्रदेशका विभिन्न स्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम हुन लागेको जानकारी दिएको छ । वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ अनुसार वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए) को मस्यौदा प्रतिवेदन बनाउनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम हुन लागेको कम्पनिले जनाएको छ ।



उक्त कार्यक्रमहरु कार्तिक १८ गतेदेखी सुरु भएर कार्तिक २४ गते सम्पन्न हुने सूचनामा उल्लेख छ । सूचना अनुसार कार्तिक १८ गते बझाङको केदारस्युँ गाउँपालिकास्थित देउरा बजार र थलारा गाउँपालिका– १ रेगममा कार्यक्रम सञ्चालन हुनेछ । त्यसपश्चात कार्तिक २० गते डोटीको सायल गाउँपालिका– १ धरमघर र बैतडीको सिगास गाउँपालिका– ५ ढुंगाडमा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ । त्यस्तै कार्तिक २२ गते डोटीको शिखर नगरपालिका– १० बानेडुग्रीसैन र आर्दश गाउँपालिका– ५ तलारासेरामा तथा कार्तिक २४ गते डडेल्धुराको नवदुर्गा गाउँपालिका– ४ शिरोडमा कार्यक्रम आयोजना हुने भएको छ ।
पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्न २०५४ सालमा अस्ट्रेलियाको स्मेक कम्पनीले झन्डै डेढ दशकसम्म ओगटेर राखेको थियो । सो कम्पनीले काम अघि बढाउन नसकेपछि सरकारले स्मेकसँग सम्झौता तोडेको थियो । सो जलविद्युत् आयोजना निर्माण गर्नका लागि २०६८ सालमा चीनको थ्री गर्जेजसँग सरकारले समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । सो कम्पनीले पनि निर्धारित समयमा वित्तीय व्यवस्थापन गर्न नसकेपछि आयोजना निर्माणबारे अन्योल नै थियो । २०७९ साउन २३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको समुपस्थितिमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष एके सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
आयोजना सम्पन्न हुने अपेक्षा

लामो समयको प्रतिक्षापछि सार्वजनिक सुनुवाई कार्यक्रम हुन लाग्दा स्थानियहरुले आयोजना सम्पन्न हुने अपेक्षा लिएका छन् । पश्चिम सेती जलविद्युत् आयोजना सुदूरपश्चिमको समग्र विकासका लागि अत्यन्त महत्वपूर्ण भएकाले यसको सम्पन्नताले सुदूरपश्चिमको विकासमा नयाँ अध्याय थपिने विश्वास लिईएको छ । पश्चिम सेती परियोजना निमार्णले गति लिन सकेमा यसवाट विद्युत् उत्पादनका साथै वृहत् रोजगारीको समेत अवसर रहने कुरामा स्थानीयहरू आसावादी छन् ।
 
					 
 





 
 
 





 
 





