भरतपुर – भरतपुर, कात्तिक १४ गते । चितवनमा बिहिबार राति भएको यात्रुवाहक बस दुर्घटनामा ३३ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा इट्टा लोड गरेर पार्किङ गरी राखिएको ट्रकमा दुई यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको हो ।

सशस्त्रका सह–प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार अनुसार गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ०१२३ नम्बरको डल्फिन यात्रुवाहक बस र जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुवाहक बस क्रमशः ना.६ख ८१३ नम्बरको ट्रकमा ठोक्किएका हुन् । दुर्घटना गएराति करिब पौने २ बजे (१ः४५) भएको प्रहरीले जनाएको छ ।


दुर्घटनापछि बस सडकमा पल्टिएर बाटो अवरुद्ध भएपछि सशस्त्र प्रहरी निरीक्षक सन्दिप भट्टको कमाण्डमा पुगेको टोलीले उद्धार गरी बिहान २ः५५ बजे एकतर्फी सुचारु गरेको हो । दुर्घटनामा घाइते भएकाहरूलाई तत्कालै उद्धार गरी चितवनका विभिन्न अस्पतालहरूमा उपचारका लागि पुर्याइएको छ ।
 
					 
 





 
 
 





 
 







