खाेज्नुहाेस

जेनजी पुस्ताको निसानामा स्थानीय सरकार, सुदूरपश्चिमका तीन पालिकामा तालाबन्दी

Image

अत्तरिया – पालिकाहरूमा सुशासन, पारदर्शिता, जबाफदेहिता, भ्रष्ट्राचार अन्त्य, विकास निर्माण लगायतका माग राख्दै जेनजी पुस्ताका युवाहरू पालिका सरकारलाई खबरदारी गर्न थालेका छन् । जेनजी पुस्ताको आन्दोलनका क्रममा संघीय सरकार नै ढलेर अहिले जेनजी समर्थनकै सरकार बनेको बेला पालिकाहरूमा जेनजी पुस्ताका युवाहरू एक जुट भएर विभिन्न माग राख्न थालेका हुन । जसका कारण हाल सुदूरपश्चिमका तीन पालिकामा माग सुनुवाइ नभएको भन्दै तालाबन्दी गरिएको छ ।

बधुबार मात्रै जेन जी पुस्ताका युवाहरूले माग सुनुवाइ नगरेको भन्दै डोटीको पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी गरेका छन् । यसअघि मंगलबार जेनजी पुस्ताले आफ्ना मागको सुनुवाइ नभएको भन्दै बझाङको मष्टा गाउँपालिका तालाबन्दी गरेको थियो । जुन तालाबन्दी बुधवार पनि खुलेन ।

add everest academy
attariya hospital

आफ्ना माग सुनुवाइ नभएको भन्दै शुक्रवार (असोज २४ गते) बैतडीको सुर्नया गाउँपालिकामा पनि तालाबन्दी गरिएको थियो । उक्त तालाबन्दी पनि बुधवार सम्म खुलेको छैन । यस्तै बैतडीकै पञ्चेश्वर गाउँपालिकामा पनि जेनजी पुस्ताका युवाहरूले आफ्ना माग राख्दै ७ दिने अल्टिमेटम दिएका छन् ।

पूर्वीचौकी गाउँपालिकामा जेजी पुस्ताका युवाहरूले विकास निर्माण लगायतका ४७ बुँदे मागमा छलफल गर्दा जनप्रतिनिधिले अनावश्यक दबाब दिएको भन्दै तालाबन्दी गरेको बताएका छन् । स्थानीय युवा विष्णु खड्काले मागका विषयमा मंगलबार दिनभरि छलफल गरिएको र बुधवार पनि निष्कर्ष निकाल्ने गरी छलफल गर्न खोजे पनि गाउँपालिकाका जनप्रतिनिधिले विभिन्न सर्त राखेपछि वार्ता हुन नसकेपछि तालाबन्दी गरिएको बताए । उनले अघिल्लो दिन वार्ता गरेर गएको टोली दोस्रो दिन आउँदा ५ जना मात्रै आउनु पर्ने, वार्ता पारदर्शी गर्न आनाकानी गरेपछि तालाबन्दी गरिएको बताए ।

navjiwan hospital

उनले दिनभरि प्रयास गर्दा पनि वार्ताको माहौल नबनेपछि तालाबन्दी गरिएको बताए । उनले माग पुरा गर्न वार्ताको वातावरण नबनेसम्म तालाबन्दी जारी रहने बताए ।
यसैबिच कर्मचारीले कार्यालयको दैनिक कामकाज गर्न असहज अवस्था सिर्जना भएको भन्दै पालिका भरीको कामकाज स्थगन गरेका छन् । बुधवार कर्मचारीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै कामकाज स्थगन गरिएको जनाएका छन् ।

attariya technical collage

मष्टा गाउँपालिकामा पनि जेन जी पुस्ताका युवाहरूले अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् । आफूहरूले राखेका मागको सुनुवाइ नभएका कारण कार्यालयमा तालाबन्दी गरिएको जेन जी समूहका संयोजक हिमाल खड्काले बताए । उनले मष्टा गाउँपालिका– १ मा रहेका विभिन्न समस्याहरूको समाधानका लागि गाउँपालिकासँग माग राख्दा जिम्मेवार निकायले मागको बेवास्ता गरेकाले तालाबन्दी गरिएको बताए ।

उनले माग सम्बोधन नभएसम्म तालाबन्दी यथावत् रहने बताए । उनीहरूले वडामा खानेपानी, सडक, पातलगडामा पुल, विद्युत, सहकारीले हिनामिना गरेको रकम फिर्ता गरी सहकारीलाई कारबाही गर्नुपर्ने र गाउँपालिकामा रहेका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने लगायतका मागहरू राखेका छन् । पालिका अध्यक्ष ज्ञान बहादुर बोहराले आफू काठमाण्डौंमा भएको र बिहीबार पालिकामा पुगेर ताला खुलाउने विषयमा छलफल गर्ने बताए ।

असोज २४ गते तालाबन्दी गरिएको सुर्नया गाउँपालिकाको ताला खुलाउने प्रयास जारी रहेको पालिका अध्यक्ष अम्मर बहादुर कुँवरले बताए । उनले जेनजी पुस्ताकै नाममा पालिकामा तालाबन्दी गरिएको बताए ।

सुर्नया गाउँपालिकामा शुक्रवार बसेको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय जेन जी पुस्ताका युवाहरूले आफ्ना विभिन्न माग राख्दै पालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । तालाबन्दी पछि सार्वजनिक सुनुवाइ कार्यक्रम पनि स्थगित भएको थियो । युवाहरूले पटक पटक गाउँपालिकालाई सूचना माग गर्दागर्दै उपलब्ध नगराएको भन्दै विरोध जनाएका थिए । उनीहरूले कार्यपालिकाका निर्णयहरू, जनप्रतिनिधिले प्रयोग गर्दै आएको सवारीसाधन खर्च, घर भाडा खर्च, वडामा भएका मसलन्द खर्चको नाममा भएको १३ लाख बढीको पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।