अत्तरिया– कैलालीको धनगढी– अत्तरिया ६ लेन सडक अन्तरगत गोदावरी नगर क्षेत्र भित्र स्ट्रिट लाइट (सडक बत्ती) सञ्चालनमा आएका छन् । नगरपालिकाको अत्तरिया चौराहा देखि गेटा आरपि फ्लोर मिलसम्म ५.७ किलोमिटर क्षेत्रमा जडान गरिएका सडक बत्तीहरू सञ्चालनमा आएका हुन् ।
नगरपालिकाले सो क्षेत्रमा सडक बत्ती जडान गर्नका लागि २०७९ फागुन १९ गतेको कार्यपालिका बैठकबाट निर्णय गरेको थियो । सो निर्णयका आधारमा नगरपालिकाले नेपाल विद्युत् प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना काठमाण्डौ सँग लागत साझेदारी गरेको थियो । आयोजनाले नगरसँगको लागत साझेदारीमा ठेक्का आह्वान गरी कार्य सम्पन्न गरेको हो । यसअघि भदौ पहिलो हप्ता नै सडक बत्ती बाल्ने निर्माण कम्पनीले बताएको भए पनि भदौ अन्तिमतिर मात्रै सडक बत्ती सञ्चालनमा आएका थिए ।



निर्माण कम्पनीले प्राविधिक कारणले केही ढिलाइ हुन गएको बताएको छ । निर्माण कम्पनी सूर्योदय ऊर्जा प्रालिका इन्जिनियर रविन महतोले जडानको कार्य पुरा भइसके पनि बत्ती सुचारु गर्न केही समय लागेको स्वीकार गरे । उनले बत्तीको मिटर ल्याउनमा १०/१२ दिनको समय लागेको र त्यसपश्चात् जेनजीको आन्दोलनका कारणले सञ्चालनमा ढिलाइ भएको बताए । ‘सो अवधिसम्म हामीले जडानको काम लगभग सम्पन्न गरिसकेका थियौ’ उनले भने ‘तर विद्युत् मिटर दिन नगरपालिकाले केही समय लगायो र त्यसपछि आन्दोलन ले गर्दा ढिला भयो ।’ उनले विद्युत् सञ्चालनमा आइसकेकाले अबको केही समयमा आयोजनालाई हस्तान्तरण गरिने बताए । ‘सडक बत्ती जडान तथा सञ्चालनको कार्य सकिसकेको छ, अहिले टेष्टिङ पिरियड भएकाले खराब लाइटहरू मर्मत गर्ने लगायतका काम भइरहेका छन्’ उनले भने ‘यो पिरियडका कार्यहरू राम्ररी सम्पन्न भएपछि हामीले आयोजनालाई हस्तान्तरण गर्छौ ।’
अत्तरिया चौराहा देखि गेटा आरपि फ्लोर मिलसम्म १८३ वटा पोलहरू राखिएका छन् । जसमध्ये अत्तरिया बजारदेखि मनेहरा पुलसम्म ९६ वटा पोलहरू राखिएको छ भने मनेहरा पुल देखि गेटा ट्राफिक पोस्टसम्म २३ वटा पोलहरू राखिएको छ । त्यसपछि नगरको क्षेत्रसम्म ६४ वटा पोलहरू राखिएको छ । ती सबै पोलका दुवैतर्फ १२० वाटका स्मार्ट बल्बहरू जडान गरिएका छन् । इन्जिनियर महतोले आयोजना कार्यालयसँगको सम्झौता अनुसार फिलिप्स कम्पनीका बल्बहरू लगाइएको र उक्त बल्बहरू आधुनिक प्रविधिको स्मार्ट बल्बहरू रहेको बताए ।
उनले उक्त बल्बहरूलाई आवश्यकता अनुसार सफ्टवेयरको माध्यमबाट कम बढी पनि गर्न मिल्ने बताए । ‘विद्युत् खपत घटाउनका लागि यी बल्बहरू उज्यालो बढी चाहिएको समयमा बढी र कम चाहिएको समयमा कम बाल्न सक्छौ, त्यो कार्य सफ्टवेयर बाट हुन्छ’ उनले भने ‘अहिले टेष्टिङ पिरियड चलिरहेकाले फुल वाटमा बालेका छौ, पछि नगरले भने बमोजिम सफ्टवेयरमा मिलाएर दिन्छौ ।’ उनले सो बल्बहरू बिग्रेमा ५ वर्षसम्म निर्माण कम्पनीले जिम्मेवारी लिने समेत बताए ।

नगरको सो क्षेत्रमा सडक बत्ति जडान गर्नका लागि ३ करोड २ लाख ४० हजार ६८३ रुपैयाँ लागत लाग्ने अनुमान गरिएको थियो । जसका लागि नगरको ६५ र सडक बत्ती प्रवद्र्धन आयोजनाको ३५ प्रतिशत लगानी रहने सम्झौतामा उल्लेख गरिएको थियो । सम्झौता अनुसार सडक बत्ती जडानका लागि नगरले अनुमानित लागतको ६५ प्रतिशत अर्थात् १ करोड ९६ लाख ५६ हजार ४०० रुपैयाँ आयोजनालाई बुझाएको थियो । निर्माणमा लागत साझेदारी भए पनि सडक बत्तीहरूले खपत गर्ने बिजुलीको बिल भने नगरपालिकाले तिर्नेछ ।
















