अत्तरिया – कैलालीको बाह्रवन साझेदारी वनमा करिब १२ वर्ष अघि कटान गरिएको काठ अझै बिक्री हुन सकेको छैन । आर्थिक वर्ष २०७१÷७२ मा कटान गरिएको काठ बिक्री नहुँदा अहिले वनमै कुहिरहेको छ । बाह्रवन साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्यविधि लागू गरिएको थियो । वनमा काटेको राम्रो (ए र बी ग्रेड) काठ तत्काल बिक्री भए पनि ‘सी’ र ‘डी’ ग्रेडको काठ अझै वनमै रहेको छ ।
बाह्रवन साझेदारी वन समितिका अध्यक्ष वीरबहादुर चोखालले वनको किचलोका कारण अहिले पनि काठ बिक्री हुने अवस्था नरहेको बताए । उनले काठको पुनः मूल्याङ्कन र पुनः ग्रेडिङका लागि फाइल तयार गरेर वनमा बुझाएको भए पनि प्रक्रिया अगाडि नबढेको बताए । उनले यसअघि पनि पटक पटक काठ बिक्रीका लागि बोलपत्र आह्वान गर्दा पनि ठेकेदारले खरिद गर्नका लागि चासो नदिएको बताए ।



लिलाम नभएपछि अहिले करोडभन्दा बढी मूल्यको काठ वनमै कुहिन थालेको उनले बताए । ‘म अध्यक्ष भएपछि काठको अवस्था हेर्न गएका थियौ । धेरै जसो कुकाठ कुहिएर माटो बनिसकेको छ, धेरै ठाउँमा त माटो पनि फेला परेन’ उनले भने ‘१३ हजार क्युफिट कुकाठ त माटो बनिसकेको छ । १२÷१३ हजार क्युफिट सालको काठ पनि पुरै बिग्रिसकेको छ । त्यो दाउरा बनाएर पनि बिक्री गर्न नमिल्ने रहेछ ।’ चोखाल यसै वर्ष वैशाखमा भएको निर्वाचनबाट अध्यक्षमा चुनिएका थिए ।
लिलाम गर्दा बिक्री हुन नसकेको काठ वनमै रहेमा ७ देखि १० वर्षपछि मात्रै पुनः मूल्याङ्कन र पुनः ग्रेडिङ गर्न मिल्ने नेपाल सरकारको वन ऐनमा व्यवस्था छ । सुरुमा बिक्रीका लागि गरिएको रजिस्टरमा २७ हजार क्युफिट काठ रहेको उल्लेख छ । अहिले धेरै काठ कुहिएकाले पुनः मूल्याङ्कन र पुनः ग्रेडिङका लागि वन कार्यालयमा फाइल पेस गरेको अध्यक्ष चोखलले बताए ।
उनले पुनः ग्रेडिङ गरेमा धेरै जसो काठ ‘डी’ ग्रेडमा समेत बिक्री नहुने अवस्था रहेको बताए । ‘सी’ ग्रेड काठको प्रति क्युफिट ९ सय र ‘डी’ ग्रेड काठको प्रति क्युफिट ७ सय बिक्री मूल्य रहेको छ । बाह्रवन साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्य थालिएपछि व्यापक भ्रष्टाचार भएको कुरा पनि बाहिरिएको थियो । भ्रष्टाचार भएको कुरा बाहिरिएपछि २०७५ सालमा तत्कालीन प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले अनुगमनसमेत गरेको थियो । बाह्रवन साझेदारी वन रहेकाले यस वनमा उपभोक्ता, स्थानीय सरकार, नेपाल सरकारको साझेदारीमा काम हुने गरेको जनाइएको छ ।
















