अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा साढे ९ करोड क्षति भएको छ । यही भदौ २४ गते जेन जीको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट नगरपालिकामा ९ करोड ५३ लाख बढीको क्षति भएको हो ।
नगरपालिकाका जिन्सी शाखा प्रमुख गणेश पनेरुका अनुसार नगरपालिका कार्यालयको कुल क्षति ९ करोड ५३ लाख ६२ हजार ३४ रुपैयाँ रहेको छ । नगरपालिकाका मुख्य गरी शिक्षा, स्वास्थ्य र जिन्सी शाखा जलेर तहसनहस भएका थिए । स्वास्थ्य शाखामा औषधीजन्य सामानहरू रहेकाले बढी क्षति भएको पनेरुले बताए । उनका अनुसार नगरपालिकाको स्वास्थ्य शाखामा मात्रै औषधीजन्य लगायतका सामान जल्दा ९२ लाख ४८ हजार ८६० रुपैयाँको क्षति भएको छ । ‘स्वास्थ्य शाखाले गरेको मूल्याङ्कनका आधारमा सो क्षति हामीलाई प्राप्त भएको छ’ उनले भने ‘सबै औषधीजन्य सामान जलेर नष्ट भएका छन्, त्यसबाहेक केही अन्य सामाग्री पनि होलान् ।’


उनले स्वास्थ्य शाखाको बाहेक जिन्सी शाखामा खर्च भएर जाने र खर्च भएर नजाने गरी ३ करोड ६४ लाख १३ हजार १७४ रुपैयाँ बराबरको क्षति भएको बताए । ‘जिन्सीमा खर्च भएर जाने र खर्च भएर नजाने गरी २ प्रकारका सामान हुन्छन्’ उनले भने ‘जस अनुसार खर्च भएर जाने सामानमा ६५ लाख ६५ हजार १८१ रुपैयाँ बराबरको क्षति भएको छ भने खर्च भएर नजानेमा भने २ करोड ९८ लाख ४७ हजार ९९३ रुपैयाँ बराबरको क्षति भएको छ ।’ उनले जिन्सी शाखामार्फत माग भएर नै नगरका सबै शाखाहरूमा सामानहरू जाने भएकाले सो खर्च समग्र नगरको सामग्रीहरूको खर्चका रूपमा लेखिएको बताए ।
‘नगरका सबै शाखाहरूमा जिन्सी शाखाबाटै सामान जाने हुन’ उनले भने ‘खर्च भएर जाने र खर्च भएर नजाने दुवै प्रकारका सामानहरू नगरको सबै शाखाका सामानहरू जोडेर मूल्याङ्कन गरिएको हो ।’ उनले त्यसबाहेक भौतिक पूर्वाधार र भवनको अन्य क्षति भने ४ करोड बढी रहेको उल्लेख गरे । ‘भौतिक पूर्वाधार वा भवनमा क्षतिको विषयमा इन्जिनियर सरहरूले मूल्याङ्कन गर्नुभएको हो’ उनले भने ‘उहाँहरूले गरेको मूल्याङ्कन अनुसार कुल ४ करोड ९७ लाख बराबरको क्षति भएको छ ।’
इन्जिनियर जनक खड्काले भवन निर्माणका समयमा गरिएको इष्टिमेट अनुसार क्षतिको विवरण निकालिएको बताए । उनका अनुसार भौतिक पूर्वाधार मात्रै नभई अन्य विविध कुराहरू पनि सो क्षतिमा समेटिएका छन् । जसअन्तर्गत रंगरोगन, टायल, झ्याल ढोका, वायरिङ, खानेपानी र तत्कालीन समयमा एडिबीले दिएका फर्निचरहरू समेत रहेको उनले बताए । ‘भवन निर्माणको समयमा गरिएको इष्टिमेटका आधारमा आगलागीमा भएको खर्चको मूल्याङ्कन गरेका छौ’ उनले भने ‘सो इष्टिमेट अनुसार हामीले भवनको क्षति निकालेका हौ ।’ उनले बढी आगलागी भएका र तहसनहस भएका शिक्षा, स्वास्थ्य र जिन्सी शाखा प्राविधिक रूपमा कमजोर भए नभएको विषयमा टेष्ट गरेपछि मात्रै थाहा हुने बताए । ‘विशेषज्ञ टोली ल्याएर शाखाहरूको टेष्ट गर्नुपर्नेछ’ उनले भने ‘सो टोलीले प्राविधिक रूपमा कमजोर छैन भनेपछि पुनर्निर्माण गर्नुपरेन, नत्र तीन ओटै शाखाहरू मर्मत गर्नुपर्ने हुन्छ ।’


जेन जीको आन्दोलनका क्रममा आगजनी गरिएको उक्त नगरपालिका भवन एडिबीको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीले निर्माण गरेको हो । उक्त भवन निर्माणका लागि एमएस शर्मा एण्ड कम्पनी सँग २०७६ सालमा मंसिर २० गते सम्झौता गरिएको थियो । २०७८ साउन २० गते सम्पन्न गर्ने गरी १० करोड ३८ लाख ६ हजार ८१५ रुपैयाँमा ठेक्का सम्झौता गरिएको सो भवनको इष्टिमेटमा केही कुराहरू थप भएपछि मूल्य बढाएर १३ करोड ४६ लाख पु¥याईएको थियो । उक्त लागत अन्तरगत भवन रंगरोगन, वाइरिङ केही फर्निचर पनि समावेश गरिएको थियो ।
१३ करोड ४६ लाख रुपैयाँ एडिबीको सहयोगमा निर्माण सम्पन्न भएको सो भवनमा आगजनीका कारण साढे ९ करोड बढीको क्षति भएको देखिएको हो ।
भवनको २०७८ साल चैत १४ गते तत्कालीन नगरप्रमुख हरि सींह साउँदले पालिकालाई हस्तान्तरण नहुँदै उद्घाटन गरेका थिए । तर पछि पालिकालाई हस्तान्तरण भएको भन्दै २०८० माघ ४ गते नवनिर्वाचित नगरप्रमुख वीरेन्द्र भट्टले भवनको पुनः उद्घाटन गरेका थिए ।
आगजनी पश्चात् सहयोग जुट्दै
यसैबिच जेनजीको आन्दोलनमा क्षति पुगेको नगरपालिकालाई स्थानियस्तरबाट सहयोग जुटिरहेको छ । नगरपालिकाले सार्वजनिक रूपमा सहयोग गर्न अपिल जारी गरेपश्चात् स्थानियस्तरबाट सहयोग जुट्न थालेको हो ।
आइतबार सम्म नगरपालिकालाई १६ वटा संस्था तथा व्यक्तिले सहयोग गरिसकेका छन् भने अन्य सहयोगीदाताहरू आउने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका जिन्सी शाखा प्रमुख पनेरुले फर्निचर, कम्प्युटर, प्रिन्टर, कुर्ची, स्टिल दराज, अफिस टेबल, पेन्ट लगायतका जिन्सी सामानहरू सहयोग स्वरूप प्राप्त भएको बताए । उनले अन्य सहयोगीदाताहरूले पनि सहयोगका लागि सम्पर्क गरेकाले सहयोग अझै जुट्न सक्ने बताए ।
नगरपालिकालाई आर्थिक रूपमा पनि सहयोग प्राप्त भएको छ । नगरपालिकाको लेखा शाखाका अनुसार शनिवार सम्म नगरको खातामा १ लाख २१ हजार ८४७ रुपैयाँ आएको छ । नगरपालिकालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि स्थानियस्तरबाट सहयोग आउने क्रम जारी रहेको बताइएको छ ।
















