खाेज्नुहाेस

सस्तोमा सामान दिँदा पनि साल्ट ट्रेडिङको अत्तरिया डिपोमा ग्राहकको खडेरी

Image

अत्तरिया – चाडपर्वलाई लक्षित गरी सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडले कैलालीको अत्तरियामा सञ्चालन गरेको डिपोले ग्राहक तान्न सकेको छैन । साल्ट ट्रेडिङले भदौ ३० देखि अत्तरियामा डिपोबाट सुपथ मूल्यको पसल सञ्चालन गरेको थियो । जसमा बजार मूल्य भन्दा २ देखि ७ रुपैयाँ सम्ममा सस्तोमा सामान बिक्री गरिरहेको बताइए पनि ग्राहकको भने खडेरी लागेको छ ।

अत्तरियामा सुपथ मूल्य पसल सञ्चालन गरेको ४ दिन बितिसक्दा हालसम्म १५ जना मात्रै ग्राहक किनमेलका लागि पुगेका छन् । साल्ट ट्रेडिङको डिपो अत्तरियामा विगत ५ वर्ष देखि सञ्चालनमा रहेको भए पनि चाडपर्व लक्षित गरेर साल्ट ट्रेडिङले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सँगको सहकार्यमा सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

add everest academy
attariya hospital

अत्तरियाको धनगढी रोडमा भाडाको घरमा सञ्चालन गरिएको डिपोमा हाल ५ जना कर्मचारी कार्यरत रहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख तेज बहादुर कुँवरले ३० गते देखि मात्रै सुपथ मूल्य पसल सुरु गरिएकाले बिस्तारै ग्राहक बढ्दै जाने बताए । उनले छठ सम्म सुपथ मूल्य पसल सञ्चालन रहने बताए ।

उनले चिनी बजार मूल्य भन्दा ५ र दाल चामल तेल लगायतका सामान बजार मूल्य भन्दा ७ रुपैयाँ सस्तो पाइने बताए । उनका अनुसार हाल चिनीमा ५ रुपैयाँ छुट गरेर ९५ रुपैयाँ कायम गरिएको छ । यस्तै नुनमा पनि २ रुपैयाँ छुट गरेर २४ रुपैयाँ तोकिएको छ ।

navjiwan hospital

यस्तै चामल २५ केजीको जिरा मसिनोमा २५ रुपैयाँ छुट गरेर २०२५ कायम गरिएको छ । भुजा २ सय ग्रामको प्याकेटमा २ रुपैयाँ छुट गरेर २० रुपैयाँ, टाइचिन चिउरा १ केजीको प्याकेट ११५ पर्ने गरेकोमा ७ रुपैयाँ छुट दिएर १०८ कायम गरिएको छ । सबै दालहरूमा ७/७ रुपैयाँ छुट गरिएको छ । छुट गरिएको मूल्य अनुसार मासको दाल १६०, मुसुरोको दाल १३५, अरहरको दाल १८५, मुङको दाल १८०, बोडी १६० र चना १३५ पर्ने डिपो कार्यालयले जनाएको छ ।

attariya technical collage

त्यस्तै तेल र पिठोमा पनि प्रति लिटर, प्रति केजी ७ रुपैयाँ छुट गरिएको छ । छुट मूल्य अनुसार सनप्mलावर तेल आधा लिटर १२०, उत्सव तोरीको तेल आधा लिटर १३० र शान्ति तोरी तेल एक लिटरको ३५५ लिटर कायम गरिएको छ । छुट मूल्य अनुसार मैदा २ केजी १४० सुजी ५०० ग्राम ५० कायम गरिएको छ ।

चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय मार्फत भदौ ३० गते देखि सुदूरपश्चिममा ३६ वटा सुपथ मूल्य पसल सञ्चालन गरिएका थिए । जसमा साल्ट ट्रेडिङ मार्फत ८ र खाद्य मार्फत २८ सञ्चालन गरिएका छन् । साल्ट ट्रेडिङले कैलालीको धनगढी, अत्तरिया र टीकापुर, कञ्चनपुरको महेन्द्रनगर र बेलौरी तथा डोटीको दिपायल, डडेल्धुराको जिल्ला सदरमुकाम तुफानडाँडा र बैतडीको पाटनमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

यस्तै खाद्यले कैलालीको धनगढी, डडेल्धुराको खलंगा, बाजुराको मार्तडी, कोल्टी, धुलीचौर, बिच्छ्याँ, पाण्डुसैन, बझाङको जिल्ला सदरमुकाम, दौलिचौर, थलरा, भातेखोला र तलकोट तथा डोटीको जिल्ला सदरमुकाम र मौवामा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । यस्तै, बैतडीको गाठलापानी, पुर्चाैडी हाट, रौलेश्वर, आम्चौर र दोगडाकेदार, दार्चुलाको जिल्ला सदरमुकाम, सुनसेरा, हिकिला र खण्डेश्वरी, कञ्चनपुरको महेन्द्रनगर, अछामको मंगलसेन, सैनाबजार, साँफेबगर र कमलबजारमा सुपथ मूल्य सञ्चालन गरिएको छ ।

सुपथ मूल्य पसलमा निश्चित कोटा अनुसार मात्रै सामान खरिद गर्न पाइन्छ । जसअनुसार नुन एक व्यक्तिले ५ केजी, चिनी ६ केजी सम्म मात्रै खरिद गर्न पाइन्छ । सरकारले आम उपभोक्ताको हितलाई ध्यानमा राख्ने भन्दै अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडपर्वको अवधिभर सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।