अत्तरिया – करिब ६ वर्ष अघि सम्झौता भएको चौकीडाँडा फल्टुडे सडक निर्माणको काम अझै अलपत्र छ । लामो समय देखि चर्चामा रहको सो सडक निर्माणको काम ठेकेदार कम्पनीहरुको लापरबाहीका कारण ६ वर्षसम्म पनि अलपत्र अवस्थामा रहेको हो ।
६ वर्षसम्म पनि निर्माण सम्पन्न नभएपछि गोदावरी नगरपालिका– ३, १०, ११ र १२ ले सडकमै वडा कार्यालय सञ्चालन गर्ने भएका छन । बुधबार ४ वटै वडाका वडाध्यक्षहरुले आजदेखि वडाका कामकारबाहीहरु सडकबाटै सञ्चालन गर्ने बताएका हुन । उनीहरुले पटक पटक आवाज उठाउदा पनि ठेकेदारले लापरबाही गरेका कारण सडक निर्माणका लागि दवाव दिन सडकबाटै वडा कार्यालय सञ्चालन गरिने बताए ।


गोदावरी– १२ का वडाध्यक्ष भीम बहादुर खड्काले ६ वर्ष पहिले नै सम्झौता भएको सडक निर्माणको काम दुई वटा ठेकेदारको लापरबाहीले गर्दा अलपत्र अवस्थामा रहेको बताए । उनले थेगिङ र तेडी निर्माण सेवाले सम्झौता अनुसारको काम नगर्दा सडकको अवस्था लथालिङ्ग बनेको बताए । उनले ठेकेदारको लापरबाहीका कारण सडक अलपत्र परेपछि वडाबाटै दवाव दिने उद्देश्यले सडकमै वडा कार्यालय सञ्चालन गर्न लागिएको बताए । ‘ठेकेदारको लापरबाहीले गर्दा सडक अहिले अलपत्र अवस्थामा छ, सडकको कुनै प्रगती भएको छैन’ उनले भने ‘सडकमा खाल्डा खुल्डीले गर्दा स्थानीयहरुलाई आवतजावतमा समस्या भैरहेको छ, त्यसैले सडक निर्माणको लागि दबाव स्वरुप हामीले सडकमै वडा कार्यालय सञ्चालन गर्ने निर्णय गरेका छौ ।’ उनका अनुसार सो क्षेत्रमा रहेका वडा नं. ३, १०, ११ र १२ ले संयुक्त रुपमा सोही सडकखण्डमा रहेको चाक्लेखोलामा वडा कार्यालय स्थापना गर्नेछन् ।

वडाध्यक्ष खड्काले सडक निर्माणमा भैरहेको लापरबाही रोक्न र सडक निर्माण गर्न पटकपटक पहलकदमी गरेपनि ठेकेदारले अटेरी गर्दा बाध्य भएर सडकमा उत्रिनुपरेको बताए । ‘सडक निर्माणका लागि त्यो क्षेत्रका ४ जना वडाध्यक्षहरुले जिल्ला प्रशासन कार्यालयमा २ पटक ध्यानाकर्षण गराईसकेका छौ, मुख्यमन्त्रीलाई पनि ध्यानाकर्षण गराईसकेका छौ, सम्बन्धीत निकायमा गएर पटक पटक सम्झौता गर्ने र छलफल गर्ने काम पनि भैसकेको छ’ उनले भने ‘सम्बन्धीत ठेकेदारसँग पनि बसेर पटक पटक निर्माणको सम्झौता गर्दा पनि बिचमा आएर काम गरेजस्तो गर्ने र फेरी भाग्ने गरेका कारणले हामीले यस्तो निर्णय लिएका हौ ।’ उनले सडक निर्माणको आन्दोलन त्यतिमै मात्र सिमित नहुने बताए । उनले त्यसपश्चात पुर्वाधार विकास कार्यालय घेर्ने तथा अन्य आन्दोलनका कार्यक्रमहरु गरिने बताए । सडक निर्माण गर्ने प्रतिबद्धता सडकबाटै ठेकेदारले नगरेसम्म र सडक निर्माणको काम नसकिएसम्म आन्दोलन जारी रहने उनको भनाई छ ।
वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थीले सडक निर्माणका लागि पटक पटक सबै ठाउँमा धाउदा पनि पार नलागेपछि बाध्य भएर सडक निर्माणका लागि सडकमा आउनुपरेको बताए । उनले ठेकेदारलाई ताकेता गर्दा बिचमा एक पटक आएजस्तो गर्ने र फेरी भाग्ने गरेको बताए । सडक निर्माण नहुदा स्थानियहरुले धेरै समस्या झेल्नुपरेको बताउदै उनले आगामी दिनमा ठेकेदारले काम गर्छु भनेर उम्कन नपाउने बताए । उनले बाटोका कारण स्थानीयहरुले रोजगारीका कार्य समेत गर्न सक्ने अवस्था नरहेको बताए । वडाध्यक्ष अवस्थीले सम्झौता गरेर काम नगर्ने ठेकेदारलाई म्याद थप्नुको साटो कारबाही गरिनुपर्ने बताए । सडक निर्माणका लागि स्थानीयहरुलाई केही समस्या भएपनि आफूहरुलाई सहयोग गर्न उनले आग्रह गरे ।

प्रदेश गौरवकै आयोजनाको रुपमा अगाडि बढेको सो सडकमा ४ खण्डमा ठेक्का आह्वान गरिएको थियो । जसअन्र्तगत एडिबीको ऋण सहयोगमा क्षेत्रीय सहरी विकास कार्यालय धनगढी मार्फत चौकीडाँडा–फल्टुडे सडक जिरो पोइन्ट देखि मालाखेती सेतो पुल सम्म कालिका कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । २२ सय मिटर कालोपत्रेका लागि २०७७ साउन २० गते कालिकाले ठेक्का पाएकोमा सो कार्य सम्पन्न भैसकेको छ । तर दोस्रो खण्डको काम ६ वर्ष पुगिसक्दा समेत सम्पन्न हुन सकेको छैन । सो खण्डको अढाई किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय र एड्भेन्चर, थेगिङ, सन्लाईट जेभि बिच २०७७ भदौ १८ गते सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण गरिसक्नुपर्ने भए पनि सम्झौताको ६ वर्ष पुगिसक्दा समेत ठेकेदारले सडकको सो खण्ड निर्माण गर्न सकेको छैन । ५ करोड ८४ लाखमा ठेक्का सम्झौता भएको सो सडक निर्माणका लागि पटकपटक म्याद थप्दा पनि ठेकेदारले निर्माणको कार्य सम्पन्न गर्ने कुनै सुरसार गरेको देखिदैन ।
सोही सडकको तेस्रो खण्डको निर्माणका लागि तेडी निर्माण सेवा सँग सम्झौता गरिएको छ । सुरुमा सो निर्माण कम्पनीले तीव्र गतिमा काम गरेको भएपछि पछिल्लो समय भने काम नै अघि बढ्न सकेको छैन । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले वडा नम्बर १० को कार्यालय देखि बान्द्रेखाल सम्म ३ किलोमिटर कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको थियो । २०७९ चैत्र १८ गते भएको सम्झौता अनुसार उक्त सडक १८ महिना भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भएपनि सो सडक पनि निर्माण हुन सकेको छैन । उक्त सडक निर्माणका लागि तेडी निर्माण सेवासँग ५ करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको थियो ।
सडकको चौथो खण्डका रुपमा संघीय सरकार मातहत रहेको बान्द्रेखाल देखि गौडी सम्मको ८ सय मिटर सडक कालोपत्रे गर्ने काम पनि जारी रहेको छ । ओलानी हुँदै चौकिडाँडा देखि फल्टुडे ३८ किलोमिटर दुरी रहेको सडकको साढे ८ किलोमिटर कालोपत्रे गर्न ४ ठेक्का मार्फत काम गर्न ठेक्का आह्वान भएको थियो । टुक्रे योजना बनाएर प्रदेश, संघ सरकारले एउटै सडकमा काम गरिरहेका भए पनि अझै ओलानी सम्म पनि कालोपत्रे सडक पुग्न सकेको छैन । प्रदेश गौरवकै आयोजनाको रुपमा अगाडि बढेको सो सडकलाई भीमदत्त राजमार्गको विकल्पका रुपमा छोटो मार्गका रुपमा हेरिएको थियो । तर ठेकेदारको लापरबाहीका कारण पटक पटक स्थानियहरुले आवाज उठाउदा पनि काम हुन सकेको छैन ।
















