अत्तरिया – गोदावरीमा तोकिएको सुदूरपश्चिमको राजधानी कार्यान्वयनमा प्रदेश र सङ्घीय सांसदको भूमिकाप्रति यस क्षेत्रका विभिन्न राजनीतिक दलका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन । राजधानीका बारेमा गोदावरी नगरपालिकाले आयोजना गरेको सर्वदलीय बैठकमा नेताहरूले ७ वर्ष अघि राजधानी तोकिएको भए पनि कार्यान्वयन ल्याउन सांसदहरूले अपेक्षित भूमिका नखेलेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन ।
बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका नेता धर्म कुँवरले राजधानी कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका त्यति प्रभावकारी नदेखिएको बताए । ‘अहिले राजधानी सार्ने चर्चा चलेको बेला जुरुमुराएपनि अरू बेला कानमा तेल हालेर सुतेको अवस्था देखियो’ उनले भने ‘गोदावरीमा राजधानी बनाउन के के गर्नुभयो ? अहिले हामी के गर्दै छौ भन्ने कुरा प्रस्ट हुनुप¥यो ।’ उनले राजधानी सार्ने चर्चा चलेपछि यो गर्छु त्यो गर्छु भन्दा पनि राजधानी कार्यान्वयनका लागि निरन्तर खबरदारी आवश्यक रहेको बताए । उनले पार्टीको ह्विप लागेपछि त्यसैअनुसार चल्ने अवस्था देखिएकाले आश्वासन दिएर मात्रै केही नहुने बताए ।


नेकपा एमाले नेता गोकर्ण भट्टले जनप्रतिनिधि भएपछि राजधानीका विषयमा जनताका बिचमा गरेका बाचा पुरा गर्नुपर्ने बताए । ‘जनप्रतिनिधि भएपछि जनताका बिचमा गरेको बाचा पुरा गर्नुपर्छ । हिजो ६ महिना भित्र बनाउँछु भन्नेले जवाफ दिनुपर्छ’ उनले भने ‘साँचै वहाले राजधानी बनाउने हो भने वीर बहादुर बलायर यहाँ आउनु प¥यो । हामी वहाँको नेतृत्वमा कहाँ जानुपर्छ जान तयार छौ ।’ उनले चुनावका बेला ६ महिनामा राजधानी बनाउँछु भनेर कस्सिएर अहिले पन्छिन नमिल्ने बताए । उनले राजधानी कार्यान्वयनको प्रक्रिया कहाँ पुग्यो, के भइरहेको छ भन्ने बारेमा जनतालाई जनप्रतिनिधिले जानकारी दिनुपर्ने बताए ।
‘प्रक्रिया कहाँ पुग्यो के भइरहेको छ भन्ने कुरा जनप्रतिनिधिले भन्नु पर्छ । राजधानी सार्ने चलखेल भएको छैन भने मिडियामा आएको कुरा झुटो हो भनेर विज्ञप्ती आउनु पर्छ’ उनले भने ‘अब गोदावरीमा राजधानी हुँदैन भने त्यसको अपजस पनि नेपाली काँग्रेसलाई जान्छ । बन्यो भने जस पनि नेपाली काँग्रेसलाई जान्छ ।’
नेपाली काँग्रेसका नेता वसन्त रोकायाले राजधानी किन रोकियो भन्ने बारेमा जनप्रतिनिधि प्रमाण सहित प्रस्तुत हुनुपर्ने बताए । ‘राजधानी बनाउने विषयमा के के भएको छ । अहिलेका जनप्रतिनिधिले जवाफ दिनुपर्छ’ उनले भने ‘हिजोका दिनमा किन बनेन अहिले किन बनिरहेको छैन भन्ने कुरा आधिकारिक रूपमा प्रमाण सहित स्पष्ट हुन जरुरी छ । त्यसपछि हामीले कसरी अगाडि जानुपर्छ भन्ने योजना बनाउनु पर्छ ।’

उनले वीर बहादुर बलायरले ६ महिनामा राजधानी निर्माणको काम सुरु हुन्छ भन्ने अभिव्यक्तिको भने बचाउ गरे । ‘वीर बहादुर बलायरले राजधानीका बारेमा पटक पटक बोलका छन् । वहाँ कति पटक बोल्नु भएको छ त्यो रेकर्ड म सँग छ । त्यो म देखाउन पनि सक्छु’ उनले भने ‘वहाले पहल गर्ने भनेको आफ्ना नेताहरूलाई भन्ने हो । वहाँ हात बाँधेर बस्नु भएको छैन ।’
प्रदेशका पूर्व मन्त्री कृष्ण राज सुवेदीले भने राजधानी सांसदबाट पारित भए पनि त्यति बेला मुख्यमन्त्रीले नै कार्यान्वयनमा त्यति धेरै चासो नदिएको बताए । उनले राजधानी गोदावरीमा कार्यान्वयन हुन रोक्न अनेक हल्ला चलाइएको बताउँदै अब कुनै पनि हालतमा सार्न नमिल्ने बताए । ‘त्यति बेला भूमि सुधारमा फाइल अड्कियो । गौरीफन्टा चितवनका सालका रुख देखाएर करोरकल्पित हल्ला गरियो’ उनले भने ‘अब दुई तिहाइले पारित गरेको निर्णय नैतिकता छ भने त अब त्यही दलका नेताले विपक्षमा मत हाल्न मिल्दैन होला ।’


सांसदहरूले गरे बचाउ
यसअघि नै अत्तरियामा नागरिक समाजले आयोजना गरेको कार्यक्रममा राजधानी सार्न नदिने प्रतिबद्धता गर्दै आशङ्का नगर्न आग्रह गरेका यस क्षेत्रका सांसदहरूले आफ्नो पुरानै अभिव्यक्ति दोह¥याए ।
प्रदेश सांसद जानकी कुँवरले राजधानी सार्ने कुरामा आफू सहमत नहुने बताइन । ‘राजधानी सार्ने कुरा चलिरहेको छ । सङ्घमा पनि चलेको छ । मुख्यमन्त्रीले चाहेर पनि राजधानी कार्यान्वयन हुने होइन । यसमा सबैको सहमति आवश्यक छ’ उनले भनिन ‘सरकारले आधिकारिक धारणा नआए पनि म चाही राजधानी गोदावरीबाट सर्ने कुरामा सहमत हुँदैन ।’
प्रदेश सांसद खिमा देवी विष्टले राजधानी सार्ने चलखेल सुरु भइसकेको बताउँदै त्यसको आफूले प्रतिवाद गर्ने बताइन् । उनले मुख्यमन्त्रीले राजधानी सार्ने विषयमा भित्र भित्र छलफल चलाइरहेको दाबी गरिन् । ‘यो विषय चिठी काटेर, पत्रकार सम्मेलन गरेर बाहिर आउने होइन । यसमा सल्लाह गरेर सहमति भएर कुरा बाहिर आउँछ होला’ उनले भनिन् ‘सबै राजनीतिक दलका प्रमुख सचेतकहरू सँग मुख्यमन्त्रीको कुरा भइरहेको छ । मैले यस विषयमा बुझ्दा मुख्यमन्त्रीले तपाइलाई बोलाउन्थ्ये तर, तपाई त्यही ठाउँको भएको हुनाले तपाई विरोध गर्नु हुन्छ भनेर नबोलाइएको हो भन्नुभएको छ ।’ उनले धेरै कुरा अघि बढिसकेकाले राजधानी सार्ने तयारी भइरहेको बताइन् ।
प्रदेश सांसद तुलसी देवकोटाले भने मिडियामा आएका कुराकै आधारमा प्रतिक्रिया दिन हतार हुने बताइन । मुख्यमन्त्रीले राजधानी सार्ने विषयमा छलफलका लागि बोलाएमा त्यसको प्रतिकार गर्ने उनले बताइन् ।
राज्यमन्त्री समेत रहेका प्रदेश सांसद प्रकाश बमले एमाले काँग्रेसले चाहँदैमा राजधानी नसर्ने बताए । ‘यसबारे आधिकारी धारणा आएको छैन । तर, मुख्यमन्त्री र पूर्व मुख्यमन्त्री राजेन्द्र रावल यो अभियानमा लाग्नु भएको छ भन्ने मेरो अनुमान छ’ उनले भने ‘यो एक दुई दलले चाहेर पनि पुरा हुँदैन । यसमा एमालेको सहमति नभए प्रस्ताव नै आउँदैन । यसमा माओवादी, नागरिक उन्मुक्तिले समर्थन जनाएनन् भने पास नै हुँदैन ।’
उनले राजधानी कार्यान्वयनमा ल्याउन निकै गाह्रो काम भएको बताए । ‘हाम्रा सांसद बलायरले राजधानी बनाउन सुरु गर्छु भन्नु नै भएको हो । तर, यो बनाउन गाह्रो रहेछ’ उनले भने ‘यहाँ बनाउन भोगाधिकार पनि पाइएको छैन । मुद्दाको फैसला पनि भएको छैन । अन्त बनाउन हामीले रोकिरहेका छौ । त्यसैले यसको गाँठो फुकाउनु पर्छ ।’
बैठक गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको सभाध्यक्षतामा आयोजना गरिएको थियो । उनले बैठकमा बोल्दै प्रदेशको राजधानी गोदावरीमा कार्यान्वयन गर्न प्रदेशका माननीयले सक्रिय भएर लाग्नुपर्ने बताए ।















