अत्तरिया – कैलालीको गोदावरीमा भू–उपयोग क्षेत्र वर्गीकरण गरिएको छ । भू–उपयोग नियमावली अनुसार गोदावरी जग्गालाई वर्गीकरण गरिएको हो । जसअनुसार नगरभित्रका ५१ हजार ४६७ कित्ताको वर्गीकरण गरिएको छ । जसमा वडा नम्बर १ मा ४ हजार ६०८, २ मा ५ हजार ८४, ३ मा ५ हजार ३९९, ४ मा ३ हजार ७५९, ५ मा ९ हजार ७३०, ६ मा ४ हजार ४९, ७ मा २ हजार ९३१, ८ मा ४ हजार ६५९, ९ मा २ हजार ४५२, १० मा ४ हजार ८९४, ११ मा १ हजार ८५३ र १२ मा २ हजार ४९ कित्ता जग्गाको वर्गीकरण गरिएको छ ।
वर्गीकरण गर्दा सबैभन्दा बढी कृषि क्षेत्र रहेको छ । कृषिमा ४ करोड २ लाख २६ हजार ३६९ वर्ग मिटर अर्थात् ३८ दशमलव ९४ प्रतिशत क्षेत्रफल रहेको गोदावरी नगरपालिकाको नापी शाखाका रघुनाथ जोशीले बताए । उनका अनुसार कृषि पछि सबैभन्दा बढी आवासीय क्षेत्र रहेको छ । आवासीय क्षेत्र २ करोड ४२ लाख ९३ हजार ३५१.७१ वर्ग मिटर अर्थात् २३ दशमलव ५२ प्रतिशत रहेको छ । आवासीय पछि सबैभन्दा बढी जङ्गल क्षेत्र रहेको छ । जङ्गल क्षेत्र २ करोड ३४ लाख ६ हजार १४३ वर्ग मिटर अर्थात् २२ दशमलव ६६ प्रतिशत रहेको छ ।


त्यस्तै सिमसार क्षेत्र ७८ लाख २८ हजार ११५ वर्ग मिटर अर्थात् ७ दशमलव ५८ प्रतिशत, सार्वजनिक प्रयोग क्षेत्र ५९ लाख १३ हजार ३७६ वर्ग मिटर अर्थात् ५ दशमलव ७२ प्रतिशत, व्यवसायीक क्षेत्र ७ लाख ७१ हजार ९३४ वर्ग मिटर अर्थात् शून्य दशमलव ७५ प्रतिशत, औद्योगिक क्षेत्र १ लाख १२ हजार ६८२ अर्थात् शून्य दशमलव ११ प्रतिशत र अन्य क्षेत्र ७ लाख ५७ हजार १५३ अर्थात् शून्य दशमलव ७३ प्रतिशत रहेको छ ।

भू–उपयोग ऐन, २०७६ आएको ३ वर्षपछि सरकारले २०७९ जेठ २३ मा नियमावली जारी गर्दै जग्गाको वर्गीकरण सुरु गरेको थियो । २०७९ जेठ २३ मा नियमावली जारी हुँदा ६ महिनाभित्र चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने थियो । २०७९ मङ्सिर सम्म केही पालिकाले मात्रै कृषि क्षेत्र छुट्टाएका थिए । २०७९ मङ्सिर पछि जग्गालाई १० वटै क्षेत्रमा वर्गीकरण गर्नुपर्ने थियो ।
तर धेरैजसो पालिकाले जग्गाको वर्गीकरण नगरेपछि २०८० साउन ३२ मा नियमावलीको संशोधन गर्दै एक वर्षभित्र चार किल्ला खुलाई कृषि क्षेत्र तोक्नुपर्ने व्यवस्था गरिएको थियो । एक वर्ष भित्र (२०८१ असार सम्म) पनि जग्गाको पूर्ण वर्गीकरण नगर्दा गोदावरी सहित ६ सय २० पालिकामा कित्ताकाट लगायत जग्गा प्रशासन सम्बन्धी काम रोकिएका थिए । पछि सरकारले २०८१ भदौ २७ मा भू–उपयोग नियमावली, २०७९ दोस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण गर्न पालिकालाई २०८२ असारसम्म समय दिएको थियो । सोही अनुसार गोदावरी नगरपालिकाले जग्गाको वर्गीकरण गरेको हो ।

जग्गाको वर्गीकरण गरिएपछि नगरपालिकाले साउन ४ गते भू–उपयोग क्षेत्र वर्गीकरण सम्बन्धी १५ दिने सूचना जारी गरेर दाबी विरोध गर्न आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्धारा हस्ताक्षरित सूचनामा सूचनामा वर्गीकरणमा दाबी विरोध भएमा उचित कारण खुलाई १५ दिन भित्र सम्बन्धित वडा कार्यालयमा जग्गाधनी प्रमाण पुर्जा र कित्ता नक्सा सहित निवेदन दिन भनिएको छ ।















