अत्तरिया– करिब ८ वर्ष अघि एक जना आर्थिक रूपमा विपन्न र पढाइमा अब्बल विद्यार्थीलाई प्लस टु मा निःशुल्क पढाउने लक्ष्य अनुसार सुरु भएको प्रोजेक्ट शिक्षा अहिले वृहत् रूपमा फैलिएको छ । तत्कालीन समयमा एक जना विद्यार्थीलाई कक्षा ११ र १२ मा काठमाण्डौमा पढाउने उद्देश्यले हन्ड्रेड ग्रुपले थालनी गरेको प्रोजेक्ट शिक्षा अन्तर्गत अहिले देशका विभिन्न भागका विद्यार्थीहरू काठमाण्डौमा पढिरहेका छन् ।


सुरुवातमा कलेजको फिस तिर्ने गरी मात्रै प्रोजेक्टले विद्यार्थी पढाएको भए पनि त्यसपछि भने विद्यार्थीहरुलाइ खाने बस्ने सुविधा सहित पढाउन थालेको छ । प्रोजेक्ट शिक्षाले देशका विभिन्न भागहरूबाट विद्यार्थीहरू छनौट गरी हालसम्म ६८ जनालाई निःशुल्क रूपमा पढाई सकेको छ भने सो कार्य अझै पनि निरन्तर रूपमा जारी राखेको छ ।

यो शैक्षिक सत्रमा हन्ड्रेड ग्रुपसहित रुटिन अफ नेपाल बन्द, क्रियटिङ अपर्चुनिटिज, एनसेल फाउण्डेसन, दारी क्लब युएसए र सावर्स एक्सन नेपाल एण्ड हङकङले सहकार्य गरेर ६० जना विद्यार्थीहरूलाई खाने बस्ने सुविधा दिएर पढाउने भएको छ । ६० जनालाई खान बस्न सहितको सुविधा दिएर र ५० जनालाई कलेजको फिस तिर्ने गरी पढाउने हन्ड्रेड ग्रुपका मेम्बर तथा प्रोजेक्ट मेनेजर सुजित चौधरीले बताए ।
‘करिब ८ वर्ष अघि हामीले १ जना विद्यार्थीलाई पढाउने भन्दै यो प्रोजेक्ट शिक्षा सुरु गरेका थियौँ’ चौधरीले भने ‘अहिले सो प्रोजेक्टलाई वृहत् रूपमा अघि बढाएका छौ, अब ११० जना विद्यार्थीहरूलाई हामीले कक्षा ११ र १२ मा निःशुल्क पढाउँछौ ।’

उनले प्रोजेक्ट शिक्षाले सामुदायिक विद्यालयका जेहेन्दार र आर्थिक रूपमा विपन्न विद्यार्थीलाई बढी प्राथमिकता दिने गरेको बताए । उनले सो प्रोजेक्टमा खान बस्न सहित पढाइने ६० जना विद्यार्थीहरू भने सामुदायिक विद्यालयबाट मात्रै राखिने बताए । ‘खान बस्न सहितको सुविधा दिएर हामीले ६० जना विद्यार्थीहरूलाई पढाउने छौ’ उनले भने ‘त्यसमा सबै सामुदायिक विद्यालयका मात्रै विद्यार्थीहरू रहनेछ ।’ उनले बाँकी ५० जनामा भने संस्थागत विद्यालयका विद्यार्थीहरू समेत समावेश गरिने बताए । उनले कक्षा ११ र १२ मा विज्ञान र व्यवस्थापन संकाय पढ्ने विद्यार्थीहरूलाई मात्रै प्रोजेक्ट शिक्षामा समावेश गरिने बताए ।
सुदूरपश्चिमबाट हालसम्म १५ जनाले सो प्रोजेक्ट अन्तरगत निःशुल्क खान बस्न सहित पढ्न पाएका छन् । ती मध्ये केही पास आउट भएर गइसकेको र केही अझै पनि अध्यापन गरिरहेको सुदूरपश्चिमका लागि प्रोजेक्ट शिक्षाका संयोजक जय बहादुर धामीले बताए ।
उनले सबैका लागि शिक्षा भन्ने नाराका साथ गरिब एवम् आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा पढाउनु प्रोजेक्टको मुख्य उद्देश्य भएको बताए । अहिले विद्यार्थीहरू पास आउट भइरहेकाले आउँदो वर्षका लागि सो प्रोजेक्ट अन्तर्गत विद्यार्थी छनौट गर्ने काम भइरहेको उनले बताए ।
उनका अनुसार त्यसका लागि बिहीबार लिखित परीक्षा आयोजना गरिएको थियो । देशभरमा विभिन्न परीक्षा केन्द्रहरूमा परीक्षा आयोजना गरिएको धामीले बताए । सुदूरपश्चिमका लागि एभरेष्ट मल्टीपल कलेजमा परीक्षा केन्द्र तोकिएको थियो । बिहीबार गरिएको लिखित परीक्षाको नतिजा आएर अन्तर्वार्ता समेत भैसकेको धामीले बताए । ‘हामीले विद्यार्थी छनौटका लागि बिहीबार परीक्षा लिएका थियौँ, परीक्षामा ६० जना सहभागी थिए, जसमध्ये ४० जना पास भए’ उनले भने ‘ती ४० जनाको अन्तर्वार्ता पनि भैसकेको छ, अब फाइनल रिजल्ट देशभरको एकैचोटी प्रकाशित हुन्छ ।’

विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरूले निःशुल्क रूपमा काठमाडौँ बसेर पढ्न पाउने प्लेटफर्मका रूपमा प्रोजेक्ट शिक्षा अघि सारिएको छ । जसले विगतदेखि नै विद्यार्थीहरूलाई आफ्नै भवनमा राखी कलेजको फिस तिरेर खाने बस्ने व्यवस्था सहित पढाइरहेको छ । प्रोजेक्ट शिक्षा अन्त्रगत काठमाण्डौका हिमालयन ह्वाईट हाउस कलेज, ज्याभिएर इन्टरनेशनल कलेज, एडभान्स एकेडेमी, नोबेल कलेज लगायतका ख्याती प्राप्त कलेजहरूमा अध्यापन गराइने धामीले बताए ।
















