अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा एउटै ठेकेदारले ठेक्का लिएका १३ सडक अलपत्र परेका छन् । आर्थिक वर्ष २०८०/०८१ मै ठेक्का सम्झौता भएर सोही आर्थिक वर्षमा सक्नुपर्ने सडक २ आर्थिक वर्ष बितिसक्दा पनि अलपत्र परेका हुन । आर्थिक वर्ष २०८०/०८१ गोदावरी नगरपालिकाले ३६ वटा सडकलाई पाँच खण्डमा विभाजन गरेर ठेक्का आह्वान गरेको थियो । जसमध्ये एक्लै तीन खण्डका २५ सडक कालोपत्रे गर्ने ठेक्का पाएको कुमार शिशिर कन्स्ट्रक्सनले २ आर्थिक वर्षमा आधा सडक मात्रै सम्पन्न गरेर वडा नम्बर १ का १३ सडक अलपत्र पारेको छ ।
उक्त निर्माण कम्पनीले आर्थिक वर्ष २०८०/०८१ भित्र काम सम्पन्न नगरेपछि आर्थिक वर्ष २०८१/०८२ भित्र काम सक्ने गरी म्याद थप गरिएको थियो । एक वर्ष थपिएको म्यादमा पनि सडक कालोपत्रे गर्न नसकेपछि हाल १३ सडक अलपत्र परेका हुन । गोदावरी नगरपालिकाका सब–इन्जिनियर सुभम क्षेत्रीले कुमार शिशिर कन्स्ट्रक्सनले पहिलो प्याकेज अनुसार वडा नम्बर १ का १३ सडक, दोस्रो प्याकेज अन्तरगत वडा नम्बर २, ३ र ४ का ७ वटा सडक र चौथो प्याकेज अन्तरगत वडा नम्बर १०, ११ र १२ का सडक ५ निर्माणको ठेक्का पाएको थियो । दोस्रो प्याकेजका २ सडक बाहेकको काम सकिए पनि पहिलो प्याकेजका सबै सडक कालोपत्रे गर्ने काम बाँकी रहेको उनले बताए ।



उनले पहिलो प्याकेजका सडकमा बेस हाल्ने काम सकिएको भए पनि थपिएको म्यादमा पनि कालोपत्रेको काम नसकिएको बताए । अब थप काम गर्नका लागि म्याद थप्ने वा नथप्ने विषयमा निर्णय नभएको उनको भनाइ छ । उनका अनुसार पहिलो प्याकेजमा कुल १ किलोमिटर ७०९ मिटर कालोपत्रे गर्न १ करोड ११ लाख ८७ हजार ७८८ रुपैयाँ, दोस्रो प्याकेजमा कुल २ किलोमिटर १० मिटर कालोपत्रे गर्न १ करोड १५ लाख ८३ हजार ९७६ रुपैयाँ र चौथो प्याकेजको १ किलोमिटर ४५७ मिटर सडक कालोपत्रे गर्न ९२ लाख ३८ हजार २७० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
वडा नम्बर १ का वडाध्यक्ष एवम् गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले आर्थिक वर्ष २०८१/०८२ मा ठेक्का सम्झौता गरेका सडक निर्माण सम्पन्न भए पनि आर्थिक वर्ष २०८०/०८१ मै सम्झौता गरिएका सडकको काम नसकिएको बताए । उनले ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण सडक निर्माणको काम समयमा हुन नसकेको बताए । ‘चालु आर्थिक वर्षमा ४ वटा सडक निर्माण गर्न बजेट विनियोजन गरिएको थियो । ती सबै काम सम्पन्न भएका छन्’ उनले भने ‘आर्थिक वर्ष २०८०/०८१ मै वडाका १३ सडकको ठेक्का लिएको ठेकेदारले काम नगरिदिँदा सडक कालोपत्रे गर्ने काम हुन सकेको छैन । पटक पटक फोन मार्फत, भेटेर, चिठी कटाएर भन्दा पनि ठेकेदारले सही हिसाबले काम गरेको छैन ।’
उनले वडाका बनदेवी टोलमा २ सडक, टेलिकम पछाडि, सब्जी मण्डीको दक्षिण तर्फ, उग्रतारा टोलमा २ सडक, पुरानो जेके स्कुल सडक, देउवा टोल, भरतपुर टोल, आरती टोलका सडक ठेकेदारले काम नगर्दा पुरा हुन नसकेको बताए । पटक पटक भन्दा पनि पनि ठेकेदारले नटेरेकाले उनको भनाइ छ ।

‘यस्ता मान्छेले ठेक्का हान्नु नै गलत हो । यो आफू पनि डुब्ने जनप्रतिनिधिलाई पनि डुबाउने काम हो’ उनले भने ‘यस्ता मान्छेको समयावधि थप्नुहुँदैन भन्ने मेरो मान्यता हो । तर, कारबाही गर्न पनि प्रक्रियागत समस्या भएकाले त्यो गर्न सकिएको छैन ।’ उनले साना साना सडक भएका कारण धेरै समय लागेको भन्ने कुरामा कुनै तर्क नभएको बताए ।















