अत्तरिया – सङ्घीय सरकारले बिहीबार ल्याएको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सुदूरपश्चिमका अघिकाशं योजना पुरानै छन् । जुन योजना यस क्षेत्रका जनताले सङ्घीय बजेटमा बर्सेनि सुन्दै आएको भए पनि पुरा हुने त परको कुरा केही योजना आर्थिक वर्ष सकिदा सम्म सुरु समेत हुँदैनन् ।
यस पटकको बजेटमा पनि यस्तै केही योजना दोहरिएका छन् भने बजेट रकम नै नखुलाएर सुनाइएका यस्ता योजना कार्यान्वयनमा जानेमा समेत आशङ्का छ ।


बजेटमा सरकाले दशकै देखि घोषणा मै सीमित पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, कर्णाली बहुउद्देश्यीय जलविद्युत आयोजना देखि शिलान्यास भएर पनि कामै हुन नसकेको दैजी छेला औद्योगिक क्षेत्र पनि बजेटमा समेटिएका छन् ।
वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निकै महत्वाकाक्षि योजना कर्णाली बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययन गरिने देखि लिएर पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डिपिआर तयार गरी निर्माणमा अग्रसरता लिइने सम्मका योजना सुनाए । जुन योजना लामो समय देखि चर्चामा मात्रै सीमित रहेका छन् ।
बजेटमा पछिल्लो समय वनले अवरोध गरेको चैनपुर सेती जलविद्युत आयोजना पनि समेटिएको छ । निर्माणाधीन अवस्थामा रहेको यो आयोजना भने सरकारले पहल कदम लिएमा अगाडि बढ्ने देखिन्छ । यस्तै बजेटमा सरकारले दैजीमा आधुनिक औद्योगिक क्षेत्र लगानी बोर्ड मार्फत निर्माण गर्ने जनाएको छ । तर, यो योजना ४ वर्ष अघि नै हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै शिलान्यास गरे पनि काम अघि बढ्न सकेको छैन । यो योजना रुख कटानी र जग्गा प्राप्तिमै अड्किएको छ ।

सरकारले वर्षै देखि बजेटमा दोह-याउँदै आएको दोधारा चाँदनी सुख्खा बन्दरगाह यस पटकको बजेटमा पनि समेटिएको छ । यो योजना निर्माणका लागि भने हाल रुख कटानको काम भइरहेको छ । यसको निर्माणको जिम्मा भने भारत सरकारलाई दिइएकाले हाल भारत सरकारले निर्माण कम्पनी छनोटको काम गरिरहेको छ ।

बजेटमा फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि पनि बजेट विनियोजन गरिएको जनाइएको छ । अर्थमन्त्री पौडेलले फाप्ला सहित देशका ४ वटा रङ्गशाला निर्माणका लागि ४२ करोड विनियोजन गरिएको बताए पनि कुन रङ्गशालाका लागि कति बजेट छुट्टाइएको छ भन्ने बारेमा भने खुलाएनन् । यो योजना अघि सारिएको पनि वर्षौँ बितिसकेको छ ।
बजेटमा करिब भौतिक संरचना निर्माणको काम सकिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय पनि समेटिएको छ । विश्वविद्यालयको विधेयक हालै प्रतिनिधि सभाबाट पारित भएकाले यसलाई सञ्चालन गर्न करिब ३ देखि ४ अर्ब बजेट आवश्यक पर्ने बताइने गरिन्छ । तर, बजेट भाषणमा भने रकम खुलाइएको छैन । बजेटमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनका लागि पनि बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताएका छन् ।
२०५२ सालमा महाकाली सन्धि भएदेखि चर्चामा आएको महाकाली सिँचाइ योजना पनि यस वर्षको बजेटमा पनि समेटिएको छ । हाल केही प्रगतिका साथ निर्माणाधीन अवस्थामा रहेको यो आयोजना ३ वर्ष भित्र सम्पन्न गरिने बजेटमा घोषणा गरिएको छ । बजेटमा लामो समय देखि चर्चामा रहेको डडेल्धुरा विमानस्थल निर्माण गर्न विस्तृत अध्ययन गरिने विषय समेटिएको छ ।
बजेटमा पूर्व पश्चिम राजमार्ग विस्तारको पुरानै योजना अन्तरगत खण्ड छुट्टाएर बजेट विनियोजन गरिएको छ । जसअन्तरगत सुदूरपश्चिमको गड्डाचौकी – अत्तरिया सडक स्तरोन्नति सहितका योजनाको लागि २१ अर्ब १९ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए ।
बजेटमा अत्तरिया-खोड्पे- दार्चुला सडकको विस्तृत अध्ययन गरि डेडिकेटेड डबल लेनमा स्तरोन्नती गर्ने, महाकाली करिडोर अन्तरगत ब्रह्मादेव- झुलाघाट- तुसारपानी खण्डको स्तरोन्नति गर्न र तुसारपनी – टिंकर खण्डको ट्रयाक खोल्न बजेट छुट्याइएको अर्थमन्त्री पौडेलले बताएका छन । यस्तै खुटिया दिपायल सडकका लागि पनि आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।
बजेटमा शुक्लाफाँटामा, खप्तड, रामारोशन, बडिमालिकामा पर्यटन पदमार्ग निर्माण गरिने योजना समेटिएको छ । बजेटमा देशभरका ३ प्रदेश सहित सुदूरपश्चिममा पनि महिला पुन स्थापना केन्द्र निर्माण गरिने उल्लेख गरिएको छ । बजेटमा निकै ठुला र आकर्षक योजना समेटिए पनि बर्सेनि दोहरिँदै आएका योजना पुनः दोहरिएकाले यस पटक पनि ती योजना समयमै सुरु भएर सम्पन्न होलान् भन्ने कुरामा यस क्षेत्रका जनता भने ढुक्क हुन सकेका छैनन् ।

















