खाेज्नुहाेस

गोदावरीले ४२७ हेक्टरमा धान खेती गर्न बीउ वितरण गर्दै

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले किसानहरूलाई अनुदानमा धानको बीउ वितरण गर्न थालेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा नगरभित्रका किसानहरूलाई उन्नत जातका धानको बीउ वितरण गर्न थालेको हो । चालु आर्थिक वर्षमा नगरपालिकाले ४२७ हेक्टरका लागि विभिन्न उन्नत जातका धानको बीउ खरिद गरेको नगरपालिकाकी कृषि शाखा प्रमुख नन्दी मल्लले जानकारी दिइन । उनले मसिनो र मध्यम मसिनो गरी चालु आर्थिक वर्षमा १२ हजार ८१० किलो धानको बिउ खरिद गरिएको बताइन । उनका अनुसार नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउ खरिद गर्न भन्दै किसानहरूको माग सङ्कलन गरेको थियो ।

सो माग सङ्कलनका आधारमा र छिटपुट किसानहरूका लागि भन्दै नगरपालिकाले उक्त मात्रामा उन्नत जातको धानको बिउ खरिद गरेको मल्लले बताइन । ‘हामीले किसानहरूबाट माग सङ्कलन गरेर उनीहरूको मागको आधारमा धानको बिउ खरिद गरेका हौ’ उनले भनिन् ‘तर छिटपुट किसानहरूलाई पनि दिन मिल्ने गरी केही बढी मात्रामा धान खरिद गरेका छौ, सो धान किसानहरूलाई ५० प्रतिशत अनुदानमा वितरण भइरहेको छ ।’

add everest academy
attariya hospital

नगरपालिकाले खरिद गरेका धानका बीउहरूमा सर्जु ५२, राधा ४, राधा १४, रामधान, सुख्खा ३, सुख्खा ६, बहुगुणी २, हर्दिनाथ र सावा मंसुली रहेका छन् । सो बीउहरूलाई मसिनो र मध्यम मसिनोका आधारमा छुट्याएर अनुदानमा वितरण गर्न थालिएको मल्लले बताइन । मल्लका अनुसार सर्जु ५२, राधा ४, राधा १४ र बहुगुणी २ ७५ रुपैयाँ प्रतिकिलोका दरले नगरपालिकाले खरिद गरेको छ । जसलाई ५० प्रतिशत अनुदानका आधारमा कृषकहरूले ३७ रुपैयाँ ५० पैसाका दरले खरिद गर्ने गरेको कृषि शाखा प्रमुख मल्लले बताइन । त्यसबाहेकका रामधान, सुख्खा ३, सुख्खा ६, हर्दिनाथ र सावा मंसुलीलाई नगरपालिकाले प्रतिकिलो ७९ रुपैयाँ ५० पैसाका दरले खरिद गरेको र कृषकहरूलाई सो बिउ ३९ रुपैयाँ ७५ पैसाका दरले बिक्रिवितरण गरिरहेको उनले बताइन । धानको वर्गका आधारमा बिउको रकम तलमाथि भएको उनको भनाई छ ।

navjiwan hospital

‘७५ रुपैयाँ प्रतिकिलोका दरले खरिद गरिएका ४ प्रकारका धानका बीउहरू मध्यम मसिनो वर्गका हुन, त्यसैले तिनीहरूको मूल्य केही कम छ’ उनले भनिन् ‘तर ७९ रुपैयाँ ५० पैसाका दरले खरिद गरिएका ५ प्रकारका बीउहरू मसिनो वर्गका हुन, त्यसैले उनीहरूको मूल्य केही महँगो पर्न गएको छ ।’

उनले प्रतिकिसानलाई बढीमा एक बिगाहा जमिनमा रोप्नका लागि मात्रै अहिले बिउ वितरण गरिरहेको बताइन । ‘चालु आर्थिक वर्षमा एउटा किसानलाई एक बिगाहा जमिनमा लगाउनका लागि बढीमा ३० किलो सम्म मात्रै हामीले बिउ उपलब्ध गराइरहेका छौ’ उनले भनिन् । मल्लले किसानहरूलाई बढी फल्ने उन्नत जातको बिउ वितरण गरिरहेको बताइन । ‘यहाँको जमिन हेरेर किसानहरूलाई राम्रो उब्जनी दिने खालका बीउहरू ल्याएर वितरण गर्ने काम गरिरहेका छौ’ उनले भनिन् ‘यहाँका कुनै बीउहरू सुख्खा खालको माटोमा पनि राम्रो उब्जनी दिने खालका छन् भने कुनै कुनै पानी बढी हुने तथा खल्ला हुने ठाउँमा पनि राम्रो उब्जनी दिने खालका छन् ।’

attariya technical collage

उनले आगामी दिनमा पनि किसानहरूको मागलाई मध्यनजर गर्दै सिजन अनुसारका कृषिका बीउहरू वितरण गरिने बताइन । नगरपालिकाले नयाँ निर्माण गरिएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवनबाट अहिले धानको बिउ वितरण गर्ने काम गरिरहेको छ ।