खाेज्नुहाेस

स्वदेशमै उद्योगी बनेर लाखौँ कमाउँछन् रमेश

Image
अत्तरिया– पछिल्लो समय युवाहरू बिदेसिने क्रम तीव्र छ । स्वदेशमा रोजगारीका अवसरहरू नभएको भन्दै या पढाइको बहाना बनाउँदै बिदेसिने युवाहरूको लामो लाइन त्रिभुवन विमानस्थलमा देखिन्छ । यस्तोमा करिब ३७ वर्षीय एक युवाले उद्योगमार्फत आफू मात्रै जमेका छैनन्, करिब १८ जनालाई रोजगारी समेत दिएका छन् ।
add everest academy
attariya hospital
कैलालीको गोदावरी नगरपालिका– ६ लालपुरमा सुदूर गार्मेन्ट सञ्चालन गरेर स्थानीय १८ जना महिलाहरूलाई रोजगारी दिन सफल भएका छन्, ३७ वर्षीय युवक रमेश महता । उनी उद्योगमार्फत आफू मात्रै हैन, स्थानीय महिलाहरूलाई पनि आत्मनिर्भर बनाइरहेका छन् । स्वदेशमा रोजगारी छैन भन्दै बिदेसिने युवाहरूका लागि गतिलो उदाहरण बन्न सफल भएका छन् उनी ।
attariya technical collage
navjiwan hospital
२०७३ सालमा लालपुरमा छरछिमेक सँग सापटी लिएर महताले सुदूर गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका थिए । गार्मेन्ट सम्बन्धी आफ्नो लामो अनुभव र श्रीमतीले पनि सिलाई सम्बन्धी काम गरेकाले गार्मेन्ट सञ्चालनमा आफूलाई सहजता भएको उनी बताउँछन् । ‘सुरुवाती चरणमा गार्मेन्ट अगाडी बढाउन केही समस्या थियो, तर मैले लामो समयसम्म गार्मेन्टमा काम गरेको र श्रीमतीले पनि सिलाइकटाई सम्बन्धी सिप सिकेको हुँदा सोचे जति अप्ठ्यारो भएन’ उनले भने ‘सानै लगानीबाट सुरु गरेको गार्मेन्टले राम्रो प्रगति गर्दै उद्योगको रूप लिएको छ ।’
गार्मेन्टमा मौसम अनुसारका कपडाहरू बनाउँदै आएका रमेशले २० वटा मेसिनहरू जडान गरेका छन् । जसमा स्थानीयहरू महिलाहरूले ज्यालादारीमा काम गर्दै आएको उनी बताउँछन् । ‘उद्योगलाई विस्तार गरेर अहिले २० वटा मेसिनहरू ल्याएको छु’ उनले भने ‘जहाँ अहिले स्थानीय महिलाहरूले दैनिक रूपमा काम गर्दै आइरहेका छन् ।’

यसरी जन्मियो सुदूर गारमेन्ट  

डडेल्धुराको भागेश्वर गाउँपालिका–५, बगरकोट सिराडमा जन्मिएका महताको बाल्यकाल सुखद रूपमा नै बित्यो । बुवा हिरा सिंह महता र आमा जननी सिंह महताको कोखबाट २०४३ साल फागुन ७ गते जेठो सन्तानको रूपमा जन्मिएका महताले बाल्यकालमा पारिवारिक रूपमा दुःखको अनुभूति गर्नुपरेन । बुवा साल्ट ट्रेडिङ्ग कर्पोरेसनका तत्कालीन प्रमुख पनि भएकाले उनलाई खान लाउन तथा ज्ञान आर्जनका लागी समस्या थिएन ।
तर उति बेला तत्कालीन नेकपा माओवादीको डरले १० कक्षाको पढाई छाडेर केही साथीहरूसँग भारत छिरेका उनले पहिलो पटक काम गर्नुपर्दा समस्या भोग्नुप-यो । आफूसँग केही सीप नभएपछि उनले भारतको दिल्लीमा चिया बेच्ने काम गरे । तर सो काम केही महिनामै छोडेर उनी दिल्लीमै हार्नेस बन्ने कम्पनीमा काम गर्न थाले ।
‘चिया बेच्ने कामले खान समेत पुग्दैनथ्यो । त्यसैले त्यसलाई बिचमै छाडी एउटा हार्नेस बनाउने कम्पनीमा काम गर्न थाले’ उनले भने ‘त्यसमा मासिक २ हजार २ सय भारतीय रुपैयाँ पाइन्थ्यो, उक्त कम्पनीमा काम गर्दा थोरै रकम भएनी बचत हुन्थ्यो ।’ सो काममा पनि चित्त नबुझेपछि उनले काम छोडे । केही समय दिल्लीकै गल्लीहरू चहार्दै दिन बिताएका उनले गार्मेन्ट सम्बन्धी सिप सिक्ने योजना बनाए । भारतमा केही दिन गार्मेन्टको काम सिकेका उनले गार्मेन्टको कम्पनीमा जागिर पाए । त्यसपछि उनले भारतका विभिन्न गार्मेन्ट कम्पनीहरूमा काम गरे  ।
झण्डै १० वर्ष भारतका विभिन्न गार्मेन्ट उद्योगहरूमा काम गरेका महताले उति बेला करिब ३५ देखी ४० हजार भारतीय रुपैयाँसम्म कमाउने गरेको अनुभव सुनाए । गार्मेन्टको सीप लिएर नेपाल फर्किएका उनको कञ्चनपुरकी मिना महता सँग बिहे भयो । बिहे पश्चात् परिवार पाल्नुपर्ने जिम्मेवारी आएपछि फेरि कामकै लागि उनी काठमाडौँ पसे ।
काठमाण्डौमा करिब १ वर्ष जति गार्मेन्टकै काम गरेका उनी त्यहीबाट गार्मेन्टकै काम गर्न मलेसिया गए । मलेसियामा करिब २ वर्ष गार्मेन्टको काम गरेर फर्किएपछि भने उनलाई बाहिर जान मन लागेन ।

४ करोड लगानी 

स्वदेशमै केही गर्नुपर्छ भन्ने उनको योजनाले सुदूर गार्मेन्टलाई जन्म दियो । सानो लगानीबाट सञ्चालनमा ल्याइएको सुदूर गार्मेन्ट छोटो समयमै उद्योगको रूपमा बिस्तार भएको छ । ९ वर्ष अगाडी पाँच लाख लगानीमा स्थापना गरिएको सुदूर गार्मेन्ट उद्योगको लगानी अहिले बढेर ४ करोड बढी पुगेको छ ।
सुरुमा गार्मेन्टमा उत्पादन गरिएका लुगा कपडा गार्मेन्टकै अगाडी खोलेको पसलबाटै बिक्री वितरण गर्दै आएका महताले अहिले छिमेकी बजारको साथसाथै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पठाउँदै आएका छन् । लत्ताकपडा ढुवानीका लागी अहिले उनले गाडी समेत खरिद गरेका छन् ।
झण्डै १३ वर्षको आफ्नो अनुभवलाई साकार पार्न उद्योगमा हात हालेर रमेशले अहिले आफूलाई एक अब्बल गार्मेन्ट उद्योगीका रूपमा स्थापित गरिसकेका छन् ।
उनले गार्मेन्टमा काम गर्ने महिलाहरूलाई सुरुवाती चरणमा ट्रेनिङ दिएर काममा राख्ने गरेका छन् । जसले गर्दा कामदारहरूको सीप पनि अभिवृद्धि हुने गरेको उनी बताउँछन् । अहिले सबै खर्च कटाएर उनी वार्षिक १२ देखी १५ लाखसम्म आम्दानी गर्दै आएको बताउँछन् ।
स्थानियस्तरमा हुने खेलकुदका कार्यक्रमहरूमा उनले आफूले सक्ने सहयोग गार्मेन्टमार्फत गर्दै आएका छन् । त्यति मात्रै नभई उनले समाजमा हुने अन्य विकास निर्माणका कार्यका साथै अनाथ एवम् असहायहरूलाई पनि सहयोग गर्दै आइरहेका छन् ।