अत्तरिया – सुदूरपश्चिममा मादक पदार्थ सेवन (मापसे) गरेकाहरूबाट प्रहरीले ७ लाख बढी राजश्व संकलन गरेको छ । प्रहरीले चालु आर्थिक वर्षको मसान्त सम्ममा १ हजार २९८ सवारी साधनलाई कारबाही गरेर ७ लाख ९ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता सुरज खड्काका अनुसार गत आर्थिक वर्षमा मापसे कारबाहीमा परेर ३९ लाख १८ हजार राजश्व संकलन गरिएको थियो । जसमा ३ हजार ९१८ सवारी साधन कारबाहीमा परेका थिए ।
प्रहरीले यसअघि मापसे कारबाहीमा परेकाहरूलाई पहिलो पटकमै १ हजार राजश्व तिराउने गरेकोमा चालु आर्थिक वर्षबाट पहिलो पटकलाई ५ सय मात्रै जरिवाना तोकिएकाले राजश्व कम संकलन भएको प्रवक्ता खड्काले बताए । सुदूरपश्चिम प्रदेशका सबै ठाउँमा ट्राफिक प्रहरीले मापसे जाँच गर्दै आएको भए पनि सबै ठाउँमा मापसे जाँच गर्ने ब्रेथलाइजर मेसिन भने पुग्न सकेको छैन । जसले गर्दा मेसिन नभएका ठाउँमा प्रहरीले मुख सुँघेर नै जाँच गर्ने गरेको छ ।

प्रवक्ता खड्काका अनुसार हाल प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बाजुरा र बैतडीमा मात्रै ब्रेथलाइजर मेसिन उपलब्ध छ । बाँकी ठाउँमा प्रहरीले मुख सुँघेर नै जाँच गर्ने गरेको छ । ‘मुख सुँघेर, चालकको हाउभाउ हेरेर पनि मापसे गरेको थाहा हुने भएकाले मेसिन नभएका ठाउँमा मेनुअली काम गरिरहेका छौ’ प्रवक्ता खड्काले भने ‘कुनै समस्या आएमा मेडिकल जाँच गरेर पनि हामीले मापसे जाँच गर्ने गरेका छौ ।’ मापसे जाँच गरेपछि पोजेटिभ रिपोर्ट आएमा कैलालीमा ट्राफिक प्रहरी कार्यालयले सचेतना कक्षामा सहभागी गराएर मात्रै छोड्ने गरेको छ । मापसे गरेकाहरूलाई प्रत्येक हप्ताको शुक्रवार सञ्चालन हुने सचेतना कक्षामा सहभागी गराएर मात्रै सवारी साधनका कागजात दिएर छोड्ने गरिएको छ ।

झारो टार्ने काम
सुदूरपश्चिमको प्रदेश कार्यालय रहेको अत्तरियामा पनि ट्राफिक प्रहरीले दैनिक जसो मापसे जाँच गर्ने गरेको छ । तर, उक्त जाँच गर्दा धेरै जसो मापसे गरेकाहरू प्रहरी देख्ने बित्तिकै टाढैबाट भागेर अर्को बाटो प्रयोग गर्ने गरेको स्थानीयको आरोप छ ।
प्रहरीले प्रदेश कार्यालय अगाडि उभिएर मापसे जाँच गर्ने गरेको भए पनि मापसे गरेकाहरू भने अत्तरिया चोकबाटै प्रहरीलाई देखेपछि अरू बाटो प्रयोग गर्ने गरेको एक स्थानीयले बताए । प्रहरीले निपक्ष मापसे जाँच गर्नको लागि चोकमा पनि प्रहरी परिचालन गर्नुपर्ने उनको सुझाव छ । स्थानीय विनोद जोशीले अत्तरियामा मापसे जाँच गर्न कार्य झारो टारे सरह भएको बताए । ‘चोक नजिकै प्रहरीले सिटी बजाएर मापसे जाँच गर्छ ।
यसरी मापसे जाँच गर्दा मापसे गरेकाहरू चोकबाट अर्को बाटो मोडिहाल्छन’ उनले भने ‘प्रहरीले पनि यसरी मापसेको कारबाहीमा पर्नबाट जोगिन फर्किरहेकाहरूलाई हेरिरहेको हुन्छ ।’ उनले मापसे जाँच गर्दा सधैँ प्रहरी एकै ठाउँमा बस्दा धेरैले अर्को बाटो प्रयोग गर्ने भएकाले स्थान परिवर्तन गर्न आवश्यक रहेको बताए ।

















