खाेज्नुहाेस

शिक्षाको विकासका लागि साँझा धारणा बनाउन जोड

Image

अत्तरिया – कैलालीको गोदावरीमा शिक्षाको विकासका लागि साँझा धारणा बनाउनु पर्नेमा जोड दिइएको छ । बिहीबार गोदावरीमा आयोजित एक कार्यक्रममा सहभागी शिक्षाविद्, प्रधानाध्यापक, विद्यालय सञ्चालकहरूले आफ्नो धारणा राख्दै  नगरको समग्र शिक्षाको विकास गरी गोदावरीलाई शिक्षाको हब बनाउन निजी र सामुदायिक विद्यालय नभनी साझा धारणा बनाउनु पर्नेमा जोड दिएका हुन् ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष जगवीर थापाले अहिले मावि तह सम्मको शिक्षा पालिका मातहतमा भएकाले गोदावरी नगरपालिकाले यस क्षेत्रको शिक्षा कस्तो बनाउने भनेर लाग्नुपर्ने बताए । ‘अहिले निजी विद्यालयलाई सौतेनी व्यवहार गरिरहेको छ’ उनले भने ‘यहाँ पढ्ने विद्यार्थीहरूलाई एउटै चस्माको दुई वटा लेन्सले हेरिनु हुँदैन । दुई लेन्सबाट हेरियो भने यो क्षेत्रमा शिक्षाको विकास हुँदैन ।’

add everest academy
attariya hospital

उनले काठमाण्डौंको धुलिखेल नगरपालिकामा पालिका भित्र रहेका निजी विद्यालयमा पनि स्यानेटरी प्याड, दिवा खाजा दिने गरेको बताउँदै यस क्षेत्रले पनि त्यसको सिको गर्नुपर्ने बताए । उनले निजी विद्यालयमा धनीका छोराछोरी मात्रै बढ्छन् भन्ने भ्रम हटाउनु पर्ने बताए । शिक्षा क्षेत्रमा निजी क्षेत्र नभए नेपालको शिक्षा क्षेत्र नै धराशायी हुने उनले बताए ।

दुर्गालक्ष्मी क्याम्पस प्रमुख नरेन्द्र बहादुर ऐरले निजी क्षेत्रको शिक्षामा ठुलो योगदान गरेको बताए । उनले अहिले युनिभर्सिटी, क्याम्पस जोगाउने क्षेत्र नै निजी विद्यालय भएको बताए । ‘शिक्षाको समग्र विकासका लागि सबैको हातेमालो हुन आवश्यक छ । यसमा नगरपालिकाले मुख्य भूमिका खेल्नुपर्छ’ उनले भने ‘अहिलेको शिक्षा प्रविधि सँग जोडिएको छ । त्यसैले अहिलेका विद्यार्थीलाई प्रविधिसँग जोडेर शिक्षा ग्रहण गराउन सकिन्छ ।’

navjiwan hospital

प्याब्सन केन्द्रीय सदस्य योगेन्द्र हमालले अहिले पनि राज्यको निजी क्षेत्रका विद्यालयलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । ‘पहिलेको तुलनामा केही सुधार आए पनि अझै सुधारको आवश्यकता छ’ उनले भने ‘हामीलाई स्थानीय सरकारले सामान व्यवहार गरेको छ भन्ने महसुस गर्ने गरी काम गरिदिए शिक्षाको समग्र विकासमा टेवा पुग्छ ।’ निजी विद्यालयले सरकारले पुरा गर्नुपर्ने शिक्षाको दायित्व पुरा गरिरहेको बताए । उनले अहिले धेरै विद्यार्थी विदेश पलायन भइरहेकाले विद्यार्थीलाई रोक्न शिक्षाको गुणस्तर सुधार र रोजगारको सुनिश्चितता गरिनुपर्ने बताए । उनले नगरपालिकाले ‘हाम्रो गोदावरी’ पुस्तकको पाठ्यक्रम बनाएको सुनेपनि त्यसको पाठ्यपुस्तक अहिले सम्म देख्न नसकिएको बताए । उनले विद्यार्थीको लागि नगर स्तरीय प्रश्न पत्र बनाउँदा पनि विज्ञ व्यक्तिलाई सहभागी गराएर तयार गरिनुपर्ने बताए ।

attariya technical collage

दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापक शिवराज जोशीले अत्तरिया क्षेत्रभित्र स्वच्छ शैक्षिक प्रतिस्पर्धा हुन नसक्दा यस क्षेत्रबाट विद्यार्थी पलायन हुने अवस्था रहेको बताए । ‘हाम्रो क्षेत्रमा सम्पूर्ण पूर्वाधार हुँदा हुँदै पनि विद्यार्थी बाहिर जाने गरेका छन्’ उनले भने ‘जुनसुकै विद्यालय भए पनि ती सबैको उद्देश्य र लक्ष्य एउटै हुने भएकाले हामी सबैले नगरपालिकालाई कसरी शिक्षाको केन्द्र बनाउन सकिन्छ भन्ने बारेमा सोच्नु पर्ने छ ।’

उनले अहिले निजी क्षेत्र र सामुदायिक विद्यालयको बिचको विभेद कम हुँदै गएको बताए । उनले पहिले नगरपालिकाको शिक्षा समिति, विभिन्न शैक्षिक गतिविधिमा निजी क्षेत्रका विद्यालयहरूलाई सहभागी नगराउने गरिएकोमा अहिले ती कुरा हट्दै गएको बताए ।

एभरेष्ट एकेडेमीका प्रिन्सिपल वंशीराम चौधरी (स्माईल) ले अहिले ग्लोबराइजेसनको समय भएकाले विद्यार्थीलाई विश्व स्तरीय प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्ने बताए । उनले शिक्षाको मूल्याङ्कन जिपिएमा मात्रै नगरी विद्यार्थीको ज्ञान सिपमा मूल्याङ्कन गरिनुपर्ने बताए । उनले शिक्षाको विकासको लागि संयुक्त रूपमा सबै बसेर गुणस्तर सुधारका लागि लाग्नु पर्ने बताए ।

नगर शिक्षक समिति सदस्य डा. डम्बर पालले अहिले गोदावरी नगरपालिकाले सबैलाई समावेश गराएर शिक्षाका गतिविधि अगाडि बढाएको बताए । उनले नगरपालिकाले निजी र सामुदायिक विद्यालय बिचको विभेद कम हुँदै गएको बताए । ‘अहिले नगरपालिकामा सामुदायिक विद्यालय र संस्थागत विद्यालयको नतिजा कम आएकाले यसको सुधारका लागि सबै लाग्न आवश्यक छ’ उनले भने ‘शिक्षा क्षेत्रमा जुन सुकै विद्यालयको कम नतिजा आए पनि त्यसको समग्र असर नगरपालिकामा पर्ने भएकाले त्यसमा सुधार ल्याउनु पर्ने छ ।’ उनले स्थानीय तहले तयार पारेको पाठ्यपुस्तक सबै सामुदायिक विद्यालयमा अध्यापन गराउनु पर्ने बताए ।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले नगरपालिकाले संस्थागत र सामुदायिक विद्यालय बिच विभेद नगरिएको बताइन् । उनले नगरको समग्र शिक्षाको विकासका लागि संस्थागत र सामुदायिक विद्यालयको अहम् भूमिका रहेको बताइन् ।