अत्तरिया – कैलालीको धनगढीमा तिहारका लागि ‘१०८ दि डिभाइन एग्रो फार्म’ ले २५ हजार फूलका माला तयार गरिरहेको छ । अछामको मेल्लेख गाउँपालिका–४ का रोशन साउँद र दशरथ साउँदले धनगढी उपमहानगरपालिका – ९ बङ्ग्राकटानमा २ बिघा जग्गा भाडामा लिएर फूलका माला तयार गरिरहेका हुन ।
फार्मका सञ्चालक रोशन साउँदले लक्ष्य अनुसार २५ हजार मालाका लागि फूल उत्पादन भएको र अहिले धमाधम माला तयार गर्ने काम भइरहेको बताए । उनले विशेष प्रविधि प्रयोग गरेर उन्नत जातको बीउ प्रयोग गर्दा २ बिगाहा मै धेरै उत्पादन लिन सकिएको बताए । ‘हामीले थाइल्यान्डबाट बढी उत्पादन दिने सयपत्रीको कर्मा जातको बिउ ल्याएका थियौ’ उनले भने ‘यो जातको बिउले स्थानीय स्तरमा उत्पादन हुने जातको सयपत्री भन्दा १० गुणा बढी उत्पादन दिन्छ ।’


उनले कर्मा जातको सयपत्री फुल हुर्काउन निकै जटिल भए पनि उत्पादन भने राम्रो हुने बताए । उनले फुलको साइज पनि एकै किसिमको उत्पादन हुने बताए । उनले १ हजार बिउ दानाको मात्रै ५ हजार ५ सय रुपैयाँ पर्ने बताए । १ हजार बिउ कटिङ गरेर १० हजार सम्म बेर्ना तयार गर्न सकिने उनको भनाइ छ ।
‘पछिल्लो समय कैलालीमा पनि केही किसानले कर्मा जातको फूल खेती गरेका छन्’ उनले भने ‘कर्मा जातको बिउ नेपालमा नपाइने भएकाले मैले नै केही किसानहरूलाई यसको बिउ उपलब्ध गराएको थिए ।’ धनगढीमा हाल भारतबाट आयात गरेको बिउबाट फूल खेती गरिँदै आएको छ ।
कृषि जेटिए पढेका रोशन र दशरथले ५ वर्ष अघि देखि कपिलवस्तुका भास्कर पङ्गेनीसँग मिलेर नेपालको कपिलवस्तु, दाङ र कोहलपुरमा पनि व्यावसायिक फूल खेती सँगै कृषि कार्य गरिरहेका छन् । उनीहरूले १०८ नामक फेसबुक पेजबाट फूलको बजारीकरण गर्दै आएका छन् ।


















