रक्षा भट्ट, अत्तरिया- कैलालीको जानकी गाउँपालिका-८ जवलपुरका भागीराम चौधरीले कक्षा १० पछि पढाइ छोड्नुपर्यो । एसएलसीसम्म गरेका उनले आर्थिक अभावका कारण अध्ययनलाई निरन्तरता दिन पाएनन् । ‘आर्थिक अवस्था निकै कमजोर थियो, पैसा नभएपछि पढ्न पनि सकिएन, पढ्ने मन त नभाको हैन, परिस्थितिले दिएन,’ उनले भने । एसएलसीकै समयमा दाजुभाइ अलग हुनु, बुढा आमाबुवासँग एक्लै बस्नु जस्ता कुराले पढाइ छोड्नुपर्ने अवस्था सिर्जना भएको उनी बताउँछन् । ‘दाजुभाइहरु अलग भयौँ, म आमाबुवासँग बसेँ, बुवाले खेतीपातीकै काम गर्नुहुन्थ्यो, आफूले पनि सघाउनैपर्यो, काम नगरी खान पुग्ने अवस्था पनि थिएन,’ उनले भने ।
भागीरामसँग त्यतिबेला दुई बिघा जमिन थियो । खेतीपातीका लागि जमिन करिब पर्याप्त नै भएपनि दुई बिघा क्षेत्रफलमा लगाइएको खेतीले उनको परिवारलाई खान मात्र पुगिरहेको थियो । ‘हामीसँग खेतीपातीका लागि जमिन त पर्याप्त नै हो, दुई बिघा भनेको राम्रै जमिन हो तर खानलाई मात्र पुग्थ्यो,’ उनी भन्छन्, ‘हामी धानगहुँ मात्र लगाउँथ्यौँ, त्यो खानलाई ठिक्क हुन्थ्यो, बेच्ने आम्दानी हुने भन्ने त कुरै थिएन ।’


छिमेकीले सुझाए व्यवसायिक खेती
मेहनत गरे माटोमा सुन फलाउन सकिन्छ भन्ने भनाइका एक बलिया उदाहरण हुन् भागीराम । भागीरामलाई कृषिमा मार्गदर्शन र सहयोग पुर्याइरहेका उनका बुवाको मृत्यु भएपछि अब परिवारको सबै जिम्मेवारी उनकै काँधमा आइपर्यो । ‘मेरो बुवा बित्नुभएको अहिले १६ वर्ष भयो, बुवाको मृत्युपछि घरको पूरै जिम्मेवारी मैमाथि आयो, खान पुगिरहेको भएपनि आम्दानीको स्रोत खोज्नुपर्ने अवस्था आएको थियो, त्यसै क्रममा म व्यवसायिक तरकारी खेतीमा लागेँ,’ उनले सुनाए । गाउँकै एक जना कृषकले तरकारी खेतीबारे सुझाएपछि आफूले थोरै थोरै गरेर तरकारी खेती सुरु गरेको उनी बताउँछन् । ‘हाम्रो गाउँकै एक जना किसान हुनुहुन्छ, उहाँ हाम्रो खेतमा पनि काम गर्नुहुन्थ्यो,’ उनी सुनाउँछन्, ‘एकदिन उनैले यो धानगहुँ मात्रै भन्दा तरकारी खेती गर्न राम्रो हुन्छ, त्यसबाट पैसा पनि आउँछ भनेर सिकाए, अनि अलि अलि गरेर सुरु गरेको हुँ ।’


कृषिबाटै घर, जमिन र गाडी
२०६५ सालदेखि तरकारी खेती सुरु गरेका ३५ वर्षीय भागीरामले २०७० सालबाट व्यवसायिक रुपमा तरकारी खेती सुरु गरेका थिए । यो १६ वर्षमा उनले कृषि कार्यबाटै दुईतले पक्की घर बनाएका छन् भने १० कठ्टा जमिन, दुई ओटा मोटरसाइकल र तरकारी ढुवानीका लागि एउटा गाडी समेत किनेका छन् । ‘मैले यही खेतीपातीबाटै २०७२ सालमा एकतले घर बनाए, पछि घरको तला थपे, त्यसपछि तरकारी बेच्न लैजानका लागि एउटा सेकेण्डहेण्ड मोटरसाइकल किने,’ उनी सुनाउँछन्, ‘मोटरसाइकलमा तरकारी बेच्न सुरुसुरुमा गाउँ–बजार सबैतिर डुलाइयो, पछि अर्को नयाँ मोटरसाइकल पनि किने, मोटरसाइकलमै बजारका पसलहरुमा तरकारी पुर्याउन थाले तर त्यसमा तरकारी कमै अटाउने, बोक्न समस्या हुनथाल्यो अनि तरकारी ढुवानीका लागि एउटा गाडी नै किने ।’

उनले अहिले सो गाडीबाट आफ्नो मात्र नभई गाउँका अन्य कृषकहरुको पनि तरकारीहरु ढुवानी गर्ने गरेका छन् । ढुवानी गरेवापत उनले शुल्क पनि पाउँछन् । ‘यताका अरु किसानहरुको तरकारी पनि यही गाडीबाट बजार पुर्याउँछुँ, त्यसबापत उहाँहरुले पैसा दिनुहुन्छ,’ उनले भने । अहिले भागीरामलाई तरकारी बजार पुर्याउन समस्या छैन । उनले गाडी किनेर तरकारी ढुवानी गरी त्यसवाफत आर्थिक लाभ पनि लिइरहेका छन् ।
वार्षिक १० देखि १२ लाखसम्म आम्दानी
तरकारी खेतीबाट भागीरामले वार्षिक १० देखि १२ लाखसम्म आम्दानी हुने गरेको बताए । ‘तरकारी खेती गरेर मैले वर्षमा १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी लिइरहेको छुँ, धानगहुँ भन्दा यसमा उत्पादन र आम्दानी दुबै दोब्बर भन्दा बढी छ, करिब तेब्बर नै छ, पहिला धान गहुँबाट आम्दानी हुन्थेन, अहिले खानलाई राखेर केही मात्रामा धान गहुँ पनि बेच्ने गरेको छुँ,’ उनले भने । उनले आफ्नो खेतबारीमा गोठेमल र गँड्यौला मल प्रयोग गर्ने गरेको बताए । उक्त मल बजारमा किन्न पाइने बताउँदै उनले आफूले किनेरै ल्याउने गरेको बताए । भागीरामको उनीसहित आमा, श्रीमती र छोरा गरी अहिले चार जनाको परिवार छ । कृषिबाटै उनको परिवारले आर्थिक उन्नति गर्न सकेको छ ।
उनले मौसम अनुसार बर्खे, हिउँदे तरकारीहरु लगाउने गरेका छन् । काउली, खुर्सानी, टमाटर, आलु, लहरे तरकारीमा लौकी र फर्सी लगाउने गरेका छन् । ‘मसँग दुई बिघा जमिन छ, अर्को एक बिघा लिजमा लिएको छुँ,’ उनले भने, ‘एक बिघा जमिनमा यसपालि आलुखेती गर्ने तयारी छ ।’ गत वर्ष पाँच कट्ठा जमिनमा मात्र आलुखेती गरेका उनले उत्पादन राम्रो भएपछि यस वर्ष खेती गर्ने क्षेत्रफल बढाउने सोचेको बताए । बजारमा थारु आलुको माग धेरै भएकाले सोही आलु लगाउने तयारी रहेको उनले बताए । ‘पोहोर साल पाँच कट्ठामा मात्र आलु लगाएको थिए राम्रो फल्यो, बजारमा थारु आलुको माग बढी छ, फल्छ पनि राम्रो त्यहीभएर यो वर्ष एक बिघामा लगाउँदैछुँ,’ उनले भने ।
उनले अहिले खेतमा काउली, खुर्सानी र टमाटर लगाएका छन् । जुन फल्ने अवस्थामा छ । उनले आफ्नो बारीमा उत्पादित तरकारी कैलालीको लम्की, बहुनिया, सुखड हुँदै दाङ, बुटवलसम्म पुर्याउने गरेका छन् । ‘बढीजसो तरकारी बेच्न लगिने भनेको यतै लम्कीदेखि सुखड बहुनियातिर हो, उत्पादन बढी भयो भने दाङ, बुटवलसम्म लैजान्छौँ,’ उनले भने ।
















