खाेज्नुहाेस

वैकल्पिक खेतीका रूपमा विस्तार हुँदै फूल

Image

अत्तरिया – फूलै फूलको पर्व तिहारलाई पछ्याएर फूलको खेती गरेका किसानको अहिले निकै व्यस्तता बढेको छ । तिहारका लागि फूल हुर्काइरहेका किसान परम्परागत खेतीको तुलनामा तेब्बर आम्दानी गर्ने आशामा छन् । धनगढी उपमहानगरपालिका – ६ मटियारीमा गत वर्ष देखि फूल खेती गर्दै आएकी सुशीला विष्टको २ बिगाहा जग्गामा अहिले लटरम्म सयपत्री फुलिसकेका छन् । गत वर्ष डेढ बिगाहामा फूल खेती गरेकी उनले यस वर्ष थप आधा बिगा जग्गा भाडामा लिएर फूल खेती गरेकी छिन् ।

‘गत वर्ष हुनुपर्ने जति आम्दानी नभएपछि बजार राम्रो पाइयो’ उनले भनिन् ‘फूल खेतीबाट राम्रो आम्दानी हुने सोचले यस वर्ष क्षेत्रफल पनि बढाएर फूल खेती गरेका छौ । यस वर्ष उत्पादन पनि राम्रो भएकाले आम्दानी राम्रै हुने आशा छ ।’

attariya hospital

सुशीलाका श्रीमान् शङ्कर पनि विगत ५ वर्ष देखि वैकल्पिक खेतीमै आबद्ध छन् । ५ वर्ष अघि कैलारीमा घाँसको खेती गरेका उनीहरूले गत वर्ष देखि फूल खेतीमा लागेका हुन । हाल उनीहरूले बाह्रै महिना फूल खेती गर्दै आएका छन् ।

‘तिहारका लागि साउन महिनामा रोपेका फुल अहिले लटरम्म फुलेका छन्’ सुशीलाले भनिन् ‘बिक्रीका लागि बजारको पनि समस्या छैन । सकेसम्म धनगढी मै बेचिन्छ । यता नबेचिए काठमाण्डौं, पोखरा, नेपालगन्ज, दाङ सम्म पठाउने गरेका छौ ।’ उनले तिहार बाहेकको समयमा पनि फूलको राम्रै बजार भएको बताइन् ।

धनगढीमा पसल राखेर आफै फूलको बजारीकरण गरिरहेकी उनले तिहार बाहेकको समयमा थोरै थोरै जग्गामा फरक–फरक समयमा फूल खेती गर्ने गरेको बताइन् ।

उनले भनिन ‘सयपत्री डेढ महिनामै फुलिहाल्छ । ६ महिनाको यसको अवधि हुन्छ । हामीले तिहार बाहेकको समयमा पुरै दुई बिगाहामा एकै पटक खेती गर्दैनौ । ४/५ कट्ठाको सिफ्ट गरेर खेती गर्ने गरेका छौ । जसले गर्दा बाह्रै महिना फूल उत्पादन हुन्छ ।’ उनले फूल खेतीको लागि नगरपालिकाले पनि सहयोग गर्ने गरेको बताइन् । फूल खेतीमा जङ्गली जनावरको पनि समस्या नहुने उनले बताइन् ।

सिजनमा धनगढीमा ५ सय रुपैयाँ किलोका दरले फूल बिक्री हुने गरेको उनले बताइन् । राम्रो मिहेनत गरे एक कट्ठामा डेढ लाख आम्दानी गर्न सकिने उनको भनाइ छ । ‘फुल खेती गर्दा राम्रो उत्पादन भएमा एक कट्ठा मै डेढ लाख सम्म आम्दानी गर्न सकिन्छ । तर, त्यसका लागि लगानी र मेहनत बढी नै लाग्छ’ उनले भनिन् ‘बढी मिहेनत र लगानी लागे पनि धान, गहुँ खेतीको तुलनामा तीन गुणा बढी आम्दानी हुन्छ ।’

navjiwan hospital

उनले धान, गहुँ खेती गर्दा मिहेनत गरे अनुसार नाफा नहुने र जोखिम पनि बढी हुने बताइन् । ‘गहुँ धान खेती गर्दा आफ्नै उत्पादन आफैले किने जस्तो हुन्छ, खासै नाफा हुँदैन’ उनले भनिन् ‘त्यसले हामीले पहिले देखि वैकल्पिक खेती गर्दै आएका थियौ । सोही अनुसार अहिले फुल खेतीमा लागेका छौ ।’

धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानमा गत वर्ष देखि फूल खेती गर्दै आएका रोशन साउँदले पनि छोटो समयमा नगद आम्दानी हुने भएकाले आफूहरू फूल खेतीमा लागेको बताए । उनले परम्परागत खेती भन्दा फूल खेतीमा राम्रो आम्दानी हुने गरेको बताए । तीन जना युवा मिलेर धनगढीमा २ बिगाहा जग्गा भाडामा लिएर फूल खेती गरिरहेका उनले फुल सँगै मेवा पनि खेती गरेको बताए । उनले फूल खेती पछि स्ट्रबेरी खेती गर्ने योजना रहेको सुनाए ।

विगत १० वर्ष देखि कृषिमा लागेका उनीहरूले दाङ, कपिलबस्तु, कोहलपुरमा पनि जग्गा भाडामा लिएर फूल खेती गर्दै आएका छन् । गत वर्ष देखि धनगढीमा फूल खेती गरेका उनले धनगढीमा प्लास्टिक निषेध गरिएपछि फूल खेतीमा लागेको बताए ।

‘धनगढीमा प्लास्टिक निषेध छ । त्यही भएर यहाँ फुल खेतीको राम्रो सम्भावना छ । गत वर्ष राम्रै बिक्री भएको थियो’ उनले भने ‘परम्परागत गहुँ, धानको उत्पादन लिन ६ महिना सम्म कुर्नुपर्ने हुन्छ । यसमा २÷३ महिनामा आम्दानी लिन सकिन्छ । बजारको पनि समस्या छैन ।’ उनले उत्पादित फूलको बजारीकरण फेसबुक पेज मार्फत गरिने गरेको बताए । ‘१०८’ नाम गरेको फेसबुक पेज बनाएका उनीहरूले त्यसैमार्फत देशभरिबाट फूलको अडर आउने गरेको बताए ।

लामो समय देखि फलफूलको खेती गर्दै आएका धनगढी उपमहानगरपालिका – १२ जुगेडा प्रताव सिंह विष्टले पनि गत वर्ष तिहार लक्षित सयपत्रीको फूल खेती गरेका थिए । कागती, आँप, लिची खेती गर्दै आएका उनले फूल खेती पनि थप गरेपछि आम्दानीको श्रोत बढेको बताए । उनले फूल खेतीमा राम्रो आम्दानी हुनुका साथै बजार पनि सहज रहेको बताए ।

प्लास्टिक निषेध गर्दा सहज

सुदूरपश्चिमका बजारहरूमा तिहारको समयमा भारतबाट भित्र्याइएका प्लास्टिकका मालाले ओगट्ने भएकाले फूल खेती फस्टाउन पाएको थिएन । तर, गत वर्ष कैलालीका केही पालिकाहरूले तिहारमा प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि फूल खेतीमा एकाएक किसानको आकर्षण बढेको छ ।

गत वर्ष धनगढी उपमहानगरपालिकाले प्लास्टिक निषेध गरेर किसानहरूलाई फूल खेतीका लागि तालिम पनि दिएको थियो । गत वर्ष नै कैलालीको गोदावरी नगरपालिकाले पनि तिहारमा प्लास्टिकको मालामा प्रतिबन्ध लगाएको थियो भने यस वर्ष कैलालीको टीकापुर नगरपालिकाले पनि प्लास्टिक निषेध गरेको छ । कैलालीका मुख्य सहर धनगढी, अत्तरिया र टीकापुरमा प्लास्टिक माला निषेध गरिएपछि यस वर्ष फुल खेती गरेका किसान झन् उत्साहित भएका छन् ।