अत्तरिया – कैलालीमा तरकारीको मूल्य आकासिएको छ । पछिल्लो समय लगातारको वर्षा सँगै उत्पादनमा कमी आउँदा हाल बजारमा तरकारीको मूल्य आकासिएको हो । माग बढे पनि सो अनुसार उत्पादन नहुँदा गोलभेँडा र प्याजको मूल्य अहिले अत्यधिक वृद्धि भएको छ । कृषि बजार व्यवस्थापन समिति अत्तरियाले सोमबार जारी गरेको मूल्य सूची अनुसार गोलभेँडाको मुख्य १४५ पुगेको छ ।
समितिका अनुसार गोलभेँडा नेपाली ११५ रुपैयाँमा विक्री भइरहेको भए पनि भारतीय गोलभेँडा भने १४५ मा कारोबार भइरहेको छ । यस्तै चाडपर्वको समयमा बढी माग हुने सुकेको प्याजको मूल्य पनि १३५ रुपैयाँ पुगेको छ ।

यसअघि असोज १४ गते सम्म कैलालीमा नेपाली गोलभेँडाको मूल्य १ सय र प्याजको मूल्य १०८ रुपैयाँ रहेको थियो । गोलभेँडाको मूल्यमा सोमबार कमी आएको भए पनि दसैँ टिकाको दिन २ सय रुपैयाँ प्रतिकेजी सम्म कारोबार भइरहेको थियो ।
बर्सातमा उत्पादन गर्न चुनौती
कैलालीको गोदावरी नगरपालिका –८ का श्रीराम चौधरी बाह्रै महिना तरकारी खेती गर्ने किसान हुन । तर, बर्सात सुरु भएपछि भने उनले तरकारी खेतीबाट सोच अनुसारको लाभ लिन सकेका छैनन् । बर्सातमा लहरे बाली, भिण्डी, गोलभेँडा लगायतका तरकारी खेती गरेपछि उनले त्यसबाट अपेक्षा गरे अनुसारको लाभ लिन सकेका छैनन् । ‘तरकारी बर्सातमा पनि रोप्न त रोपेको हुन्छु । तर, किन हो उत्पादन राम्रो हुँदैन । बोट नै राम्रो हुर्किदैन’ उनले भने ‘कहिले काहीँ झन् बढी वर्षा हुँदा तरकारी तहसनहस हुन्छ ।’
श्रीराम जस्तै कैलालीमा अधिकांश किसानले वर्षे तरकारी राम्ररी फलाउन सकेका छैनन् । केही किसानले टनेल प्रयोग गरेर खेती गरेका भएपछि धेरै वर्षा हुँदा टनेल नै डुबानमा पर्ने गरेका छन् । बर्सातको समयमा तराइमा तरकारी उत्पादन गर्न धेरै चुनौती भएकाले त्यसको विकल्पका रूपमा नजिकको पहाडी क्षेत्रमा उत्पादन बढाउने या भण्डारणमा ध्यान दिनुपर्ने अगुवा किसान प्रकाश थापा बताउन्छन ।
‘तराइ क्षेत्रमा बर्सातको समयमा तरकारी उत्पादन गर्न एकदमै चुनौती छ’ उनले भने ‘यसको विकल्पका रूपमा कैलालीकै पहाडी क्षेत्रमा पनि उत्पादन बढाउन सकिन्छ । या बर्सात सुरु हुन अघि उत्पादन भएको तरकारीको कोल्ड स्टोरमा भण्डारण गर्न सकिन्छ ।’
मनोमानी मूल्य निर्धारण

बर्सातको समयमा स्थानीय स्तरमा तरकारीको उत्पादनमा कमी आउँदा त्यसको फाइदा व्यवसायीले लिने गरेका छन् । बर्सातको समयमा तरकारीको उत्पादन कम हुँदा पनि दसैँ, तिहार छठ पर्वका कारण माग भने बढ्ने गरेको छ । जसले गर्दा बजारमा व्यवसायीले आफूखुसी मूल्य निर्धारण गरेर तरकारीको विक्री वितरण गर्ने गरेका छन् । कैलालीको अत्तरियाकी अञ्जली नाथले बजारमा पसल पिच्छे आफूखुसी तरकारीको मूल्य कायम गरिएको बताइन् । उनले अत्तरियामा पसलपिच्छे गोलभेँडाको १५० देखि २०० सम्म मूल्य तोकिएको बताइन् ।
दसैँको भिडभाडमा व्यवसायीले आफूखुसी मूल्य निर्धारण गरेर व्यापार गरिरहेका भए पनि नियमन निकाय भने मौन रहेको स्थानीयको गुनासो छ । स्थानीय दिनेश विकले बजारमा एउटै प्रकृतिको सामानको मूल्य पनि फरक फरक तोकिदा स्थानीय सरकारले बेवास्ता गरेको बताए । उनले बजारमा मनोमानी गरिदा पनि नियमन निकाय मौन हुँदा यस्ता व्यवसायीले प्रोत्साहन पाएको बताए ।
उनले फलफूलको मूल्य पनि फरक फरक रहेको बताए । ‘जुम्लाको स्याउ पनि ठेला पिच्छे फरक फरक मूल्य तोकिएको छ । कुनै पसलमा १५० तोकिएको छ भने कुनैमा २ सय सम्म लिने गरिएको छ’ उनले भने ‘जुम्लाको स्याउलाई भारतको स्याउ भनेर पनि बढी मूल्य तोकिएको छ ।’ उनले बजारमा अनुगमन नहुँदा मनोमानी कारोबार भइरहेको बताए ।
कोल्ड स्टोर अलपत्र
मूल्यमा हुने अस्वाभाविक उतार चढाव रोकेर किसानले उचित मूल्य पाउन भन्ने उद्देश्यले निर्माण सुरु गरिएको कोल्ड स्टोर (चिस्यान केन्द्र) भने अलपत्र अवस्थामा रहेको छ । सुदूरपश्चिमको कृषि उपज थोक बजारमा २०७५ साल देखि नै निर्माण सुरु गरिएको कोल्ड स्टोर अझै सञ्चालनमा आउन सकेको छैन ।

कोल्ड स्टोर निर्माणका लागि कृषि मन्त्रालयले ५० लाख, गोदावरी नगरपालिकाले ४५ लाख र कृषि बजार व्यवस्थापन समितिले १० लाख रुपैयाँ लगानी गरेर फाउन्डेसन तयार गरेका भए पनि आवश्यक उपकरणको जोहो नगरिँदा कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । पछि आवश्यक उपकरण राख्नको लागि प्रदेश सरकार मार्फत काम अगाडि बढेको भए पनि काम निकै सुस्त छ । सुदूरपश्चिमका नौ वटै जिल्ला सँगै भारतबाट पनि तरकारीको आयात निर्यात हुने यस बजारमा निर्माण गर्ने भनिएको ३ सय २५ मेट्रिक टन क्षमताको कोल्ड स्टोर अलपत्र हुँदा उत्पादित तरकारी तत्काल विक्री गर्नु पर्ने समस्याका कारण पनि मूल्यमा उतारचढाव आउने गरेको छ ।
कृषि उपज थोक बजार समितिका अध्यक्ष नन्द लाल भट्टले भने हाल कोल्ड स्टोरको काम सकिएको भए पनि प्रदेश सरकारले समितिलाई हस्तान्तरण नगरेको बताए । उनले कोल्ड स्टोर बजारलाई हस्तान्तरण गरिएपछि माघ महिना देखि सञ्चालनमा ल्याउने तयारी रहेको बताए । अहिले कोल्ड स्टोर सञ्चालनमा ल्याउन आवश्यक तरकारी फलफूल अपुग हुने उनको तर्क छ ।
‘कोल्ड स्टोर तत्काल सञ्चालनमा ल्याउन भण्डारणका लागि आवश्यक सामग्रीहरू पर्याप्त छैनन्,’ उनले भने ‘माघको महिना किसान सँग सुन्तला, आलु लगायतका तरकारी र फलफूल तयार हुन्छन् । त्यसै समयबाट कोल्ड स्टोर सञ्चालनको तयारी गरेका छौ ।’ हाल उक्त कोल्ड स्टोरको लागत अढाई करोड पुगिसकेको छ ।

















