खाेज्नुहाेस

सुदूरपश्चिमका नाकाहरूबाट एकै दिन तीन हजार बढी घर फर्किए

Image

अत्तरिया – सुदूरपश्चिमका नाकाहरूमा दसैँ तिहारका लागि घर फर्किनेहरूको भिड लागेको छ । प्रदेशमा विभिन्न नाकाहरूबाट घर फर्किनेहरूको अहिले भिड लाग्ने गरेको छ । आइतबार एकै दिन प्रदेशका ५ नाकाबाट ३ हजार १४९ जना नेपाल फर्किएका छन् । सीमामा स्थापना गरिएका हेल्थ डेस्कहरूबाट प्राप्त विवरण अनुसार पछिल्लो एक साता यता सीमामा भारतबाट भित्रिनेको सङ्ख्या बढ्दै गएको छ । प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार आइतबार गौरीफन्टा नाकाबाट सबैभन्दा बढी १ हजार ६३९ जना नेपाल भित्रिएका छन् । त्यस्तै गड्डाचौकी नाकाबाट १ हजार २ ३४, झुलाघाट नाकाबाट ४५, खकरुला हेल्प डेस्कबाट २ सय, पुल घाट नाका दार्चुलाबाट ३० जना नेपाल भित्रिएका छन् ।

आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार नेपाल भित्रिएकाहरू मध्ये आशङ्का लागेकाहरूको कोरोना पनि परीक्षण गरिँदै आएको छ । आइतबार भित्रिएका १३ जनाको कोरोना परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको जनाइएको छ । सामान्य समयमा दैनिक सबै नाकाबाट एक हजार भन्दा कम मात्रै फर्किने गरेकोमा दसैँ तिहार यो सङ्ख्या बढेको छ । नाकामा भिडभाड बढेपछि गरेका छन् ।

attariya hospital
navjiwan hospital

सुदूरपश्चिमबाट रोजगारीका लागि युवाहरू भारत जाने गर्दछन् । खेतीपाती भएकाहरू आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने गरेका छन् भने दसैँ तिहारको समयमै फसल प्राप्त हुने भएकाले घर आउने गर्छन् । सुदूरपश्चिम नौ वटै जिल्लाबाट रोजगारीका लागि मानिसहरू भारतको मुम्बई, दिल्ली, चेन्नई, पिथौरागड, पन्जाब, लगायतका सहरमा जाने गरेका छन् ।

भारतमा सहज रोजगारीका लागि जान सकिने भएकाले मानिसहरू यहाँ मौसमी काम गर्नको लागि पनि जाने गर्दछन् । नेपालबाट पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने युवाहरूको सङ्ख्या बढेसँगै भारत जानेहरूको सङ्ख्यामा कमी आएको भए पनि सुदूरपश्चिमबाट भने अझै ठुलो सङ्ख्यामा मानिसहरू भारत जाने गरेका छन् । तर, प्रदेशबाट कति मानिस भारतमा रोजगारीका लागि गएका छन् भन्ने यकिन तथ्याङ्क भने राखिएको छैन ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले चाडपर्वमा सीमामा पनि बढी सुरक्षा चुनौती हुने भएकाले विशेष सतर्कता अपनाइएको बताए । ‘साबिकका दिन भन्दा चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना तयार गर्छौ’ उनले भने ‘विशेष सुरक्षा योजना अनुसार नै सीमामा सुरक्षा गरिन्छ । जसअनुसार सीमामा सुरक्षा कडाइ गर्ने, सीमामा यात्रुहरूलाई हुन सक्ने लुटपाट देखि अन्य समस्याका विषयमा पनि हामीले प्रहरीलाई परिचालन गरेका हुन्छौ ।’

उनले सीमामा धेरै चेकिङ गरेर दुःख दिएको कुरामा सत्यता नभएको बताए । ‘भिडभाड बढी हुने भएकाले कुनै अन्य व्यक्तिहरू, निषेधित सामान आउन सक्ने जोखिम भएकाले चेकिङ गर्नुपर्ने हुन्छ’ उनले भने ‘त्यो दुःख दिने नियत होइन ।’ उनले भिडभाडमा अवैध सामान भित्र्याउने, भन्सार छलीका सामान भित्र्याउने जोखिम हुने भएकाले सतर्कता बढाइने गरेको बताए । चाडपर्वमा सीमामा सुरक्षा सतर्कता बढाएसँगै पछिल्लो समय दैनिक जसो ठुलो मात्रामा अवैध सामान बरामद हुन थालेको छ ।